Skip This
वीरगन्जमा नेपाल–भारत मल्टिमोडल लजिस्टिक एन्ड कनेक्टिभिटी सम्मेलन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ११ शुक्रबार
  • Sunday, 16 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ११ शुक्रबार १७:o८:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

वीरगन्जमा नेपाल–भारत मल्टिमोडल लजिस्टिक एन्ड कनेक्टिभिटी सम्मेलन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ११ शुक्रबार १७:o८:oo

मधेश प्रदेशको वीरगन्जमा बिहीबार नेपाल–भारत मल्टिमोडल लजिस्टिक एन्ड कनेक्टिभिटी सम्मेलन २०२४ आयोजना भएको छ । सम्मेलनमा दुई देशबीच व्यापार साझेदारी, कृषि उत्पादन र औद्योगिक वस्तुहरूदेखि पर्यटन र शिक्षा सेवाहरूको आदान–प्रदानलगायतका विषयमा छलफल भएको छ । 

दुई चिन्तन प्रतिष्ठान ‘भारत–नेपाल केन्द्र’ र ‘गति शक्ति विकास फोरम’को नेतृत्वमा नेपाल उद्योग वाणिज्य महासंघ, वीरगन्ज उद्योग वाणिज्य संघको सहयोगमा नेपाल–भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री र नेपाल चेम्बर अफ कमर्स, पिएचडी चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीले सम्मेलन आयोजना गरेका हुन्।

सम्मेलनले दुवै देशका प्रमुख सरोकारवालाहरूलाई सम्पर्क र व्यापार अभिवृद्धिका लागि परिवर्तनकारी पहलहरू अन्वेषण गर्न, छलफल गर्न र उत्प्रेरित गर्न सहयोग पुगेको सहभागीहरूको निष्कर्ष छ । भारत र नेपालबीचका यातायात र कनेक्टिभिटी पूर्वाधारमा पनि छलफल भएको छ।

सम्मेलनमा सहभागीहरूले एकीकृत जाँच चौकी (आइसिपी) र इनल्यान्ड कन्टेनर डिपो (आइसिडी)को व्यवस्थापनको जिम्मा दिँदा उपभोक्तालाई बोझ कम गर्नुपर्ने, ढुवानी खर्च घटाउनुपर्ने र नेपाली कम्पनीलाई प्राथमिकता दिनुपर्ने मुद्दा उठाएका थिए ।  पिएचडी चेम्बर अफ कमर्सको नेपाल–भारत सेन्टरका सचिव अतुलकुमार ठाकुरले  दुई देशबीच पारवहन  कनेक्टिभिटीसम्बन्धी विषयहरूमा चर्चा गरेका थिए । उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीले पनि कार्यक्रममा सम्बोधन गरेका थिए । आइसिपी, आइसिडी र सरलीकृत ट्रान्जिट प्रणालीमार्फत सुधारिएका सेवाहरूबाट फाइदा लिनुपर्ने सम्मेलनको निष्कर्ष थियो ।

कार्यक्रममा वीरगन्जस्थित भारतीय महावाणिज्यदूत देवीसहाय मिनाले खुला सिमाना र कनेक्टिभिटी परियोजनाहरू दुवै देशबीच व्यापारको प्रमुख सहजकर्ताहरू रहेको बताए । उनले भारतबाट नेपाललाई मल आपूर्ति र द्विपक्षीय ऊर्जा क्षेत्रको सहयोगमा भएको प्रगतिले द्विपक्षीय व्यापारलाई थप प्रवर्द्धन गर्ने पनि उल्लेख गरे । कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलले भारतको आर्थिक फराकिलोपन र वृद्धिको नेपालले फाइदा उठाउनुपर्ने बताए।

नेपाल इन्टरमोडल यातायात विकास बोर्डका कार्यकारी निर्देशक आशिष गजुरेलले आपूर्ति शृंखलामा लागत घटाउन आवश्यक रहेको बताए । लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले नेपाल र भारतबीचको प्रसारणलाइनको प्रगतिबाट कनेक्टिभिटीमा भएको सुधार तथा सम्भावित परियोजनाबारे चर्चा गरेका थिए।

कार्यक्रममा उद्यमीहरू अनिलकुमार अग्रवाल, नरेशकुमार अग्रवाल, एनआइसिसिआई वीरगन्ज च्याप्टरका अध्यक्ष अभिषेक चौधरीले दुई देशबीच मल्टिमोडल कनेक्टिभिटी अत्यावश्यक रहेको बताए । सिर्सिया ड्राई पोर्ट सञ्चालन गर्ने प्रिस्टाइन भ्याली ड्राइपोर्ट प्रालिका सिइओ अतुलकुमार शर्माले भन्सार औपचारिकतालाई सरल र प्रभावकारी बनाउनुपर्ने बताए ।  निम्बस ग्रुप अफ कम्पनिजका अध्यक्ष जगदीशप्रसाद अग्रवाल, कन्टेनर कर्पोरेसन अफ इन्डियाका महाप्रबन्धक विशाल डी पाटिल, अन्तरराज्यीय मल्टिमोडल ट्रान्सपोर्ट (पी) लिमिटेडका निर्देशक नेपाल–भारत सहयोग मञ्चका अध्यक्ष अशोककुमार वैद्य, बिपी कोइराला नेपाल–भारत फाउन्डेसनका बोर्ड सदस्य अतुल कोइराला, राजनीतिक विश्लेषक चन्द्रकिशोर, नेपाल कृषि अनुसन्धान परिषद्का निर्देशक डा. बिपी यादव, नेपाल–भारत मैत्री अस्पतालका निर्देशक डा. विकासकुमार रौनियारले पनि सम्मेलनलाई सम्बोधन गरे।

पिएचडी चेम्बर अफ कमर्सको नेपाल–भारत सेन्टरका सचिव अतुलकुमार ठाकुरका अनुसार शिखर सम्मेलनले वस्तु, सेवा र जनताको निर्वाध सीमापार आवागमनमार्फत दुई देशबीच घनिष्ठ आर्थिक सम्बन्ध र द्विपक्षीय सहकार्यको महत्त्व थप उजागर गरेको जानकारी दिए।

ad
ad
ad
ad