१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
Invalid date format १८:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नियमित विद्युत् आपूर्ति गर्न माग गर्दै पचरौताका जनप्रतिनिधिकाे नेतृत्वमा उपभाेक्ता धर्नामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:१९:oo

गर्मीको समयमा अघोषित लोडसेडिङ भएको भन्दै बाराका पचरौता नगरपालिकाका नगरप्रमुख जलन्धरसिंह जैसवार र उपप्रमुख नसिमा खातुनसहित स्थानीयले धर्ना दिएका छन्।

अत्यधिक गर्मीको मौसममा घण्टौँ अघोषित लोडसेडिङ भएको भन्दै उनीहरूले नेपाल विद्युत् प्राधिकरण सिम्रौनगढ वितरण केन्द्रको कार्यालयको गेटमा धर्ना दिएका हुन्।

विद्युत् प्राधिकरणसँग पटक-पटक विद्युत् आपूर्ति सहज गर्ने सहमति भए पनि प्राधिकरणले कुनै चासो नदिएपछि धर्नामा उत्रिएको उनीहरूले बताएका छन्।

पचरौता नगरपालिकाका प्रमुख जैसवारले गर्मीका वेला हरेक वर्ष पचरौतामा विद्युत् आपूर्तिमा समस्या हुँदै आए पनि दीर्घकालीन निकासका लागि ठोस काम गर्न विद्युत् कार्यालयले कुनै उपाय नअपनाएको बताए। उनले भने, ‘यस्तो चर्को गर्मीमा पनि नियमित विद्युत् आपूर्ति नगरेर जनतालाई अत्यन्तै पीडा दिने कार्य भएको छ। खेती गर्ने किसानलाई समेत निकै समस्या छ। विद्युतका कारण नगरपालिकाको समेत कामकाजमा समस्या भएपछि बाध्य भएर आन्दोलनमा आउनुपरेको हो।’

विद्युत् आपूर्तिको समस्या समाधान गर्न विद्युत् कार्यालय गम्भीर नभएको उपभोक्ताको गुनासो छ। ‘सम्पर्क गर्दा फोन उठ्दैन, उठिहाल्यो भने पनि मर्मत सम्भार हुँदै छ भन्ने उत्तर आउँछ,’ स्थानीय मुकेशकुमार सिंहले भने, ‘पूर्वतयारीमा कहिले विद्युत् कार्यालय देखिँदैन, यस्तो गर्मीमा विद्युत् अनियमित हुनु अत्यन्तै दुःखद हो।’

झ्याप्प–झ्याप्प विद्युत् आउजाउ हुँदा पंखा, पानी तान्ने मोटर, टिभी, फ्रिज, कम्प्युटरलगायतका विद्युतीय उपकरण जल्ने गरेका छन्। यसबाट सर्वसाधारणले आर्थिक क्षति व्यहोर्नुपरेको छ।