Skip This
घरजग्गाबाट १० महिनामा ३३ अर्ब राजस्व
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १२ शनिबार
  • Monday, 17 June, 2024
भक्तपुरको चाँगुनारायणस्थित प्लटिङ गरेर घडेरीका लागि तयार गरिएको जग्गा । स्रोत : घरजग्गा नेपाल
२o८१ जेठ १२ शनिबार o९:१९:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

घरजग्गाबाट १० महिनामा ३३ अर्ब राजस्व

मन्दीका कारण सस्तो जग्गाको धेरै कारोबार हुँदा गत वर्षको भन्दा थोरै राजस्व संकलन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १२ शनिबार o९:१९:oo

चालू आर्थिक वर्ष ०८०/८१ को वैशाख मसान्तसम्म घरजग्गा कारोबारबाट ३३ अर्ब पाँच करोड रुपैयाँ राजस्व संकलन भएको छ । यद्यपि, बढेको कारोबार संख्याको तुलनामा राजस्व संकलन सन्तोषजनक नभएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।

विभागका अनुसार चालू आवको वैशाखसम्म घरजग्गाको लिखित पारित १८.१९ प्रतिशतले बढेको छ । तर, घरजग्गा कारोबारबाटै उठ्ने राजस्व (कर तथा गैरकर) भने ०.२१ प्रतिशतले घटेको छ । 

१० महिनामा देशभर चार लाख २९ हजार नौ सय ५५ वटा घरजग्गा नामसारी (कारोबार) भएका छन् । गत आवको सोही अवधिमा भने देशभर तीन लाख ६३ हजार सात सय ६८ वटा घरजग्गा कारोबार भएका थिए । गत आवमा कुल चार लाख ६३ हजार तीन सय २२ कारोबार भएका थिए । 

वैशाख महिनामा मात्रै देशभर ४९ हजार सात सय ८२ वटा घरजग्गा नामसारी भएका छन् । गत आवको वैशाखमा भने देशभर ४२ हजार चार ६१ कारोबार भएका थिए । 

घरजग्गा कारोबार बढिरहे पनि सरकारलाई प्राप्त हुने राजस्व भने तुलनात्मक रूपले घटेको पाइएको छ । गत आवको १० महिनामा घरजग्गा कारोबारबाट ३३ अर्ब १२ करोड ७३ लाख ६४ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । चालू आवको वैशाखसम्म ३३ अर्ब पाँच करोड ७४ लाख ८५ हजार रुपैयाँ संकलन भएको छ ।

जुन अघिल्लो वर्षको समीक्षा अवधिको तुलनामा करिब पाँच करोड रुपैयाँ कम हो । गत वैशाखमा मात्रै ४९ हजार सात सय ८२ वटा कारोबार हुँदा सरकारलाई तीन अर्ब ८६ करोड ३८ लाख १६ हजार रुपैयाँ राजस्व प्राप्त भएको छ ।

विभागका महानिर्देशक विदुर खनालले कम मूल्यका जग्गाको कारोबार बढी हुँदा राजस्व संकलनमा कमी आएको बताए । ‘बढी मूल्यका घरजग्गा बिक्री भएको भए राजस्व पनि स्वतः बढी उठ्ने हुन्थ्यो । तर, अहिले कम मूल्यका घरजग्गाको कारोबार बढी भएको अनुमान छ । त्यसैले कारोबार संख्या बढे पनि राजस्व भने बढ्न सकेन,’ उनले बताए ।

घरजग्गा कारोबार गर्दा ग्राहकले पुँजीगत लाभकर, सेवा शुल्क, रजिस्ट्रेसन, विलम्ब शुल्कलगायत शीर्षकमा सरकारलाई कर तिर्नुपर्छ । प्रदेश सरकारपिच्छे करका दरहरू फरक–फरक छन् । 

सामान्य अवस्थामा फर्कन समय लाग्ने
आव ०७८/७९ मा सात लाख ४५ हजार एक १९ वटा घरजग्गाको कारोबार भई कुल ७४ अर्ब ६५ करोड नौ लाख ४६ हजार रुपैयाँ राजस्व उठेको थियो । गत आवको तुलनामा घरजग्गा कारोबार यो वर्ष बढे पनि सामान्य अवस्थामा भने पुग्न सकेको छैन ।

तथ्यांकअनुसार आव ०७८/७९ को तुलनामा अहिलेको घरजग्गा कारोबारको संख्या न्यून नै रहेको छ । उक्त आवको १० महिनामा ६ लाख ४३ हजार पाँच सय ८१ वटा घरजग्गा कारोबार भएका थिए । सो आर्थिक वर्षमा कुल सात लाख ४५ हजार एक सय १९ वटा घरजग्गा कारोबार भएका थिए । त्यसबापत ०७८/७९ को १० महिनामा ६५ अर्ब ३० करोड २५ लाख ७१ हजार रुपैयाँ र वर्षभरमा ७४ अर्ब ६५ करोड नौ लाख ४६ हजार रुपैयाँ राजस्व उठेको थियो । जुन चालू आवको समीक्षा अवधिमा भएको घरजग्गा कारोबार र राजस्व संकलनभन्दा निकै बढी हो । 

आर्थिक शिथिलता, जग्गा कित्ताकाटमा गरिएको कडाइ, तरलता अभाव, ब्याजदरमा भएको वृद्धिलगायत कारण गत आवमा घरजग्गा कारोबार खस्किएको थियो । त्यसपछि गत साउनमा सरकारले जग्गाको कित्ताकाटमा लगाएको प्रतिबन्ध हटाएको थियो । यसैगरी, पछिल्लो समय बैंकहरूमा लगानीयोग्य पुँजीको पर्याप्तता र घरजग्गालक्षित कर्जाको विशेष प्याकेजमा सहुलियत आएकाले विगतको भन्दा अहिले घरजग्गा कारोबार बढेको हो । तर, सामान्य अवस्थामा अझै नआएको विभागका महानिर्देशक विदुर खनालले बताए ।

‘अब घरजग्गा कारोबार बढ्न आमनागरिकको क्रयशक्ति नै बढ्नुपर्छ । तर, पछिल्लो समय देखिएको शिथिलताका कारण आमनागरिकको क्रयशक्ति अझै बढ्न सकेको छैन । त्यसैले अहिले घरजग्गाको कारोबार सामान्य अवस्थामा आउन सकेको छैन,’ उनले भने, ‘अर्थतन्त्र चलायमान भएपछि भने स्वतः घरजग्गा कारोबार बढ्ने अपेक्षा छ ।’

अब घरजग्गा कारोबार बढ्न आमनागरिकको क्रयशक्ति बढ्नुपर्छ, त्यसपछि सामान्य अवस्थामा आउँछ  : विदुर खनाल, महानिर्देशक, भूमि व्यवस्थापन तथा अभिलेख विभाग
बढी मूल्यका घरजग्गा बिक्री भएको भए राजस्व पनि स्वतः बढी उठ्ने हुन्थ्यो । तर, अहिले कम मूल्यका घरजग्गाको कारोबार बढी भएको अनुमान छ ।

त्यसैले कारोबार संख्या बढे पनि राजस्व भने बढ्न सकेन । अब घरजग्गा कारोबार बढ्न आमनागरिकको क्रयशक्ति बढ्नुपर्छ । तर, पछिल्लो समय देखिएको शिथिलताका कारण आमनागरिकको क्रयशक्ति अझै बढ्न सकेको छैन ।

त्यसैले अहिले घरजग्गाको कारोबार सामान्य अवस्थामा आउन सकेको छैन । अर्थतन्त्र चलायमान भएपछि भने स्वतः घरजग्गा कारोबार बढ्ने अपेक्षा छ ।

ad
ad
ad
ad