१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 19 June, 2025
आइडल यमुना बहुउद्देश्यीय सहकारीका अध्यक्ष कुयाङ छुयाङ दोर्जी लामा
टेकराज थामी काठमाडाैं
Invalid date format o९:५४:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

तामाङ घेदुङको भव्य भवन बनाइदिने भनेर कुयाङले यसरी डुबाए दुई हजार बचतकर्ताको आठ अर्ब

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:५४:oo

आइडल यमुना सहकारी हिनामिना प्रकरण

नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले भन्छन्–तामाङ समुदायबाट मात्रै चार अर्ब संकलन गर्न सकिने र संस्था रातारात मालामाल हुने प्रलोभनपछि कुयाङको योजनामा सहकारी खोल्यौँ । तर, संकलित रकम हाम्रो सहकारीमा राखिएन । लगेर कुयाङकै सहकारीमा राखियो । गल्ती त्यही भयो । कुयाङले संकलित सबै रकम डुबाए ।

सहकारीमार्फत चार अर्ब रुपैयाँ संकलन गरेर चाँडै धनी बन्ने प्रलोभनपछि नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले कुयाङ छुयाङ दोर्जी लामालाई आइडल यमुना बहुउद्देश्यीय सहकारीबाट हर्षोल्लासका साथ घेदुङमा भित्र्याए । तर, उनै कुयाङका कारण गोले मात्रै होइन, संस्थाका अन्य पदाधिकारीसमेत भूमिगत हुनुपर्ने अवस्थामा पुगेका छन्।

कुयाङकै योजनामा घेदुङका अध्यक्ष गोलेसहितको टोलीले ‘घेदुङ सहकारी’ नामको संस्थागत सहकारी खोले । विभिन्न देशका तामाङ समुदायबाट रकम संकलन गरे । तर, संकलित रकम घेदुङमा नराखी कुयाङ नेतृत्वको आइडल यमुनामा राखियो । लगानी गर्ने सर्तमा कुयाङले संकलित रकम आइडल यमुनामा लगेका थिए । तर, उनले सबै संकलित रकमको दुरुपयोग गरेपछि घेदुङका अध्यक्ष गोलेसहित सहअध्यक्ष कुमारसिंह घिसिङ, उपाध्यक्ष महितकुमार तामाङ र कोषाध्यक्ष रूपबहादुर योञ्जन फस्न पुगेका छन्। 

‘तामाङ समुदायबाट मात्रै चार अर्ब संकलन गर्न सकिने र संस्था रातारात मालामाल हुने प्रलोभनपछि कुयाङको योजनामा सहकारी खोल्यौँ । तर, संकलित रकम हाम्रो सहकारीमा राखिएन । लगेर कुयाङकै सहकारीमा राखियो । गल्ती त्यही भयो । कुयाङले संकलित सबै रकम डुबाए । हामी घर न घाटको त भयौँ नै, अहिले आफ्नै समुदायमा भूमिगत हुनुपर्ने अवस्था आइलाग्यो,’ गोलेले भने ।

आइडल यमुनाले पछिल्लोपटक दुई हजार बचतकर्ताको आठ अर्ब रुपैयाँ अपचलन गरेको पाइएको छ । अपचलनमा संलग्नमध्ये सञ्चालक केबी उप्रेती पक्राउ परेका छन् । कुयाङ भने फरार छन् । घेदुङ सहकारीको डुबेको सोहीमध्येको रकम हो । घेदुङका अध्यक्ष गोलेका अनुसार कुयाङले घेदुङ सहकारीअन्तर्गत करिब चार सय बचतकर्ताको पाँच करोडभन्दा धेरै रकम डुबाए । त्यसबाहेक तामाङ घेदुङको ७५ लाख, आजीवन सदस्यबापत संकलन भएको १३ लाख, अक्षयकोषको सात लाख, भाषा विकासअन्तर्गत दुई लाख ५० हजार, तामाङ घेदुङ इजरायलको ३१ लाख र तामाङ घेदुङ साइप्रसको १५ लाख घेदुङ सहकारी हुँदै आइडल यमुनामा राखिएको थियो । सबै रकम डुब्न पुग्यो ।  

‘आइडल यमुना र घेदुङ सहकारीबीचको ‘ट्रान्ज्याक्सन’ हेर्दा १४ करोड ८७ लाख १८ हजार तीन सय ३९ रुपैयाँ भएको देखिन्छ । जसमध्ये बचतकर्ता मात्रै करिब चार सय थिए । उनीहरूबाट पाँच करोडभन्दा धेरै रकम संकलन भएको थियो । त्यसबाहेकका रकम पनि घेदुङ सहकारी हुँदै आइडल यमुनामा राखिएको थियो । सबै गरी सात करोडभन्दा धेरै रकम कुयाङले डुबाइदियो,’ अध्यक्ष गोलेले भने ।

तामाङ घेदुङ विसं २०१३ देखि सञ्चालनमा छ । तर, निजी भवन नहुँदा नेतृत्वले सधैँ दबाब झेल्दै आएको थियो । यही क्रममा एक लाख रुपैयाँ सहयोग घोषणासहित कुयाङ घेदुङमा भित्रिए । लाखबाट सुरु भएको खेलो अर्बमा पुगिसकेको थियो । त्यसो हुँदा उनलाई ठूलो रकमको आवश्यकता थियो । जसका लागि उनले तामाङ समुदायलाई प्रभावित पार्ने र सहकारीको आवरणमा रकम संकलन गर्ने योजना बनाए । घेदुङमा उनको प्रवेश सोही योजना कार्यान्वयनका लागि थियो । उनले घेदुङको नेतृत्वसँग सहकारी खोल्ने प्रस्ताव गरे । चार अर्ब रुपैयाँ संकलन हुने र संस्थाको भव्य भवन पनि बन्ने प्रलोभनपछि घेदुङको नेतृत्व कुयाङको जालमा सहजै फस्यो । कुयाङले घेदुङकै मातहतमा रहने गरी ‘घेदुङ सहकारी’ दर्ता गरे । सहकारीको पदाधिकारीमा तामाङ घेदुङका अध्यक्ष गोले, सहअध्यक्ष घिसिङ, उपाध्यक्ष तामाङ, कोषाध्यक्ष योञ्जनसहितलाई राखे । आफू सहकारीको व्यवस्थापकमा बसे । जबकि उनी त्यसवेला आइडल यमुनाका अध्यक्ष थिए । कानुनअनुसार एकै व्यक्ति दुई सहकारीको अध्यक्ष र व्यवस्थापक बन्न पाइँदैन । 

सहकारी सञ्चालनका लागि कुयाङले आफूमातहतका कर्मचारी भटाभट नियुक्त गरे । घेदुङ सहकारीको नाममा रकम संकलन हुन थाल्यो । तर, कुयाङले संकलित रकम घेदुङमा नराखी आफू नेतृत्वको आइडल यमुनामा राख्न थाले । गतिविधि शंकास्पद देखिन थालेपछि सहकारीका पदाधिकारीले प्रश्न गर्न थाले । जवाफमा उनले सहकारी डुबाइदिने धम्की दिन थाले । र, प्रलोभन बाँड्ने क्रमलाई अझ तीव्रता दिए । सहकारीमा कर्मचारी कुयाङकै थिए । संकलित सबै रकम उनकै कब्जामा थियो । त्यसकारण पदाधिकारीहरू कुयाङविरुद्ध खरो तवरले उत्रन सकेनन् । 

नेपाल तामाङ घेदुङका कोषाध्यक्ष योञ्जनले भने, ‘कुयाङले संस्थालाई सुरुमा एक लाख दिन्छु भन्यो । पछि त १० लाख नै दिने भनेर चेक काट्यो । जसमध्ये संस्थाले उनीबाट हालसम्म एक रुपैयाँ पनि प्राप्त गर्न सकेन । बदलामा उनले सहकारी डुबाइदिए । सहकारीको पदाधिकारी हामी छौँ । बचतकर्ता र कानुनले चिन्ने हामीलाई हो । कुयाङविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । हामीविरुद्ध पनि पक्राउ पुर्जी आउने क्रममा रहेको सूचना छ । भत्ताबापतको केही रकमबाहेक सहकारीको हामीले एक रुपैयाँ चलाउन पाएनौँ । तर, कुयाङका कारण हामीमाथि नखाएको विष लाग्ने अवस्था आयो ।’