
आगलागीबाट पूर्ण क्षति भएको बुटवल उपमहानगरपालिका–८ स्थित मिलनचोकमा रहेको डेल्टा एजुकेसन मार्ट प्रालि पुनः सञ्चालनमा आउने भएको छ । यही असार १६ गतेदेखि आंशिक रूपमा पुनः सञ्चालन गर्ने तयारी गरिएको सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।
डेल्टाका अध्यक्ष लोकनाथ उपाध्यायले मार्टले प्रदान गर्दै आएको सेवा कम्पाउन्डभित्रै रहेको गोदामघरबाट सञ्चालन गर्ने तयारी गरिएको जानकारी गराए । तत्कालका लागि डेल्टा एजुकेसन मार्टले प्रदान गरेका सेवा पुस्तक, कापी, विद्यालय तथा कलेजका पोसाक दिने गरी मार्ट सञ्चालन गर्न लागिएको छ ।
डेल्टा कम्प्लेक्समा रहेका अन्नपूर्ण हाइपर मार्केट, नेपाली लुगा घर र नेपाल जुत्ता घरका पसलहरू क्रमशः दसैँसम्ममा पुनः सञ्चालन गर्ने गरी लागिपरेको सञ्चालक गणेशचन्द्र पोखरेलले बताए ।
बुटवलको मिलनचोकमा रहेको डेल्टा एजुकेसन मार्टमा यही असार ६ गते साँझ भएको आगलागीबाट डेल्टा एजुकेसन मार्टसहित त्यस भवनमा रहेका विभिन्न दर्जनभन्दा पनि बढी कम्पनीका बिक्री केन्द्रका सामान जलेर नष्ट भएका थिए ।
आगलागीबाट भएको क्षतिको विस्तृत विवरण संकलनको काम भइरहेको जानकारी गराउँदै सञ्चालक चोलाप्रसाद पाठकले कम्तीमा ४४ करोड रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जानकारी गराए ।