
आइतबार पनि नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से ६१.६१ अंकले बढेर दुई हजार चार सय ८५.९४ विन्दुमा कायम भएको छ । नयाँ सरकार गठनपछि असार मसान्तमा १७ अंकको करेक्सनबाहेक नेप्से लगातार दोहोरो अंकले बढिरहेको छ।
आइतबार सेन्सेटिभ इन्डेक्स ३.१० र फ्लोट इन्डेक्स २.६० प्रतिशतले वृद्धि भएको छ। ३१५ कम्पनीका चार करोड ११ लाख ९५ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार रुपैयाँबराबरको कारोबार भएको छ। यसअघि बिहीबार पनि १५ अर्बभन्दा धेरैको सेयर कारोबार भएको थियो।
आज १८१ कम्पनीको सेयर मूल्य बढ्दा ५६ कम्पनीको मात्रै मूल्य घटेको छ। युनाइटेड मोदी हाइड्रोपावर, समता घरेलु लघुवित्त, हिमालयन बैंक र गणपति लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा सिकलेस हाइड्रोपावरको मूल्यमा नकारात्मक सर्किट लागेको छ।
मन्दाकिनी हाइड्रोपावर, एनएमबी– ५० फन्ड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कुमारी बैंक र सुपर मादी हाइड्रोपावर कम्पनीका लगानीकर्ताको लगानी नौ प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ।
समूहगत आधारमा आज नेप्सेका १३ वटै समूहको सूचक बढेको छ। व्यापार समूह सबैभन्दा धेरै ६.८० प्रतिशतले वृद्धि हुँदा होटेल तथा पर्यटन ४.२१ एवं बैंक र अन्य समूह तीन प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ।