१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 23 June, 2025
Invalid date format o८:o३:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

काभ्रेको महाभारत पूर्ण विद्युतीकरण घोषणा

करिब ५० करोड लागतमा तीन हजार चार सय ३० घरधुरीमा विद्युत जडान

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:o३:oo

काभ्रे जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिका पूर्ण विद्युतीकरण घोषणा भएको छ । बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले महाभारत गाउँपालिकालाई पूर्ण विद्युतीकरण पालिका घोषणा गरेका हुन् । उक्त घोषणा कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले महाभारत कर्णालीजस्तो अवस्थामा नरहने बताए ।

केन्द्रीय विद्युतले जोडिसकेको, सडक निर्माणको काम भइरहेको बताउँदै महाभारत पनि अब छिट्टै समृद्ध हुने उनको भनाइ छ । ‘यहाँका नागरिकको विकासप्रतिको चाहनालाई पूरा गर्नका निम्ति प्राथमिकताका साथ अगाडि बढाउँछौँ,’ मन्त्री बस्नेतले भने, ‘विद्युतीकरणको कामलाई प्राथमिकतामा राखेर सम्पन्न गरेको जसरी अन्य आवश्यक कामहरूलाई पनि त्यही रूपमा अगाडि बढाउँछौँ ।’ त्यससँगै आर्थिक उपार्जन र रोजगारी सिर्जना गर्नेलगायत शिक्षा र स्वास्थ्यको क्षेत्रमा समेत काम गर्न अब राज्यले ध्यान दिन आवश्यक रहेको उनले उल्लेख गरे । 

पछि परेका जाति, वर्ग, क्षेत्र र समुदाय सबैको उत्थान र प्रगतिका लागि परिवर्तित व्यवस्थाले काम गरेको अवस्थामा सबै जनप्रतिनिधिहरूले सो कुरालाई दिमागमा राखेर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा सबैको हितका लागि काम गर्नुपर्ने उनले बताए । महाभारत र खानीखोलाजस्ता पछाडि परेका क्षेत्रको विकासका निम्ति सक्रिय भएर काम गर्ने जनप्रतिनिधिहरूलाई विकासमा मूल प्रवाहमा समाहित हुँदै गइरहेको अवस्थामा अहिले भएका कामहरू विकासको जग भएको उल्लेख गरे । मन्त्री बस्नेतले आमनागरिकलाई विकासको थप कामका लागि जनप्रतिनिधिलाई मात्रै जिम्मा लगाएर नपुग्ने बताउँदै आर्थिक, सामाजिक विकास र प्रगतिको लागि सकारात्मक भूमिका खेलेर सहयोग गर्न आमनागरिकलाई आग्रह गरे ।

संघीय प्रतिनिधिसभा सदस्य सूर्यमान दोङले डाँडापारि क्षेत्रमा विद्युतीकरण सम्पन्न गर्नका लागि सहयोग गर्ने सबै बधाईको पात्र भएको बताए । सो क्षेत्रको थप पूर्वाधार विकासको काममा निरन्तर लागिरहेको उनको भनाइ छ । सो क्रममा जनमुक्ति मार्ग आगामी ०८४ सम्ममा कालोपत्रे गरिसक्ने बताउँदै बाँकी रहेका कोखाजोर जलाशययुक्त आयोजनाले पनि बिस्तारै साथर्कता पाउने उनले बताए । 

नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले गरेका आम्दानीहरू सबै विद्युतीकरणमै लगानी गरेको बताए । अहिलेसम्ममा देशभरिमा करिब ५० वटा जिल्ला पूर्ण विद्युतीकरण भइरहेको र बाँकी जिल्लाहरूमा विस्तारका लागि निरन्तर काम भइरहेको बताए । काभ्रे जिल्लाको विकटमा रहेको महाभारत गाउँपालिका पूर्ण विद्युतीकरण भइसकेको र खानीखोला गाउँपालिकालाई छिट्टै घोषणा गर्ने क्रममा रहेको उनले बताए । आफू अघिल्लोपटक कार्यकारी निर्देशक भएको वेलामा ३० प्रतिशत मात्रै विद्युतीकरण भएकोमा अहिले सम्पन्न गर्ने चरणमा रहेको उनको भनाइ छ । काभ्रेको डाँडापारि विस्तार गरेको विद्युतीकरणमा कालो तार स्टिलका खम्बासहितको विस्तार भएकाले सुरक्षाको दृष्टिकोणले निकै सुरक्षित रहेको उनले बताए ।

खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले महाभारत गाउँपालिका अध्यक्षको नेतृत्वमा भएको कामले विकासको नयाँ गन्तव्यतर्फ अगाडि बढ्न सहयोग मिलेको बताए । पूर्ण विद्युतीकरण भइसकेको अवस्थामा अब जनमुक्ति मार्ग निर्माण कार्य सम्पन्न भएपछि अझ डाँडापारिका नागरिकले थप सहजता पाउने विश्वास व्यक्त गरे ।

नेपाल विद्युत् प्राधिकरणका निर्देशक अच्युत घिमिरेले नेपाल विद्युतीकरण र काभ्रे–मकवानपुर–रामेछाप–सिन्धुली ग्रामीण विद्युतीकरण आयोजनको १० करोड र विश्व बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा सञ्चालित ग्रिड सोलार इफिसियन्सी आयोजना र काभ्रे वितरण केन्द्रको ४० करोड गरी कुल ५० करोड लागतमा महाभारत गाउँपालिका पूर्ण विद्युतीकरण घोषणा गर्न सफल भएको बताए । त्यसका लागि ११ केभीको ६५ किलोमिटर विद्युत् लाइन विस्तार गरेको, कम क्षमताको तीन सय किलोमिटर लाइन विस्तार तथा ४० वटा वितरण ट्रन्सफर्मर वितरण गरेको उनको भनाइ छ ।

महाभारत गाउँपालिका अध्यक्ष कान्तालाल जिम्बाले नेपाल विद्युत् प्राधिकरणले विगत पाँच वर्षदेखि महाभारत गाउँपालिकाको विभिन्न क्षेत्रमा रहेका बस्तीहरूमा तीन हजार चार सय ३० घरधुरीमा विद्युत् मिटर वितरण गरी लाइन प्रसारणको काम सम्पन्न भएपछि आज पूर्ण विद्युतीकरण पालिका घोषणा गर्न सफल भएको बताए । उनले दुर्गममा बसेर पनि केन्द्रीय विद्युत् प्रसारणलाई उपभोग गर्न पाउनु गर्वको विषय भएको बताए ।