
उमेर समूहदेखि सिनियर टोलीसम्म शक्ति गौचनले राष्ट्रिय क्रिकेट टोलीमा एकनासको प्रदर्शन गरे । बायाँहाते अर्थोडक्स स्पिनर शक्ति सुरुमा ब्याटिङ अलराउन्डर थिए । उनले डेढ वर्षजति टोलीमा स्थान बनाउन सकेनन् । सन् २०१२ मा युएईमा भएको टी–२० विश्वकप छनोटमा उनले कमब्याक गर्दै डेनमार्कविरुद्ध ह्याट्रिक विकेट लिए । यो रेकर्ड अन्य नेपाली खेलाडीले बराबरी गरेका छैनन् । यसै खेलबाट उनले आफूलाई अलराउन्डर भूमिकामा स्थापित गर्न सफल भए । डेनमार्कविरुद्धको खेललाई करिअरकै टर्निङ प्वाइन्टका रूपमा उनले लिने गरेका छन् । १२ वर्षअघि ह्याट्रिक विकेट लिँदाको क्षण शक्तिले नयाँ पत्रिकाका श्रीलोचन राजोपाध्यायलाई सुनाए :
सन् २०१२ मा युएईमा भएको आइसिसी टी–२० विश्वकपको ग्लोबल छनोटमा हामी प्रतिस्पर्धा गर्न गएका थियौँ । नेपाल समूह ‘ए’मा थियो । यस समूहमा अफगानिस्तान, नेदरल्यान्ड्स, क्यानडा, हङकङ, बुर्मन्डा र डेनमार्क थिए । सबैका लक्ष्य एउटै टी–२० विश्वकपमा छनोट हुने थियो । अफगानिस्तान, नेदरल्यान्ड्स र हङकङजस्ता बलिया राष्ट्रसँग प्रतिस्पर्धा गर्नुपर्ने थियो । नेपाली खेलाडीले राम्रो तयारी गरेका थिए । प्रशिक्षक पुबुदु दासानायेकेले खेलाडीको क्षमताअनुसारै एक्सपोज गराउनु भयो ।
लगभग डेढ वर्षपछि मैले टोलीमा कमब्याकको अवसर पाएँ । खराब प्रदर्शन वा अन्य विविध कारणले टोलीभित्र पर्न सकिनँ । कडा मिहिनेत गरी टोलीमा स्थान बनाएको थिएँ । धेरैले भनेका थिए, ‘शक्तिले विश्वकप छनोटमा एउटा अवसर पाएका छन्, त्यसमा राम्रो गर्न सकेनन् भने अब कहिल्यै पनि कमब्याक गर्न सक्दैनन् ।’ तर, एक खेलाडीको नजरबाट हेर्दा टोलीमा रहने र नरहने एउटा प्रक्रिया मात्र हो ।
विश्वकप छनोटमा प्रतिस्पर्धा गर्ने भएपछि म हौसिएको थिएँ । युएईमा वेस्ट दिने संकल्प गरेँ । यद्यपि, नेपाल विश्वकपमा छनोट नभए पनि सबैले आफ्नो तर्फबाट शतप्रतिशत मिहिनेत गरेका थियौँ । अरूले जेजस्तो भने पनि व्यक्तिगत रूपमा मैले त्यो प्रतियोगितालाई सामान्य रूपमै लिएँ । यहाँ राम्रो हुँदा भविष्य कस्तो हुन्छ वा नराम्रो प्रदर्शन गरेको बेला के हुन्छ भनेर कहिल्यै सोचिनँ ।
टिमबाट बाहिर रहँदा नेगेटिभ सोच आएन । सधैँ सकारात्मक सोच बनाइराखियो भने सफलता मिल्छ । यही भावना र दृढताका साथ अगाडि बढिरहेको थिएँ । बाहिर बसेर आफ्ना सबै विश्लेषण गरिरहेँ । अझै मिहिनेत गर्नुपर्छ । यतिले पुगेको छैन । नेपालबाट लगातार १० वर्ष खेलेको खेलाडीले हरेस खानुहुँदैन । राष्ट्रलाई एक दशक दिएको खेलाडीले अवश्य पनि एक न एक दिन मौका पाउने विश्वास थियो । भनेजस्तै मिहिनेतकै कारण डेढ वर्षपछि राष्ट्रिय टोलीमा प्रवेश पाएँ । विश्वकप खेल्ने टोलीमा धेरैजसो नयाँ खेलाडी थिए ।
सिनियर खेलाडीले राम्रो गर्नुपर्ने भन्ने थियो । फेरि मसँग अनुभव थियो । रमाइलो पक्ष भनेको मेरो प्रतिस्पर्धा युवा खेलाडीसँग पनि थियो । प्रतिस्पर्धा यस अर्थमा कि युवा खेलाडीको तुलनामा मैले राम्रो गर्नुपर्ने दबाब ममाथि थियो । हो, सुरुवातमा केही दबाब थियो । तर, आफूमाथि दबाब राख्दा खेल बिग्रन सक्ने डर थियो । यहाँ पनि सकारात्मक सोच राखेर थप मिहिनेत गरेँ ।
ह्याट्रिकपछि कसैले भेट्टाउन नसक्ने गरी दौडिएँ
प्रतियोगिताको १४औँ खेल नेपाल र डेनमार्कबीच थियो । एक खेलाडीका रूपमा डेनमार्कविरुद्धको ह्याट्रिक क्षण सम्झँदा अहिले पनि गर्व लाग्छ । बारम्बार भन्ने गर्छु, ‘त्यो खेल नै मेरो उत्कृष्ट प्रदर्शनमध्ये एक थियो ।’ करिअरमा अन्तर्राष्ट्रिय ह्याट्रिक विकेट धेरै पक्षबाट अर्थपूर्ण छ । अहिलेसम्म नेपाली खेलाडीले टी–२० अन्तर्राष्ट्रियमा ह्याट्रिक गरेका छैनन् । नेपाली खेलाडीमध्ये टी–२० आईमा ह्याट्रिक गर्ने खेलाडीको नाम लिँदा मेरो नाम नै आउने गर्छ । एउटा प्राउड फिल हुन्छ । डेनमार्कविरुद्धको खेल जीवनकै महत्वपूर्ण खेलका रूपमा लिने गरेको छु । एक किसिमको परिवर्तन नै त्यही खेलबाट आएको हो । खेलाडीको दायित्व नै टिमलाई जिताउने हो । एक खेलाडीको मिहिनेतले मात्र टिमको जित सम्भव हुँदैन । सबै खेलाडीको साथ उत्तिकै हुने गर्छ । कप्तान पारस खड्काले मलाई सुरुको १० ओभरभित्र नै बलिङ गर्न लगाउनुभयो ।
पहिलो स्पेलमै मैले एक विकेट लिएँ । विकेट र पिचको कन्डिसनअनुसार मैले १२औँ ओभरमा दोस्रो स्पेल गरे । यही स्पेलमै मैले ह्याट्रिक विकेट लिएको हुँ । १२.२ ओभरमा डेनमार्कका रिजवान मोहमदले सट खेलेका थिए । एज लागेको बललाई सहजै कर्भरमा कप्तान पारसले क्याच लिनुभयो । १२.३ ओभरमा अफताव अहमेदविरुद्ध गुड लेन्थमा बलिङ गरेँ । उनले पछाडि हटेर डिफेन्स गरे । डिफेन्स गर्ने क्रममा बलसँग ‘कनेक्ट’ भएन र उनी बोल्ड भए ।
लगातार दुई बलमा विकेट आएपछि ह्याट्रिक बल थियो । फिल्डमा सबै साथीले भने, ‘कसैले शक्ति दाइ अब ह्याट्रिक आउँछ है, शक्ति ह्याट्रिक गर्नुपर्छ ।’ डेढ वर्षपछि टोलीमा कमब्याक गरेको यसलाई ह्याट्रिक विकेट लिँदै भरपूर सदुपयोगसँगै आफूलाई प्रमाणित गर्नुपर्छ भन्ने लागेको थियो । मैले कर्मान महमुदविरुद्ध नर्मल बल फ्याँकेँ । त्यो बल ब्याट्सम्यानले छाड्दा पनि स्टम्पमै लाग्ने थियो । कर्मानले खुट्टा अगाडि बढाए । बल प्याडमा लाग्यो । विकेटको अर्को एन्डबाट शतप्रतिशत एलबिडब्लू नै थियो । अम्पायरतर्फ एकपटक मात्र हेर्दै एलबिडब्लूको अपिल गरेँ । अम्पायरले इसारा गर्नुअघि नै ह्याट्रिक विकेटको खुसी मनाउन ट्रेडमार्क शैलीमा दौडिएँ ।
केही मिटरअगाडि दौडिएपछि डाइभ गरेँ । मलाई पछ्याइरहेका साथीले भेट्टाउन नै सकेनन् । ह्याट्रिक विकेट भएपछि उनीहरू मसँग खुसी बाँड्न आएका रहेछन् । तर, केही सोचविचार नै नगरी म पागलझैँ कुदेँ । साथीहरू ममाथि झयाप्पै जम्प गरे । अक्सर विकेट लिँदा म आफ्नो स्वाभाविक रूपमै सेलिब्रेसन गर्छु । खुला आकाशमा परेवाले फखेटा फिँजाए जस्तै गरी मैदानमा म दुवै हात खुला राखेर दौडने गर्छु । यो कसैको नक्कल होइन । त्यस मुभमेन्टलाई जतिसक्दो धेरै खुसी मनाउने हो । म जहिल्यै पनि इन्जोय गर्ने व्यक्ति हुँ । मलाई भेट्टाएपछि साथीले बधाई दिए । खेल सकेपछि पुबुदु सरले पनि मलाई सपोर्ट गर्नुभयो ।
विश्वकपपछि अलराउन्डर
सुरुवाती १० वर्ष मलाई ब्याटिङ अलराउन्डरका रूपमा चिन्थे । पहिला लामो इनिङ्स खेल्ने र पावर हिटिङ गर्ने जिम्मेवारी थियो । त्यस समयमा बलिङभन्दा ब्याटिङमाथि केन्द्रित थियो । अर्थोडक्स बलिङ गर्थे । मलाई ब्याटिङमा एक विशेष जिम्मेवारी दिइएको थियो । युएईमा सम्पन्न विश्वकप छनोटपछि मैले आफ्नो भूमिका परिवर्तन गरेँ । ह्याट्रिक विकेटपछि आफूलाई कम्प्लिट बलरका रूपमा पाएँ । ब्याटिङमा भन्दा बलिङमा मैले धेरै मिहिनेत त्यसपछि गरेँ । प्रशिक्षक पुबुदु सरले मलाई बलिङमा धेरै अभ्यास गराउनुभयो । उहाँले मलाई टप लेभलमा बलिङ गर्न सक्ने हौसला दिनुभएको थियो । यसक्रममा मैले कसरी गुड लेन्थमा बलिङ गर्ने, कसरी स्पिड अप एन्ड डाउन गर्ने, विकेटअनुसार कसरी बललाई टर्निङ गराउने साथै योर्कर फ्याँक्नेसमेत सिक्ने अवसर पाएँ । विश्वकप पछिका तीन–चार वर्ष उत्कृष्ट फर्ममा रहेँ ।
मलेसियाविरुद्ध विश्व रेकर्ड
मैले आफ्नो फर्म आइसिसी विश्वकप डिभिजन–४ मा मलेसियाविरुद्ध राखेँ । मलेसियामै भएको खेलमा मैले विश्व कीर्तिमान नै राखेँ । मलेसियाविरुद्ध मेरो बलिङ स्पेल १० ओभर आठ मेडन दुई रन तथा तीन विकेट थियो । यो सबै मिहिनेतको फल हो । पिचको कन्डिसन बलरका लागि राम्रो थियो । मैले डट बल फ्याँकिरहँदा विनोद दासले काउन्ट गरिराखेका थिए । बीच–बीचमा विनोदले भने, ‘शक्ति ३६ डट, ४० डट बल भयो ल ।’ किन विनोदले अनावश्यक बल काउन्ट गरेको मनमनै सोचिरहेँ । खेल सकेपछि अम्पायरले ‘शक्ति यू डिड वेल, इट इज वल्र्ड रेकर्ड बलिङ स्पेल ।’ ओहो ! त्यो स्पेल विश्व रेकर्ड पो भएछ । विनोदले पछि मात्र भने, ‘विश्व रेकर्डतर्फ अगाडि बढिरहँदा बलिङ कति डट हुन्छ भनी गणना गरिरहेको ।’ त्यो खेलमा मेरो इकोनोमी ०.२० थियो ।
त्यो र अहिलेको फरक विश्वकप
१० वर्षअघि हामीले बंगलादेशमा खेलेको विश्वकप र अहिलेको टोलीबीच धेरै फरक छ । हामीले सीमित स्रोत र साधनबीच खेल्याैँ । तर, वर्तमान खेलाडीले हाम्रो तुलनामा धेरै एक्सपोजर पाएका छन् । दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स हामीभन्दा निकै माथि छन् । नेपालले खेलेको तीनवटा स्पर्धामा हामी कुन स्तरका हौँ भन्ने विश्वमा प्रमाणित गरेको छ । तर, नेपाल आफ्नै सानो गल्तीका कारण सेपर एटमा नपुगेको हो । यदि त्यो सानो मिस्टेक नभएको भए आज नेपाल सुपर एटमा प्रतिस्पर्धा गरिरहेको हुन्थ्यो । जति धेरै अनुभवी टोलीसँग हामी प्रतिस्पर्धा गर्छाैँ, स्तर पनि त्यहीअनुरूप बढ्दै जान्छ ।