
२६ जुलाईदेखि फ्रान्सको पेरिसमा ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता सुरु हुँदै छ । नेपालबाट ६ खेलमा सात खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । नेपालको यो १५औँ ओलम्पिक यात्रा हो । यसपटक टेबलटेनिसका स्यान्टु श्रेष्ठ छनोट चरण पार गरी ओलम्पिक खेल्ने तेस्रो नेपाली खेलाडी बनेका छन् । यसअघि तेक्वान्दोका संगिना वैद्य र दीपक विष्टले मात्र ओलम्पिकको छनोट चरण पार गरेका थिए । नेपालको ओलम्पिक इतिहासमा एथलेटिक्सका वैकुण्ठ मानन्धर लगातार चार ओलम्पिकमा प्रतिस्पर्धा गर्ने एक मात्र नेपाली खेलाडी हुन् । सन् १९६४ देखि ओलम्पिकमा सहभागी नेपालले पदक जितेको छैन । सन् १९५२ को हेलन्सिकी ओलम्पिकमा नेपाल केवल पर्यवेक्षक राष्ट्र मात्र थियो । सन् १९६४–२०२० सम्मको ओलम्पिक यात्रामा ७९ जना खेलाडीले प्रतिस्पर्धा गरेका छन् । नेपालको ओलम्पिक यात्रा यसरी हेर्न सकिन्छ ।
सन् १९६४ टोकियो
आधिकारिक रूपमा टोकियो ओलम्पिक नेपालको पहिलो सहभागिता थियो । नेपालबाट दुई खेलमा ६ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । म्याराथनमा गंगाबहादुर थापा र भूपेन्द्रबहादुरले इभेन्ट्स पूरा गर्न सकेनन् । बक्सिङमा नसिंह थापा, भीमबहादुर थापा, रामप्रसाद गुरुङ तथा ओमप्रसाद पुनले भाग लिएका थिए । नसिंह प्रिक्वार्टरफाइनल, भीमबहादुर फेथरवेथको अन्तिम ३२, रामप्रसाद र ओमप्रसाद दुवै खेलाडी लाइटवेटको अन्तिम ३२ बाट बाहिरिए ।
सन् १९७२ म्युनिख
सन् १९६८ मा सहभागी नभएको नेपालले म्युनिख ओलम्पिकमा भाग लियो । नेपालबाट दुईजना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पुरुष म्याराथनमा जितबहादुर केसीले दुई घण्टा ५७ मिनेट ५८.८ सेकेन्डमा दौड पूरा गर्दै ६०औँ स्थान हात पारे । भक्तबहादुरले दौड नै पूरा गर्न सकेनन् । म्युनिख ओलम्पिकमै एथलेटिक्स भिलेजमै आतंककारीले इजरायलका ११ खेलाडीलाई गोली हानी हत्या गरेका थिए । संयोगले नेपाली खेलाडी बसेकै कोठानजिकै यो घटना भएको थियो ।
सन् १९७६ मोन्टेरियल
मोन्टेरियलमा नेपालबाट एकजना मात्र खेलाडी सहभागी भएका थिए । २३ वर्षीय युवा वैकुण्ठ मानन्धरले आफ्नो पहिलो ओलम्पिक यात्रामा ५०औँ स्थान हात पारे । उनले पुरुषतर्फको म्याराथनमा दुई घण्टा ३० मिनेट सात सेकेन्डमा दौड पूरा गरेका थिए ।
सन् १९८० मस्को
मस्कोमा नेपालबाट नौ खेलाडीले अवसर पाए । बक्सिङमा रविराज थापाले ५१ केजी, पुष्करध्वज शाहीले ६४ केजी, नरेन्द्र पुमाले ५७ केजी र विष्णु मलाकारले ६३ केजीमा प्रतिस्पर्धा गरेका थिए । पुष्करध्वज र रविराजले पहिलो चरणमा बाई पाए । उनीहरू दोस्रो चरणबाट बाहिरिएका थिए । म्याराथनमा वैकुण्ठ मानन्धरले ३७औँ स्थानमा रक्षा गर्दा दूरी दुई घण्टा २३ सेकेन्ड ५१ मिनेटमा पूरा गरे । मुकुन्दधारी श्रेष्ठले दुई घण्टा ३८ मिनेट ५२ सेकेन्ड लगाएर ४५औँ स्थान रक्षा गरे ।
सन् १९८४ लसएन्जलस
लसएन्जलसमा नेपालले एथलेटिक्समा मात्र प्रतिस्पर्धा गरेको थियो । वैकुण्ठ मानन्धरले लगातार तेस्रोपटक ओलम्पिकमा भाग लिँदै उनले दुई घण्टा २२ मिनेट ५२ सेकेन्डमा दौड पूरा गरे । उनी यसपटक ४६औँ स्थानमा रहे । यसैगरी, अर्जुन पण्डित ६३औँ तथा अमिरप्रसाद यादव ६९औँ स्थानमा रहे । आठ सय मिटरमा जोधा गुरुङ र चार सय मिटरमा पुष्पराज ओझा पहिलो चरणबाटै बाहिरिए ।
सन् १९८८ सोल
सोल ओलम्पिकमा नेपालले एथलेटिक्स, बक्सिङ, जुडो, सुटिङ तथा भारोत्तोलनमा भाग लियो । एथलेटिक्समा वैकुण्ठ मानन्धरले कीर्तिमानी रूपमा लगातार चौथोपटक ओलम्पिकमा भाग लिए । उनी दुई घण्टा २५ मिनेट ५७ सेकेन्डका साथ ५४औँ स्थानमा रहे । एथलेटिक्समा कृष्ण बस्न्यात, डम्बर कुँवर, हरिबहादुर रोकायाले प्रतिस्पर्धा गरेका थिए । तेक्वान्दो खेललाई प्रदर्शनीका रूपमा राखिएको थियो । नेपालका तेक्वान्दो खेलाडी विधान लामाले आफ्नो खेल कौशल देखाउँदै कांस्यपदक जितेका थिए । उनको यो पदक आधिकारिक थिएन । सोल ओलम्पिकमा २१ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
सन् १९९२ बार्सिलोना
स्पेनको बार्सिलोनामा नेपालबाट एथलेटिक्समा हरि रोकायाले मात्र प्रतिस्पर्धा गरे । उनी आफ्नो इभेन्ट्समा ७०औँ स्थानमा रहे । उनले दौड दुई घण्टा ३२ मिनेट २६ सेकेन्डमा पूरा गरेका थिए ।
सन् १९९६ एटलान्टा
अमेरिकाको एटलान्टामा भएको ओलम्पिकमा नेपालबाट एथलेटिक्सका दुई खेलाडीले मात्र प्रतिस्पर्धा गर्ने अवसर पाए । पुरुषतर्फ टीका बोगटी र महिलातर्फ विमला रानामगरले भाग लिएका थिए । आ–आफ्नो विधामा टीका ७४औँ र विमला ६२औँ स्थानमा रहे ।
सन् २००० सिड्नी
सिड्नी ओलम्पिकमा एथलेटिक्स, सुटिङ र स्विमिङमा नेपालले भाग लियो । पुरुष पाँच हजार मिटर दौडमा ज्ञानबहादुर बोहराले १४ मिनेट ३४.१५ सेकेन्ड समय लगाएका थिए । उनी सहभागीमध्ये ३४औँ स्थान हात पारे । म्याराथन महिलातर्फ देवीमाया पनेरू पहिलो चरणबाटै बाहिरिएकी थिइन् । उनले आफ्नो दौड १२.७४ सेकेन्डमा पूरा गरेकी थिइन् । सुटिङमा भगवती खत्री पहिलो चरणबाटै बाहिरिएकी थिइन् । स्विमिङको ५० मिटर फिस्टाइलमा चित्रबहादुर गुरुङ हिट चरणमै सीमित भए । उनले हिट चरणमा २७.०२ सेकेन्ड लगाएका थिए । यसै विधाको महिलामा रुना प्रधान पनि हिट चरणबाट बाहिरिएकी थिइन् । उनले आफ्नो इभेन्ट्स ३१.२८ सेकेन्डमा पूरा गरेकी थिइन् ।
सन् २००४ एथेन्स
एथेन्स ओलम्पिक नेपालको नजरमा विशेष रह्यो । ओलम्पिक इतिहासमा पहिलोपटक नेपाली खेलाडीले छनोट चरण पार गरी प्रतिस्पर्धा गरेको नै एथेन्स थियो । यसअघिका संस्करणमा खेलाडीले वाइल्ड कार्डबाट प्रतिस्पर्धा गरेका थिए । एथेन्समा नेपालले चार खेलमा भाग लियो । तेक्वान्दोमा संगिनाले छनोट चरण पार गरी स्थान सुरक्षित गर्दै इतिहास रचेकी हुन् । उनी ४९ केजी तौल समूहमा चाइनिज ताइपेईकी चेनसँग पराजित भइन् । स्विमिङमा पुरुषतर्फ एलेक्स श्रेष्ठ ५९ तथा महिलामा नयना शाक्य ४७औँ स्थानमा रहे ।
यसैगरी, एथलेटिक्सको पाँच हजार मिटरमा राजेन्द्रबहादुर भण्डारीले राष्ट्रिय कीर्तिमान राख्न सफल भए । १९औँ स्थानमा रहँदा उनले १४ मिनेट ०४.८९ सेकेन्डमा दौड पूरा गरे । कान्छीमाया कोजूले १५ सय मिटर दौड चार मिनेट ३८.१७ सेकेन्डमा पूरा गरिन् । उनी १५औँ स्थानमा रहिन् । सुटिङको १० मिटर एयर राइफलमा टीका श्रेष्ठ पाँच सय ७९ अंकका साथ ४६औँ स्थानमा रहे । स्विमिङको सय मिटर वेस्ट्रोकमा एलिस श्रेष्ठ ५९औँ स्थानमा रहे । सोही विधाको महिलामा नयन शाक्यले ४७औँ स्थान हात पारिन् ।
सन् २००८ बेइजिङ
बेइजिङ ओलम्पिकमा नेपालले एथलेटिक्स, जुडो, सुटिङ, स्विमिङ, तेक्वान्दो र भारोत्तोलनमा भाग लियो । दीपक विष्टले बेइजिङ ओलम्पिकमै छनोट चरण पार गरी स्थान बनाए । उनी छनोट चरण पार गरी ओलम्पिक खेल्ने दोस्रो नेपाली खेलाडी बने । दीपक ८० केजी तौल समूहमा इरानी खेलाडीसँग ६–२ ले पराजित भएका थिए । बेइजिङ ओलम्पिकमा ६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । म्याराथनमा अर्जुनकुमार बस्नेत दुई घण्टा २३ मिनेट ९ सेकेन्डका साथ ४५औँ भए । महिलाको सय मिटरमा चन्द्रकला थापा नौ स्थानमा रहिन् । यसैगरी, जुडोमा देवु थापाले ६३ केजीमा प्रतिस्पर्धा गरेकी थिइन् । सुटिङमा फूलमाया कक्षपति, स्विमिङमा प्रसिद्धजंग शाह र करिश्मा कार्की पहिलो चरणबाटै बाहिरिएका थिए ।
सन् २०१२ लन्डन
लन्डन ओलम्पिकमा नेपालले तीन खेलमा भाग लिँदा पाँच खेलाडीले प्रतिस्धर्पा गरे । नेपाली खेलाडी सहभागी भएका सबै इभेन्ट्सको पहिलो चरणबाटै बाहिरिए । एथलेटिक्सको सय मिटरमा तिलकराम थारू, प्रमिला रिजाल, सुटिङमा स्नेह राना, स्विमिङमा प्रसिद्धजंग शाह र श्रेया धितालले आ–आफ्नो विधाको पहिलो चरणमै सीमित भए ।
सन् २०१६ रियो
ब्राजिलले पहिलोपटक आयोजना गरेको रियो ओलम्पिकमा नेपालले आर्चरी, एथलेटिक्स, जुडो, स्विमिङ र तेक्वान्दोमा सात खेलाडीले भाग लिएका थिए । स्विमिङमा गौरिका सिंह यस रियो ओलम्पिकमा सहभागीमध्ये सबैभन्दा कान्छी खेलाडीका रूपमा रेकर्ड राखिन् । आर्चरीमा जितबहादुर मोक्तान, एथलेटिक्समा हरि रिमाल, सरस्वती भट्टराई, जुडोमा फुपुल्हामु खत्री, स्विमिङमा शिरीष गुरुङ, गौरिका र तेक्वान्दोमा निशा रावत पहिलो चरणभन्दा माथि जान सकेनन् । सात खेलाडीले यस रियोमा भाग लिएका थिए ।
सन् २०२१ टोकियो
टोकियो ओलम्पिकमा नेपालबाट चार खेलमा पाँच खेलाडीले प्रतिस्पर्धा गरेका थिए । एथलेटिक्समा सरस्वती चौधरी, पौडीमा गौरिका सिंह, एलेक्स शाह, सुटिङमा कल्पना परियार र जुडोमा सोनिया भट्टले आफू सहभागी सबै इभेन्टको पहिलो चरणबाटै बाहिरिएका थिए ।