
आव ०८०/८१ मा कुल चार सय ६८ मेगावाट जडित क्षमताका २३ ऊर्जा परियोजना सञ्चालनमा आएका छन् । नेपाल विद्युत् प्राधिकरणका अनुसार दुई सोलार र २१ जलविद्युत् परियोजनाबाट उक्त परिमाणको विद्युत् थपिएको हो ।
योसँगै नेपालको राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत्को जडित क्षमता तीन हजार दुई सय २७ मेगावाट पुगेको छ । ०८० असार मसान्तसम्म विद्युत्को जडित क्षमता दुई हजार सात सय ५९ मेगावाट थियो । अहिले त्यो चार सय ६८.२५ मेगावाटले बढेर नयाँ विन्दुमा पुगेको हो । गत आव भने चार सय ९१ मेगावाट क्षमताका २७ ऊर्जा परियोजना सञ्चालनमा आएका थिए ।
अन्य वस्तुको उत्पादनमा जसरी विद्युत् परियोजना सञ्चालनमा वार्षिक रूपमा लक्ष्य निर्धारण गर्न सकिँदैन । निर्माणमा रहेका परियोजनाको संख्या र क्षमता, उनीहरूको भौतिक प्रगतिलगायतका आधारमा वर्षमा कति आयोजना सञ्चालनमा ल्याउन सकिन्छ भनेर अनुमान गरिन्छ । त्यसमा पनि पटक–पटक आउने बाढीले जलविद्युुत् परियोजनाको निर्माण कार्य प्रभावित बनाइरहेको हुन्छ ।
सोहीअनुसार सरकारले बजेटमार्फत आव ०८०/८१ मा एक सय ११ मेगावाटको रसुवागढी, एक सय दुई मेगावाटको मध्यभोटेकोशी, ४२.५ मेगावाटको सान्जेनजस्ता सरकारी र निजी क्षेत्रको परियोजना गरेर नौ सय मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिने अनुमान गरेको थियो । तर, समीक्षा वर्षमा प्रसारणलाइनलगायत विषयमा समस्या आउँदा रसुवागढी र सान्जेनलगायतका परियोजना सञ्चालनमा आउन सकेनन् । साथै, एक सय दुई मेगावाटको मध्यभोटेकोशी परियोजना पनि सुरुङबाट पानी चुहिएपछि सञ्चालनमा आउन सकेन । उक्त परियोजना नयाँ आर्थिक वर्षको सुरुवाती चरणमै सञ्चालनमा आउने प्राधिकरणको भनाइ छ । प्राधिकरणका प्रवक्ता चन्दन घोषले प्रसारण लाइन नबन्ने र निर्माणमा आएका विभिन्न प्राविधिक कारणले अनुमान गरिएका केही ठूला परियोजना सञ्चालनमा नआएको बताए । ‘केही प्राविधिक कारणले ठूला परियोजना सञ्चालनमा आउन सकेनन् । तर, उनीहरूको भौतिक प्रगति ९० प्रतिशतभन्दा बढी नै छ । उनीहरू अब छिट्टै सञ्चालनमा आउनेछन्,’ उनले भने ।
आव ०८०/८१ मा पहिलोपल्ट १३ साउनमा करिब ०.९७ मेगावाटको घट्टे खोला सानो जलविद्युत् परियोजना सञ्चालनमा आएको थियो । अन्तिमपटक भने असार पहिलो साता १२ मेगावाटको दुधकुण्ड जलविद्युत् परियोजना सञ्चालनमा आएको छ । समीक्षा वर्षमा १०–१० मेगावाटका कोहलपुर र झापा सोलार प्लान्ट सञ्चालनमा आएका छन् । तीबाहेक अन्य २१ परियोजना भने नदी प्रवाहमा आधारित जलविद्युत् परियोजना हुन् । सञ्चालनमा आएकामध्ये सबैभन्दा ठूलो परियोजना लिखु–१ जलविद्युत् परियोजना हो । ७७ मेगावाटको उक्त परियोजना गत चैत १९ गते सञ्चालनमा आएको थियो । यसैगरी, ७३ मेगावाटको मध्यतमोर, ७१ मेगावाटको नीलगिरि–२ र ५२.४६ मेगावाटको लिखु–२ जस्ता ठूला जलविद्युत् परियोजना पनि समीक्षा वर्षमा सञ्चालनमा आएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
समीक्षा वर्षमा ४० मेगावाटको अपर चमेलिया, १४.८ मेगावाट अप्पर सान्जेन, १४.३ मेगावाटको माथिल्लो मेलुङ खोला, १४ मेगावाटको घार खोला, १२ मेगावाटको दुधकुण्ड ए, १०.७ मेगावाटको अप्पर सानीगढ, १०.३ मेगावाटको तल्लो पिलुवा, ९.७ मेगावाटको अप्पर इन्ग्वा खोला, ९.०५ मेगावाटको सुप्पर चेपे, ७.५ मेगावाट माथिल्लो मिदिम, ७.२७ मेगावाटको याम्लिङ, सात मेगावाटको अप्पर सिउरी, ५.८ मेगावाटको अप्पर पावार, ४.७ मेगावाटको अप्पर चिख्र्वा जलविद्युत् परियोजना पनि सञ्चालनमा आएका छन् । यसैगरी, ३.५ मेगावाटको सेती खोला, ३.२ मेगावाटको गेलुङ र ०.९७ मेगावाटको घट्टे खोला सानो जलविद्युत् परियोजना पनि सञ्चालनमा आएको छ ।
जडित क्षमता चार हजार पाँच सय मेगावाट पुर्याउने लक्ष्य
चालू आवमा विद्युत् जडित क्षमता चार हजार पाँच सय मेगावाट पुर्याउने लक्ष्य बजेटमार्फत ल्याइएको छ । त्यो लक्ष्य पूरा गर्न सकिने प्राधिकरणका प्रवक्ता चन्दन घोषले बताए । नयाँ आर्थिक वर्षमा कम्तीमा पनि एक हजार मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिने उनले बताए । ‘यो वर्ष अनुमान गरिएका केही ठूला परियोजना सञ्चालनमा आएनन् । उनीहरूको भौतिक प्रगति ९० प्रतिशतभन्दा बढी छ । यी परियोजना छिट्टै सञ्चालनमा आउनेछन्,’ उनले भने, ‘यस्तै, अन्य परियोजना पनि निर्माणको अन्तिम चरणमा छन् । त्यो अवस्थामा कम्तीमा एक हजार मेगावाट र बढीमा १५ सय मेगावाट विद्युत् प्रणालीमा थपिनेछ ।’ सरकारले बजेटमार्फत नयाँ आवमा कम्तीमा एक हजार मेगावाट विद्युत् थपिने बताएको थियो ।
०८०/८१ मा सञ्चालनमा आएका परियोजना