
नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६५ यात्रु रहेकाे बताइएको छ ।
घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३:३० बजे दुईवटा बस त्रिशूलीमा खसेका हुन् । उनका अनुसार काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौं जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेका हुन् ।
प्रजिअ यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौं जाँदै गरेको बसमा २४ जना यात्रु रहेका थिए । उनले भने, ‘हामी घटनास्थलमा छौँ । पानी परिरहेकाे छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु गरिएको छ ।’