मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण ४ शुक्रबार
  • Sunday, 23 March, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ श्रावण ४ शुक्रबार १o:२२:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

वैदेशिक लगानी प्रतिबद्धता ८२ प्रतिशतले वृद्धि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ श्रावण ४ शुक्रबार १o:२२:oo

आव ०७९/८० मा ३८ अर्बको प्रतिबद्धता आएकोमा ०८०/८१ मा बढेर ७० अर्ब रुपैयाँ पुग्यो

नेपालमा लगानी भित्र्याउन विदेशी लगानीकर्ताको आत्मविश्वास बढ्न थालेको छ । गत आर्थिक वर्ष ०८०/८१ मा विदेशी लगानीकर्ताले प्रस्ताव गरेका पाँच सय ४६ उद्योग एवं परियोजनाको ७० अर्ब दुई करोड प्रत्यक्ष वैदेशक लगानी (एफडिआई) प्रतिबद्धता स्वीकृत भएको उद्योग विभागले जनाएको छ । यो अघिल्लो आवको तुलनामा ८२.३० प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्ष ०७९/८० मा तीन सय २७ परियोजनामार्फत विदेशी लगानीकर्ताले प्रस्ताव गरेको ३८ अर्ब ४० करोड रुपैयाँ एफडिआई स्वीकृत भएको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष एफडिआई प्रतिबद्धता ३१ अर्ब ६१ करोड बढी हो ।

आठ अर्ब एफडिआई अटोमेटिक रुटमार्फत 
गत आर्थिक वर्ष विदेशी लगानीकर्ताबाट प्रस्तावित कुल ७० अर्ब दुई करोड एफडिआईमध्ये आठ अर्ब ११ करोड ६२ लाख अटोमेटिक रुट (स्वचालित मार्ग)बाट स्वीकृत भएको छ । १५ र १६ वैशाखमा आयोजित लगानी सम्मेलनबाट उद्योग विभागले अटोमेटिक रुटबाट एफडिआई स्वीकृत गर्न सुरु गरेको थियो ।

हालसम्म एक सय ३९ उद्योग एवं परियोजनाको एफडिआई अटोमेटिक रुटबाट स्वीकृत भएको विभागले जनाएको छ । एक वर्षमा चार सय सात उद्योगको ६१ अर्ब ९० करोड रुपैयाँ एफडिआई भने नियमित प्रक्रियाबाटै स्वीकृत भएको छ ।

गत आर्थिक वर्षमा नियमित प्रक्रियाबाटै चार सय सात उद्योगमा एफडिआईको प्रतिबद्धता आएको थियो । त्यसमा एक सय ९७ उद्योग पर्यटन क्षेत्रका, एक सय ३३ उद्योग सेवा क्षेत्रका, ४६ उद्योग उत्पादनमूलक क्षेत्रका, ६ वटा पूर्वाधार क्षेत्रका, तीनवटा खानी क्षेत्रका, आठवटा कृषि तथा वन क्षेत्रका, तीनवटा इनर्जी क्षेत्रका रहेको विभागले जनाएको छ ।

यस्तै, स्वचालित मार्ग (अटोमेटिक रुटबाट) एफडिआई प्रतिबद्धता आएका एक सय ३९ उद्योगमध्ये ६९ वटा पर्यटन क्षेत्रका, ३५ वटा सेवामूलक क्षेत्रका, २८ वटा सूचना प्रविधि क्षेत्रका, पाँचवटा उत्पादनमूलक क्षेत्रका, कृषि र पूर्वाधारका एक–एकवटा रहेका छन् ।

बिजनेस भिसा सिफारिस वृद्धि
गत आर्थिक वर्षमा बिजनेस भिसा (लगानीकर्ता, प्रतिनिधि र डिपेन्डेन्टका लागि) सिफारिस पनि बढेको छ । एक वर्षमा लगानीकर्ता, प्रतिनिधि र डिपेन्डेन्ट गरी तीन हजार ६ सय ४५ जनालाई बिजनेस भिसा सिफारिस गरिएको उद्योग विभागले जनाएको छ । जसमध्ये २२ सय २९ विदेशी लगानीकर्ता, चार सय नौ प्रतिनिधि र एक हजार सात डिपेन्डेन्ट रहेका छन् । अघिल्लो आव ०७९/८० मा दुई हजार आठ सय ६४ विदेशीलाई बिजनेस भिसा सिफारिस गरिएको थियो । जसमा १८ सय नौ लगानीकर्ता, दुई सय ८५ प्रतिनिधि र सात सय ७० डिपेन्डेन्ट रहेका थिए ।