![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/dengo792022-10-14-08-57-45.jpeg)
प्रिमनसुन सुरु भएसँगै लामखुट्टे बढ्न थालेपछि देशका विभिन्न स्थानमा डेंगु संक्रमण पुनः देखिन थालेको छ । लामखुट्टेको टोकाइबाट सर्ने डेंगुले बर्सेनि महामारीको रूप लिने गरेको छ । वर्षा भएलगत्तै पानी जमेको ठाउँमा लामखुट्टे हुर्कन उपयुक्त समय भए पनि लार्भा वा लामखुट्टे नष्ट गर्ने विषय सरकारको प्राथमिकतामा पर्न सकेको छैन ।
पछिल्ला केही वर्षयता हिउँदमा समेत डेंगु संक्रमण देखिइरहे पनि वैशाख अन्तिम र जेठ सुरुवातदेखि संक्रमण अत्यधिक फैलिने गरेको छ । काठमाडौंमा पानी पर्न थालेको केही समयमै डेंगुका बिरामी अस्पताल आउन थालेको चिकित्सकहरूले बताउन थालेका छन् ।
संक्रमणजन्य रोगको उपचार गरिरहेको शुक्रराज ट्रपिकल अस्पतालमा बिरामीको संख्या बढ्न थालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहाल डेंगु संक्रमण नियन्त्रणको एक्सन प्लानअनुसार नै कार्यक्रम देशभर बर्सेनि चलिरहेको बताउँछन् । ‘केस देखिएका स्थानमा कीटनाशक औषधि छर्कने र आवश्यक नियन्त्रणका उपाय अपनाउन स्थानीय तहलाई बर्सेनि भन्दै आएका छौँ । यस वर्षको सुरुवातदेखि नै संक्रमण नियन्त्रणका लागि एक्सन प्लानअनुसार काम गर्ने तयारीमा छौँ,’ उनले भने ।
सन् २००४ देखि नेपालमा नियमित देखिन थालेको डेंगु संक्रमण पछिल्लो केही वर्षयता उच्चदरमा बढेको छ । वर्षायाममा काठमाडौं, लुम्बिनीलगायत देशभर संक्रमित अस्पताल पुग्ने दर हजारौँको संख्यामा हुने गरेको हो । तर, लामखुट्टे फैलिने समयमा नियन्त्रणको उपाय नअपनाउँदा महामारीको जोखिम उत्तिकै भएको वरिष्ठ सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए । ‘लामखुट्टे बढ्ने समय अहिले हो । यतिवेला नियन्त्रण गर्न नसकेमा संक्रमण बिस्तारै फैलिँदै जान्छ ।
समुदायमा संक्रमण फैलिएर अस्पतालका बेड भरिन थालेपछि मात्र सक्रियता बढाउने प्रवृत्तिले गर्दा हरेक वर्ष उही नियति दोहोरिइरहेको छ,’ उनले भने । चिकित्सकका अनुसार डेंगु संक्रमणबाट उच्च ज्वरो आउने, बेसरी टाउको दुख्ने, जोर्नी र मांसपेशी दुख्ने, शरीरमा राता बिमिरा आउने, आँखा दुख्ने वा बान्ता आउनेजस्ता लक्षण देखिन्छन् ।
के हो डेंगु संक्रमण ?
डेंगु संक्रमण एडिस एजिप्टाई वा एडिस एल्बोपिक्टस लामखुट्टेबाट सर्ने फ्लेभिभाइरस कारण हुने ज्वरो हो । नेपालमा फ्लेभिभाइरसका चारवटै प्रकार देखिने गरेका छन् । जसले संक्रमितमा हेमोरोजिक ज्वरो र डेंगु सक सिन्ड्रोमका समस्या ल्याउँछ । डेंगु संक्रमण सामान्य उपचारबाट निको हुने भए पनि पटकपटक संक्रमण हुँदा वा अन्य रोगका कारण स्वास्थ्य अवस्था कमजोर भएका व्यक्तिमा जोखिमपूर्ण हुने चिकित्सकहरू बताउँछन् ।
चिकित्सकका अनुसार सेकेन्डरी वा हेटेरोटाइपिक इन्फेक्सन अर्थात् दोस्रोपटक संक्रमित भएका व्यक्तिमा गम्भीर डेंगुको विकासको सम्भावना बढी हुन्छ । पछिल्लो समय काठमाडौं उपत्यकालगायत देशभरि नै डेंगु संक्रमण फैलिइरहेकाले समयमै सचेत रहन लामखुट्टे नियन्त्रण अभियानमा लाग्नुपर्ने डा. दाहाल बताउँछन् । उनका अनुसार लामखुट्टे धेरै भएको ठाउँमै संक्रमण फैलिने भएकाले लामखुट्टे नष्ट गर्नुबाहेक विकल्प छैन । पानीलाई जम्न नदिने, पानी जमेका भाँडाकुँडा, बोतल, टायर, गमला, खाल्टाखुल्टीलाई पुर्ने गर्नुपर्छ । साथै, लामखुट्टे देखिने ठाउँमा कीटनाशक ओषधि छर्किनुपर्छ ।