१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 27 June, 2025
Invalid date format २१:३९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार

काठमाडौं महानगरको बजेट सर्वसम्मतले पारित 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:३९:oo

काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष ०८१/८२ को बजेट सर्वसम्मतले पारित भएको छ । मंगलबार बसेको नगरसभाको पाँचौँ बैठकबाट सर्वसम्मतले बजेट पारित भएको हो ।

महानगरकी उपमेयर सुनिता डंगोलले १० असारमा आर्थिक वर्ष ०८१/०८२ को बजेट नगरसभामा पेस गरेकी थिइन् । उनले नगरसभामा २५ अर्ब ७० करोड ६३ लाखको बजेट पेस गरेकी थिइन् । आगामी आवको बजेटअन्तर्गत महानगरपालिकाको सञ्चित कोषमा जम्मा हुने २४ अर्ब २० करोड ६३ लाख २५ हजार र जग्गा एकीकरण आयोजनाहरूबाट हुने आम्दानी कुल एक अर्ब ५० करोड रहेको छ ।

स्थानीय सञ्चित कोषबाट खर्च हुने रकममध्ये आर्थिक विकास क्षेत्रअन्तर्गतका कार्यक्रमहरूका लागि १९ करोड नौ लाख विनियोजन भएको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि तीन अर्ब ४९ करोड ४५ लाख २९ हजार विनियोजन भएको छ । सामाजिक विकास क्षेत्रका लागि तीन अर्ब ८१ करोड ३६ लाख १५ हजार बजेट विनियोजन हुँदा सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि एक अर्ब ८९ करोड २१ लाख ३० हजार रुपैयाँ बजेट विनियोजन भएको छ । 

मंगलबार नै महानगरले नीति तथा कार्यक्रम, विनियोजन विधेयक, २०८१, आर्थिक विधेयक, २०८१ पनि पारित भएको छ । १० असारमा बसेको नगरसभाको तेस्रो बैठकमा मेयर बालेन्द्र साह (बालेन)ले एकलौटी रूपमा नीति तथा कार्यक्रम ल्याउन खोजेको भन्दै कार्यपालिका सदस्यहरूले नीति तथा कार्यक्रममा २८ बुँदे संशोधन प्रस्ताव दर्ता गरेका थिए । सोही २८ बुँदे संशोधनमाथि १४ असारमा छलफल हुने कार्यक्रम थियो । तर, मेयर बालेन नै अनुपस्थित भएपछि छलफल अगाडि बढ्न सकेको थिएन । सोही दिन मेयर बालेनले सामाजिक सञ्जालमा कांग्रेस र एमालेका वडाध्यक्षहरूले बैठक रोकेको आरोपसहित स्टाटस लेखेका थिए । 

गौरवका योजनालाई तीन अर्ब ८० करोड 
आगामी आर्थिक वर्षका लागि महानगरपालिकाले गौरवको योजनाअन्तर्गत ‘ढलरहित नदी नाला’ लाई थप गरी ११ वटा गौरवका योजना सार्वजनिक गरेको छ । यसका लागि महानगरले तीन अर्ब ८० करोड बजेट छुट्याएको छ । महानगरले ‘कपडा बैंक,’ ‘थेमाटिक स्कुल’, ‘पोखरी मर्मत तथा संरक्षण’, ‘फोहाेरबाट मल’ र ‘महानगर होमस्टे’ लाई थप गरी ३० वटा स्वर्णिम योजना सार्वजनिक गरेको छ । यसका लागि दुई अर्बको बजेट विनियोजन गरेको छ । महानगरले चालू आवका लागि पूर्वाधार शीर्षकमा मात्रै सात अर्ब ३४ करोड ६४ लाख विनियोजन गरेको थियो ।

आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तर्जुमा गर्दा बजेटका उद्देश्य हासिल गर्नका लागि महानगरले बढ्दो बेरोजगारीको दरलाई नियन्त्रण गर्न स्वदेशमै सीप तथा तालिम दिई स्वरोजगार बनाई बेरोजगारी दर घटाउने, भाषिक तथा सांस्कृतिक पक्षको जगेर्ना र सामाजिक सदभाव तथा एकता अभिवृद्धिमा सघाउ पुर्‍याउने विषयहरू, स्थानीय स्रोत र साधनलाई सन्तुलित र समन्यायिक ढंगले परिचालन गरी आर्थिक असमानता र गरिबी न्यूनीकरण गर्ने सातबुँदे क्षेत्रगत र कार्यक्रमगत प्राथमिकता निर्धारण गरेको छ । यसैगरी, खाद्य गुणस्तरलाई उच्च प्राथमिकता दिई गुणस्तरीय वस्तु तथा सेवा जनतालाई उपलब्ध गराउने, लैंगिक समानता र सामाजिक समावेसीकरणलाई टेवा पुग्ने कार्यक्रम सञ्चालन गर्ने विषयहरू, सामाजिक, आर्थिक, भौतिक पूर्वाधार विकासमार्फत समुन्नत र समाजवादउन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माणमा महानगरको आर्थिक गतिविधिहरूमार्फत योगदान गर्ने विषयलगायत महानगरले प्राथमिकता निर्धारण गरेको छ ।