Skip This
कान्तिपुर ग्रुपका अध्यक्ष सिरोहिया नौ दिनमा हिरासतमुक्त
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १७ बिहीबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १७ बिहीबार o६:२१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कान्तिपुर ग्रुपका अध्यक्ष सिरोहिया नौ दिनमा हिरासतमुक्त

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १७ बिहीबार o६:२१:oo

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिरी जमानीमा रिहा भएका छन् । जिल्ला सरकारी वकिल कार्यालयको सहमतिमा जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रका आधारमा ललितपुर प्रहरीले बुधबार उनलाई हाजिरी जमानीमा छाडेको हो । 

नागरिकतासम्बन्धी कसुरको अनुसन्धानका लागि पक्राउ गरिएका सिरोहिया नवौँ दिनमा हिरासतमुक्त भएका हुन् । सिरोहियाका कानुनी सल्लाहकार किशोर पौडेलले मुलुक फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ को दफा १५ को उपदफा १ अनुसार हाजिर जमानीमा रिहा भएको बताए । उक्त उपदफामा प्रतिवादीलाई हिरासतमा राख्नु आवश्यक नदेखिएमा अनुसन्धान अधिकारीले सरकारी वकिलको सहमतिमा हाजिर जमानीमा छाड्न सक्ने व्यवस्था छ । 

‘ऐनबमोजिम अनुसन्धानको सिलसिलामा हिरासतमा रहेको कुनै व्यक्तिलाई हिरासतमा राखिराख्नु आवश्यक वा उपयुक्त नदेखिएमा अनुसन्धान अधिकारीले सरकारी वकिलको सहमति लिई वा तत्काल त्यस्तो सहमति लिन सकिने अवस्था नभएमा कारणसहितको पर्चा खडा गरी त्यस्तो व्यक्तिबाट धरौटी वा जमानत लिई वा निजलाई कुनै माथवरको व्यक्तिको जिम्मामा हाजिर जमानीमा छाड्ने वा तारिखमा राख्न सक्नेछ,’ दफा १५ को उपदफा १ मा भनिएको छ । 

सरकारी वकिल कार्यालयको अनुमति लिएर धनुषा प्रहरीले सिरोहियालाई हाजिरी जमानीमा छाड्न ललितपुर प्रहरीलाई परिपत्र गरेको थियो । बुधबार जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन आवाका अनुसार सिरोहियाका छोरा सम्भव सिरोहियाको रोहवरमा अनुसन्धानमा आवश्यक परेका वेला हाजिर गराउने गरी रिहा गरिएको हो । स्वास्थ्यमा थप समस्या देखिएपछि सिरोहियालाई उपचारका लागि मंगलबार मात्रै हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो । उनलाई भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । त्यसअघि उनको जनकपुरस्थित काव्या अस्पतालमा उपचार भइरहेको थियो । 

सिरोहियालाई गत ८ जेठमा थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाट प्रहरीले पक्राउ गरेको थियो । लगत्तै उनलाई जिल्ला प्रहरी कार्यालय धनुषा लगिएको थियो । जिप्रका धनुषाले अनुसन्धान गर्न तीन दिनको म्याद पाएको थियो । दोस्रो र तेस्रोपटक पनि जिल्ला अदालतबाट तीन–तीन दिन म्याद थप गरिएको थियो । पछिल्लोपटक थप गरिएको म्याद बुधबार सकिएको छ । 

कानुनी उपचार खोज्ने 
आधारभूत अनुसन्धानसमेत नगरी आफूलाई विनाकारण नौ दिनसम्म थुनामा राखिएको भन्दै सिरोहियाले कानुनी उपचारमा जाने बताएका छन् । बुधबार विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘मलाई अहिले हाजिरी जमानीमा छाडिएको छ । थप अनुसन्धानमा सहयोग गर्न म सम्पूर्ण रूपमा तयार छु । तर, प्रहरी प्रशासनले आधारभूत अनुसन्धान पनि नगरी मलाई पक्राउ गरी नौ दिनसम्म हिरासतमा राखिएकामा यो योजनामा संलग्न सबैलाई जवाफदेही बनाउन कानुनी उपचारको बाटो खोज्ने जानकारी गराउन चाहन्छु ।’ सिरोहियाले आफूसँग तीनवटा नागरिकता रहेको विषय पुष्टि गराउनसमेत चुनौती दिएका छन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘म गैरनेपाली रहेको, मसँग दुई–तीन थरी नागरिकता रहेको र मेरो नागरिकतामा हस्ताक्षर र मितिसमेत नरहेको जस्ता हल्ला फैलाउनेलाई आफ्नो दाबी प्रमाणित गर्न सार्वजनिक चुनौती दिन चाहन्छु ।’

कान्तिपुरको पत्रकारितालाई दुर्बल बनाउने नियतले आफूलाई जसरी पनि पक्राउ गर्न गृह मन्त्रालयले चाहेको उनले बताएका छन् । ‘मलाई जसरी पनि पक्राउ गर्ने, कान्तिपुरको पत्रकारितालाई दुर्बल बनाउने र अरू सञ्चारमाध्यमलाई पनि तर्साउने दुष्प्रयासले यो हरकत भएको थियो भन्नेमा अब कुनै शंका रहेन,’ विज्ञप्तिमा भनिएको छ । नागरिकतामा भएको हस्ताक्षरको फरेन्सिक परीक्षण गर्न प्रहरीले आलटाल गरेको र पटकपटकको ताकेतापछि सम्बन्धित अधिकारीले नागरिकताको हस्ताक्षर आफ्नो भनेपछि सबै षड्यन्त्र समाप्त भएको उनले बताएका छन् ।