
जन्मको ठीकअघि एक बालक भगवान्सित गुनासो गर्छन्– प्रभु, म नयाँ जन्म लिएर पृथ्वीमा जान चाहन्नँ, त्यहाँ खराब मानिस बस्छन् । भगवान्ले स्नेहपूर्वक सृष्टिको नियमअनुसार नयाँ जन्मको महत्व बताएर सम्झाएपछि बालक नयाँ जन्मका लागि तयार भए ।
बालकले भने– ठीक छ प्रभु, हजुरको यही इच्छा छ भने म मृत्युलोक जान तयार छु । तर, म जबसम्म पृथ्वीमा रहन्छु, हजुरले मेरो साथ छाड्न पाउनुहुन्न । भगवान्ले त्यस्तै गर्ने वचन दिए । बालकले भने– तर, पृथ्वीमा त हजुर अदृश्य हुनुहुन्छ । मैले हजुर मेरै साथमा हुनुहुन्छ भनेर कसरी थाहा पाउन सक्छु त ? भगवान्ले हाँस्दै जवाफ दिए– जब–जब तिमीले आफ्ना आँखा बन्द गर्नेछौ, तब–तब दुई जोडी पदचिह्न देख्नेछौ । तिनलाई देखेपछि म तिम्रो साथमै भएको सम्झनू । बालकको जन्म भयो । केही समयमै उनी सांसारिक व्यवहारमा फसे । जसले गर्दा भगवान्सितको वार्तालाप भुले । जब उनी मृत्युनजिक पुगे, तब मात्र भगवान्ले आफूलाई दिएको वचन सम्झिए । भगवान्को वचन परीक्षण गर्न उनी केहीबेर आँखा बन्द गरेर जीवनको स्मरण गर्न लागे । उनले जन्मको समयदेखि नै दुईजोडी पदचिह्न देखे । तर, जब–जब उनी आफ्नो सबैभन्दा कठिन समयमा थिए, तब उनले एकजोडी पदचिह्न मात्र देखे । यो देख्दा उनी निकै दुःखी भए । दुःखको समयमा आफ्नो वचन पूरा गर्नुको साटो भगवान्ले एक्लै छाडिदिएछन् भन्ने सोचेर उनी दुःखी भए ।
मृत्युपश्चात् उनी भगवान्सामु पुगे र गुनासो गरे– प्रभु ! हजुरले हरक्षण मेरो साथमा रहने वचन दिनुभएको थियो, तर संकटको समयमा त मेरो साथ छाडिदिनुभएछ । संकटको समयमा मैले एकजोडी पदचिह्न मात्र देखेँ । यसरी मलाई किन एक्लै छाडिदिनुभयो ?
भगवान्ले मुस्कुराउँदै भने– पुत्र, जब तिमी गम्भीर संकटमा थियौ, त्यतिखेर मेरो हृदय निकै द्रवित भयो । अनि, मैले तिमीलाई आफ्नो काखमा उठाएँ । त्यसैले, तिमीले मेरो एकजोडी पदचिह्न मात्र देखेका हौ ।