Skip This
बागमतीको नीति तथा कार्यक्रममा कृषि, पर्यटन, रोजगारी र शिक्षालाई प्राथमिकता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १४ सोमबार
  • Monday, 17 June, 2024
२o८१ जेठ १४ सोमबार १७:o६:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
प्रदेश डिजिटल संस्करण

बागमतीको नीति तथा कार्यक्रममा कृषि, पर्यटन, रोजगारी र शिक्षालाई प्राथमिकता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १४ सोमबार १७:o६:oo

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रममा कृषि, पर्यटन, रोजगारी र शिक्षालाई प्राथमिकता दिएको छ। १४ जेठमा बस्ने प्रदेश सभा बैठकमा प्रस्तुत हुने नीति तथा कार्यक्रमले कृषि, पर्यटन, शिक्षा र रोजगारीलाई प्राथमिकतामा राखेको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए।

नयाँ पत्रिकासँग कुरा गर्दै उनले कृषि, पर्यटन, शिक्षा र रोजगारी प्रदेशको समग्र विकास तथा आर्थिक क्षेत्रको मेरुदण्ड भएकाले नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकता दिने बताए। प्रदेश सरकारले विगतदेखि नै लिएको नीतिलाई सन्तुलन कायम गर्ने गरी पनि आगामी आवको नीति तथा कार्यक्रम निर्धारण गरिएको उनको भनाइ छ।

‘प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०८१/८२ को विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकतामै कृषि, पर्यटन, शिक्षा र रोजगारीलाई प्रदेशको समृद्धिको मुख्य आधार मानिएको छ। यी नै चार आधारबाट समृद्ध प्रदेश निर्माण गर्न सकिन्छ भन्ने नीति लिएका छौँ,’ उनले भने।

५ वर्षमा प्रदेश सरकारले निश्चित उद्देश्य प्राप्त गर्न सक्ने गरी त्यसको प्रारूप तयार पारेको दाबी गर्दै सोहीअनुसार नयाँ ढंगबाट कार्यक्रमहरू ल्याउने तयारीमा सरकार रहेको उनको भनाइ छ। उनले प्रदेशमा लगानीको मोडल तयार गरेको उल्लेख गर्दै लगानी बोर्ड निर्माण गरेर अघि बढ्ने बताए।

‘विगतमा नीति नहुँदा काम गर्न समस्या भएको थियो। हामीले अहिले त्यो कमजोरीलाई सुधार गरेका छौँ। कृषि, पर्यटन, शिक्षा र रोजगारीलाई प्रदेशको नीति नै बनाएर काम थालेका छौँ। प्रदेशको नीति तथा कार्यक्रम र बजेट उत्पादन एवं उत्पादकत्व वृद्धिमा केन्द्रित रहनेछ,’ मुख्यमन्त्री जम्कट्टेलले भने, ‘उत्पादन वृद्धि र रोजगारी सिर्जना तथा आर्थिक समृद्धिका योजनाहरू नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समावेश भएर आउँछन्।’

कृषि क्षेत्रको रूपान्तरण र आर्थिक वृद्धिदर बढाउन अनुदान प्रणालीलाई सुधार गर्दै समुदायमा केन्द्रित गर्ने, समुदायमा आधारित पकेट क्षेत्रको मोडेलमा कार्यक्रम सञ्चालन गर्ने, टुक्रे खेती प्रणाली परिमार्जन गरी पकेट क्षेत्रको मोडलमा जाने, एक निर्वाचन क्षेत्र एक प्रांगारिक मल उद्योग स्थापना गर्नेलगायत नीति तथा कार्यक्रममा समेटिने बताए।

‘समुदायमा आधारित कृषि उत्पादन मोडल सञ्चालनका लागि चालू आर्थिक वर्षदेखि नै काम सुरु गरिएको थियो। जसअनुसार पशुपालन र कृषि उद्यमशीलताको लागि ६३ वटा स्थानीय तहको प्रस्ताव प्राप्त भएको छ’ मुख्यमन्त्री जम्कट्टेलले भने, ‘प्रदेश सरकारको पहिलो प्राथमिकतामा कृषि रहेको र सोहीअनुसार योजना निर्माण भइरहेको छ।’

शिक्षा क्षेत्रको विकासका लागि प्रदेशमा सार्वजनिक विश्वविद्यालय स्थापना गरेर अघि बढ्ने, सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि विद्यालय मर्ज गरी प्राविधिक शिक्षामा जोड दिने, पाठ्यक्रम र परीक्षा प्रणाली परिमार्जन गरी आवासीय मोडलमा विद्यालय शिक्षाको विकास गर्ने योजना रहेको उनले सुनाए।

यसैगरी, बागमती प्रदेशमा पर्यटन क्षेत्रको प्रचुर सम्भावना भएकाले पर्यटन क्षेत्रको विकासका लागि प्रदेशको एक निर्वाचन क्षेत्र एक पर्यटकीय गन्तव्य निर्माण, कृषि पर्यटनको विकास, प्रदेशका विभिन्न भाषा साहित्य तथा काला संरक्षणमा तथा संवर्द्धनमा जोड दिने बताए।

महिला, जनजाति, सीमान्तकृत, पछाडि पारिएका समुदायहरूको सशक्तीकरणका लागि ग्रामीण महिला उद्यमशीलता कार्यक्रम, सीमान्तकृत समुदायको उत्थान र आर्थिक उपार्जनका लागि चेपाङ, चिउरी र चमेरो कार्यक्रम सञ्चालन, कृषि, पर्यटन तथा औद्योगिक विकास तथा संरचना निर्माण पूर्वाधारको स्तरोन्नति, शिक्षा र स्वास्थ्य क्षेत्रमा विकास र सार्वजनिक सेवामा सुशासन कायम गर्ने गरी नीति निर्माण गरिएको बताएका छन्।
 

ad
ad
ad
ad