
माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले देश नेताहरूले नभई बिचौलियाहरूले चलाउने खतरा बढेको बताएका छन्।
प्रधानमन्त्री केपी ओलीले मागेको विश्वासको मतसम्बन्धी प्रस्तावप्रति आइतबार प्रतिनिधिसभामा आफ्नो दलको धारणा राख्दै पुनले नेता र राजनीतिक दलले देश चलाउनुपर्ने बताए।
धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा बिचौलियाले चलखेल गरेको र त्यसमा ओलीले बिचौलियालाई साथ दिएको संकेत उनको थियो।
आफूभन्दा अघि अर्थमन्त्री भएका कांग्रस नेता डा. प्रकाशशरण महत र आफूले बिचौलियाको चलखेलले धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न नसकेको भन्दै उनले नयाँ अर्थमन्त्री विष्णु पौडेलले के गर्छन् भन्ने हेर्ने बताए।
‘धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्नलाई मभन्दा अगाडिको अर्थमन्त्रीले कोसिस गर्नुभयो। मैले पनि सकिनँ । अब अहिलेको अर्थमन्त्रीलाई त्यो जिम्मेवारी आएको छ। म यहाँ नढाँटीकन आमजनताका अगाडि भन्न चाहन्छु कि यो देश राजनीतिक दलले र नेताहरूले चलाउने हो कि बिचौलियाहरूले ?’ उनले भने, ‘यो जवाफ छिट्टै प्रधानमन्त्रीज्यूले दिनुहुनेछ । मेरो अपेक्षा नेताहरूले त्याग गर्नुभएको छ। बलिदान गर्नुभएको छ। जेल पर्नुभएको छ। सबै युद्धबाट आउनुभएको छ। नेताहरूले देश चलाइदिनुस्। पार्टीहरूले देश चलाइदिनुस्। बिचौलियाहरूले होइन।’
पुनले आफ्ना अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले सुशासन र भ्रष्टाचारका मुद्दामा छानबिन र कारबाही अगाडि बढाएपछि कांग्रेस–एमाले मिलेको टिप्पणी गरे। उनले ‘गिरिबन्धु टी इस्टेट’ र भुटानी शरणार्थी प्रकरणका विषयमा कारबाहीअगाडि बढाएपछि सरकार ढलेको बताए। प्रतिपक्षमा रहँदा कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले गिरिबन्धुको विषय उठाएको र परिवर्तित सन्दर्भमा पनि एजेन्डा छाड्दैनौँ भनेको चर्चा गर्दै अब के हुन्छ भन्नेमा कांग्रेसतर्फ पनि प्रश्न उठाइने जनाए।
‘कमरेड प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारको विभिन्न फाइलहरू खोल्ने, छानबिन गर्ने गर्दा, त्यसैगरी नक्कली भुटानी शरणार्थीलगायत गिरिबन्धु टी इस्टेटसम्मका कुराहरू उठ्दै गर्दा नेपाली कांग्रेसका महामन्त्रीज्यूहरूले हाम्रा एजेन्डाहरू छाड्दैनौँ भन्नुभएको छ। त्यसमा निश्चिय पनि नेपाली कांग्रेसलाई पनि प्रश्न हुन्छ,’ उनले भने, ‘हिजो यही हाउसमा अपोजिसनमा हुँदा गिरिबन्धु टी इस्टेट गिरीबन्धु टी इस्टेट भन्नुभएको थियो। यसमा के हुन्छ? हामीले र नेपाली जनताले सही जवाफको अपेक्षा गरेका छन्।’