
नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा उत्साहित हुने अवस्था नरहेको बताएका छन्। संसद् भवनपरिसरमा पत्रकारहरूसँग कुरा गर्दै महतले बजेटमा सुधारका कुनै कुरा नभएको टिप्पणी गरेका हुन्।
‘अर्थमन्त्रीले अघिल्लो वर्षको भन्दा बजेटको आकार बढाउनुभएको छ। तर, स्रोत नहुँदा आन्तरिक ऋण बढाउनुभयो। ऋण त्योभन्दा बढाउने ठाउँ थिएन। विदेशी सहयोग देखाउने ठाउँ पनि थिएन। त्यसैले प्रधानमन्त्रीले, अर्थमन्त्रीले भनेजस्तो, उहाँहरूले चाहेजस्ताे बजेट बनाउनमा केही ब्रेक लागेको छ,’ उनले भने, ‘तर, पनि वास्तविकताभन्दा केही माथि छ। उहाँहरूले धेरै सुधार गछौँ भन्नुभएको छ, तर बजेटरी प्रक्रियामा सुधारका केही पनि कुरा छैन।’
निर्माणाधीन आयोजनालाई पूर्णता दिने प्राथमिकता पर्नुपर्ने भए पनि त्यस विषयमा सरकार मौन बसेको महतले बताए। ‘बजेट सिस्टममा सबैभन्दा ठूलो बेथिति थियो– बजेट विनियोजन नभईकन ठेक्का लगाउने प्रवृत्ति। त्यसमा हामीले तीन करोडमाथिको लागि कार्यविधि बनाएर राख्ने भनेका थियौँ। त्यसमा उहाँ मौन हुनुहुन्छ। त्यो कार्यविधिलाई उहाँहरूले तिलाञ्जली दिइसक्नुभयो,’ महतले भने, ‘उहाँहरूले भन्नुभएको कुरा बजेटमा बोल्नुभएको छैन। सुधार के गर्दै हुनुहुन्छ, केही पनि थाहा छैन।’
पूर्वअर्थमन्त्री महतले सरकारले व्यापारीसँगको सेटिङमा आलु, प्याजमा लाग्दै आएको मूल्य अभिवृद्धि कर हटाएको आरोप लगाएका छन्। उनले भने, ‘स्याउ, आलु र प्याजमा लगाएको भ्याट हामीले घटायौँ, स्वदेशी उत्पादन बढ्छ भन्नुभएको छ। त्यो सीधै झुटो कुरा हो। भन्सार विन्दुमा (भ्याट) लगाउँदा बाहिरबाट आउने महँगो हुन्छ र स्वदेशी वस्तु प्रतिस्पर्धामा आउँछन् भन्ने थियो। त्यो हटाउनुभएको छ। त्यो हटाएपछि कसरी प्रतिस्पर्धा हुन्छ?’