
देशको एक मात्र जलाशययुक्त कुलेखानी आयोजनाको इन्द्रसरोवरमा पानीको सतह घटेपछि अत्यावश्यक समयमा भन्दा बाहेक कुलेखानी जलविद्युत् आयोजना सञ्चालन नहुने भएको छ । कुलेखानी प्रथम जलविद्युत् केन्द्र प्रथमका प्रमुख तारादत्त भट्टले इन्द्रसरोवरमा पानीको सतह समुद्री सतहबाट एक हजार चार सय ८४.९८ मिटरसम्म मात्रै रहेकाले कुलेखानीबाट नियमित बिजुली उत्पादन नहुने बताए ।
समुद्री सतहबाट एक हजार चार सय ८३ मिटरसम्म पानी पुगेपछि बिजुली उत्पादन गर्न नमिल्ने उनको भनाइ छ । ‘सोमबार बिहानसम्म इन्द्रसरोवरमा पानीको सतह समुद्री सतहबाट एक हजार चार सय ८४.९८ मिटर पुगेको छ । त्यसकारण अब कुलेखानीबाट अत्यावश्यक समयमा भन्दा बाहेक बिजुली उत्पादन गर्न सकिँदैन,’ उनले भने ।
पछिल्लो समयमा कुलेखानी विद्युत् आयोजना नियमित चलाउनुपरेको र पानी पनि नपरेका कारण इन्द्रसरोवरमा पानीको सतह घटेको छ । प्रमुख भट्टले समुद्र सतहबाट एक हजार पाँच सय ३० मिटरसम्म पानी जम्मा गर्न सकिन्छ । इन्द्रसरोवरमा अघिल्लो वर्षको तुलनामा यस वर्ष बढी पानी खपत भएको थियो । कुलेखानी प्रथम जलविद्युत् केन्द्र, दोस्रो र तेस्रो गत केही समयदेखि २४सै घण्टा पूर्ण क्षमतामा चलेको उनको भनाइ छ ।
पानी पर्न सुरु भएपछि इन्द्रसरोवरमा पानीको सतह बढ्ने भएकाले पनि यो समयमा पानीको अधिकतम उपयोग गरेको आयोजना प्रमुख भट्टले बताए । उनले निरन्तरर पानी पर्ने र हिउँ पग्लेर खोलाहरूमा पानीको सतह बढ्ने क्रम सुरु भएपछि रन अफ रिभरमा आधारित जलविद्युत् आयोजनाहरू पूर्ण क्षमतामा चल्न थालेपछि कुलेखानी जलविद्युत् आयोजना ब्याकअप रूपमा मात्रै सञ्चालन हुने जानकारी दिए ।
कुलेखानीलाई नेपालको जलविद्युत्को महत्वपूर्ण ब्याकअप आयोजनाका रूपमा लिइन्छ । विशेष गरी सुक्खा र गर्मी याममा खोला, नदीको पानी कम हुँदा विद्युत् आपूर्ति र मागलाई सन्तुलन कायम गर्न र विद्युत् अधिक माग भएको समय तथा भोल्टेज कम र बढी हुँदा विद्युत् वितरण प्रणालीलाई व्यवस्थित गर्न कुलेखानी जलविद्युत् आयोजनालाई प्रयोग गरिने गरिएको छ ।