मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ३१ सोमबार
  • Saturday, 22 March, 2025
तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ असार ३१ सोमबार १८:११:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

‘नेपाल फर्स्ट’ नीति अघि बढाउँछु : नवनियुक्त परराष्ट्रमन्त्री देउवा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार ३१ सोमबार १८:११:oo

नवनियुक्त परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले परराष्ट्र सम्बन्धलाई सुदृढ गर्दै लैजाने बताएकी छिन्। सोमबार परराष्ट्र मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री देउवाले पञ्चशीलमा आधारित परराष्ट्र नीतिलाई ‘नेपाल पहिलो’ नीतिका रुपमा अगाडि बढाउने प्रतिबद्धता जनाइन्। 

‘म पार्टीबाट आए पनि हाम्रो परराष्ट्र नीति एउटै छ। नेपाल फर्स्ट नीति हो। यसलाई मध्यनजर गरेर काम अघि बढाउँछु,’ उनले भनिन्।

आफूले इतिहासकै ठूलो जिम्मेवारी प्राप्त गरेको भन्दै मन्त्री देउवाले पूर्वजहरुले देशलाई अहिलेसम्म बचाएर ल्याएको र पराधीन हुन नपरेको इतिहासलाई अब आउने पिढीका लागि कायम राख्नुपर्ने बताइन्। त्यसको नेतृत्व आफूले गर्ने र पञ्चशीलका आधारमा परराष्ट्र नीति अगाडि बढाउने देउवाले दोहोर्याइन्।

विश्वमा भइरहेको भूराजनीतिक परिवर्तनका सन्दर्भमा स्वतन्त्र राष्ट्रका रूपमा निरन्तर काम गर्ने उनको भनाइ थियो। ‘हाम्रो देशको समृद्धिमा परराष्ट्रको भूमिका छ। विविध अन्तर्राष्ट्रिय सम्बन्ध छ। संयुक्त राष्ट्रसंघ र दौत्य सम्बन्ध भएका देशहरूको सहकार्यलाई अझै मजबुत तरिकाले अगाडि बढाउनुपर्ने छ,’ उनले भनिन्।

मन्त्री देउवाले विदेशमा विभिन्न पेसा व्यवसायमा रहेका नेपालीहरूलाई सेवामा सरलीकृतका लागि आफूले नियोगको स्तरोन्नति, जनशक्ति थप्नेसहित सिस्टमको रिफ्रेमका लागि भूमिका खेल्ने बताइन्।

‘हाम्रो आर्थिक कुटनीति पनि अगाडि बढिरहेको छ। तर विश्वमञ्चमा कमजोर उपस्थिति छ। हामीसँग एकसे एक मान्छे छन्, उनीहरुसँग सहकार्य गर्नुपर्छ। यसमा सोच्नुपर्छ,’ उनले भनिन्।

मन्त्री देउवाले परिणाममुखी व्यवस्थापनमा आफ्नो जोड रहने बताइन्। ‘सुशासनका लागि समयमा काम महत्त्वपूर्ण छ। चाहिने ऐन छ, तर समयमा काम हुँदैन । फाइल आयो, तर अगाडि बढेन भन्ने गुनासो छ । म चाहन्छु रिजल्टबेस म्यानेजमेन्ट हुनुपर्छ,’ उनले भनिन्। 

मन्त्री देउवाले हमासको नियन्त्रणमा रहेका विपीन जोशीसहित रुसी सेनामा भर्ना भएका नेपालीको उद्धार र स्वदेश फिर्ताको पहल आफ्नो प्राथमिकतामा रहेको सुनाइन्।

प्रेस बिफ्रिङमा मन्त्री देउवाले राष्ट्रिय दिवसहरूमा बैठकको ढाँचा स्वीकृत गर्ने पहिलो निर्णय गरेको पनि जानकारी गराइन्। देउवाले भारतसँगको सम्पूर्ण सीमा विवाद वार्ताको माध्यमबाट समाधान गरिने पनि स्पष्ट पारिन्।