
प्रधानमन्त्री केपी ओलीले माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले काम गर्न नसकेपछि नयाँ सरकार गठन गर्नुपरेको बताएका छन्।
नेपाली कांग्रेस र नेकपा एमालेजस्ता ठूला दलले काँध थाप्दा पनि अघिल्लो सरकारले काम गर्ने रुचि नराखेपछि नयाँ सरकार गठन गर्न बाध्य भएको ओलीको भनाइ छ।
आइतबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘नेपाली कांग्रेस र नेकपा एमालेजस्ता बलिया पार्टीले पटकपटक काँध थाप्दा पनि अघिल्लो सरकारले लय समातेन । सरकारले थिति बसाल्न सकेन । थिति बसाल्ने रुचि पनि राखेन । जसको कारण समाजमा अनेकौँ दूषित परिणाम निस्कने खतरा बढ्यो । त्यसलाई हामीले टुलुटुलु हेरेर बस्न सकेनौँ । यही कुरालाई आत्मसात् गरी पुरानो सरकारको ठाउँमा यो नयाँ सरकार बनाएका हौँ।’
कांग्रेस र एमालेबीच विचारमा प्रतिस्पर्धा भए पनि खास समयमा सहकार्य गरेर देशलाई परिणाम दिएको दाबी गर्दै उनले ०७ साल, ०४६ साल र ०६३ सालको सहकार्य स्मरण गरे।