१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:४६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सहकारीबाट ऋण अपचलन गरी ११ अर्बको सम्पत्ति शुद्धीकरण

शिवशिखर र तुलसी सहकारीका सञ्चालकविरुद्ध ३३ अर्ब बिगोको मुद्दा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:४६:oo

सहकारीबाट ऋण अपचलन गरी ११ अर्ब रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले शुक्रबार जिल्ला सरकारी वकिल कार्यालय भक्तपुरमा मुद्दाको अनुसन्धान प्रतिवेदन पेस गरेको छ। 

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था र तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडका सञ्चालकदम्पती केदारनाथ शर्मा र गीता शर्मालाई मुख्य प्रतिवादी कायम गरेर उनीहरूविरुद्ध ३२ अर्ब ९० करोड ५२ लाख ५२ हजार दुई सय ९१ रुपैयाँ बिगो दाबी गरिएको छ।

सम्पत्ति शुद्धीकरण मुद्दामा अभियोजन हुन लागेको यो मुद्दा हालसम्मकै ठूलो आकारको भएको विभागले जनाएको छ। विभागले मुद्दाको छानबिन प्रतिवेदनको सक्कली मिसिल जिल्ला सरकारी वकिल कार्यालय भक्तपुरमा पेस गरेको छ। नयाँ ऐनअनुसार सरकारी वकिलले नै मुद्दा जिल्ला अदालतमा दर्ता गर्नेछ।

सहकारीको रकम अपचलन गरी त्यसको प्राप्ति र लगानी तथा कारोबारमार्फत एकीकृत गरेर सम्पत्ति शुद्धीकरण गरेको देखिएको छ । यस मुद्दामा मतियारको भूमिकामा रहेको ठहर गर्दै अन्य चारजनालाई पनि प्रतिवादी कायम गरिएको छ। 

शर्मादम्पतीका करिब ५० कम्पनीमा घरजग्गा, सम्पत्ति, बैंक मौज्दात, अन्तिम मौज्दातलगायत चलअचल सम्पत्तिको कुल रकम नौ अर्ब ५६ करोड २६ लाख २९ हजार ६ सय ६१ रुपैयाँ पुगेको छ। त्यस्तै शर्मादम्पतीका नाममा मात्र कुल एक अर्ब ६२ करोड ८० लाख रुपैयाँ देखिएको छ। दुवै गरेर कुल ११ अर्ब १९ करोड ६ लाख २९ हजार ६ सय ६१ रुपैयाँको एकीकरण भएको देखिन्छ। उक्त रकम सम्पत्ति शुद्धीकरण भएको ठहर गर्दै विभागले मुद्दाको प्रतिवेदन तयार गरेको छ।

गैरकानुनी स्रोतबाट आर्जित सम्पत्ति शुद्धीकरण गरेको आरोपमा विभागले शर्मादम्पतीविरुद्ध कुल ३२ अर्ब ९० करोड ५२ लाख ५२ हजार दुई सय ९१ रुपैयाँ बिगो मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ। त्यसमध्ये केदारनाथलाई मुख्य कसुरदार ठहर गरेर २२ अर्ब ८१ करोड ९२ लाख ९० हजार चार सय १५ रुपैयाँ बिगो कायम गरिएको छ। सम्पत्ति शुद्धीकरण कानुनबमोजिम उक्त बिगोको दोब्बर जरिवाना र कसुरको मात्रा हेरी दुईदेखि १५ वर्षको कैद तथा थप १० प्रतिशत सजाय र शुद्धीकरण गरिएको बिगो जफतको मागदाबी विभागले गरेको छ।

त्यस्तै, गीतालाई पनि मुख्य कसुरदारकै भूमिकामा मुद्दा दायर भएको छ । उनीविरुद्ध ५२ करोड ३३ लाख ३२ हजार दुई सय ४१ रुपैयाँ बिगो कायम गरेर त्यसको दोब्बर जरिवाना र कसुरको मात्रा हेरी दुईदेखि १५ वर्षको कैद तथा शुद्धीकरण गरिएको बिगो जफतको मागदाबी भएको छ । शर्मादम्पतीको नाममा दर्ता भएका कम्पनीलाई पनि विभागले प्रतिवादी कायम गरेको छ ।

सम्पत्ति शुद्धीकरण गर्न धुलाई मेसिन (लाउन्ड्रोम्याट)को रूपमा कानुनी व्यक्तिको प्रयोग भएको भन्दै ती कम्पनीविरुद्ध प्राकृतिक व्यक्तिलाई हुने सजायको पाँच गुणासम्म र बिगो जफत गर्न मागदाबी गरिएको छ। यसको बिगो नौ करोड ५६ लाख २६ हजार २९ हजार ६ सय ६१ रुपैयाँ छ।

मतियारको भूमिकामा रहेको ठहर गर्दै सबिना न्यौपाने, मन्दीप खवास, तेजबहादुर तामाङ, पुष्कर मल्ल, सुशील बानियाँ र प्रदीप भट्टराईलगायतलाई पनि विभागले प्रतिवादी कायम गरेको छ । उनीहरूविरुद्ध मुख्य कसुरदार (शर्मादम्पती)लाई कायम गरेको सजायको आधा सजाय र केदारनाथले लुकाएको सम्पत्ति जफतको मागदाबी गरिएको छ।