Skip This
निर्यात प्रोत्साहन गर्न १२ वर्षमा उद्योगीलाई सवा सात अर्ब अनुदान, तर बढेन निर्यात
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ११ शुक्रबार
  • Sunday, 16 June, 2024
पवन तिमिल्सिना काठमाडाैं
अजित अधिकारी काठमाडाैं
२o८१ जेठ ११ शुक्रबार o६:५६:oo
Read Time : > 6 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

निर्यात प्रोत्साहन गर्न १२ वर्षमा उद्योगीलाई सवा सात अर्ब अनुदान, तर बढेन निर्यात

राज्यबाट लिएको नगद अनुदान अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन, प्रविधि तथा क्षमताको विकास र विद्युतीय व्यापारको क्षेत्रमा खर्च गर्नुपर्ने प्रावधान, तर अनुदानको सदुपयोग नभएको भन्दै महालेखाले प्रत्येक वर्ष उठाउँछ प्रश्न

Read Time : > 6 मिनेट
अजित अधिकारी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ११ शुक्रबार o६:५६:oo
  • गत वर्ष ५० करोडभन्दा बढीको निर्यात गर्नेले अनुदान पाउन बाँकी
  •  कंक्रिट टायल निर्यातमा पनि नगद प्रोत्साहन माग

वैदेशिक व्यापारमा निर्यात बढाउन भन्दै सरकारले विभिन्न उद्योगीलाई १२ वर्षमा सात अर्ब २४ करोड ८७ लाख बाँडिसकेको छ । तर, निर्यात भने गुणात्मक रूपमा बढ्न सकेको छैन । विश्वबजारमा नेपाली वस्तुको पहुँच वृद्धिका लागि सहजीकरण गर्न सरकारले आव ०६७/६८ को बजेटमार्फत विभिन्न वस्तुमा अनुदान दिने कार्यक्रम ल्याएको हो ।

उद्योगले निर्यात गरेर प्राप्त गरेको डलर बैंक खातामा दाखिला भएको प्रमाणका आधारमा नगद प्रोत्साहन दिने नीति लिएकोमा पहिलो वर्ष ०६७/६८ मा कार्यविधि निर्माणमा ढिलाइ हुँदा अनुदान वितरण हुन सकेन । ०६८/६९ को निर्यात परिमाणका आधारमा ०६९/७० देखि मात्रै अनुदान वितरण सुरु भएको थियो । निर्यात हुने सबै वस्तुमा नभई सीमित स्वदेशी कच्चा पदार्थमा आधारित र तुलनात्मक रूपमा धेरै मूल्य अभिवृद्धि हुन सक्ने वस्तुको निर्यातमा मात्रै अनुदान दिँदै आएको छ । 

कतिपय उद्योगीले त तेस्रो देशमा निर्यातका लागि उद्योग स्थापना गरेबापत भन्सार शुल्क, मूल्य अभिवृद्धि कर र आयकरमा समेत छुट लिएर दोहोरो सुविधा उपभोग गरिरहेका छन् ।उद्योग विभागका अनुसार अनुदानयोग्य उद्योगले ०६८/६९ मा ७४ अर्ब नौ करोड रुपैयाँको वस्तु निर्यात गरेकामा पहिलो वर्ष ०६९/७० मा तीन करोड ३७ लाख नगद अनुदान पाएका थिए । त्यस्तै, ०६९/७० मा कुल ७६ अर्ब ९१ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात हुँदा उद्योगीले ०७०/७१ मा ४२ करोड ४५ लाख रुपैयाँ नगद अनुदान लिएका थिए । ‘कुनै एउटा आर्थिक वर्षमा भएको कुल निर्यातको विवरण प्रविष्ट भए पनि अर्को वर्ष मात्रै नगद दिने गरिएको छ,’ उद्योग विभागका निर्देशक अर्जुनसेन ओलीले भने ।

आव ०७०/७१ मा कुल ८९ अर्ब ६२ करोड रुपैयाँको निर्यात हँुदा पछिल्लो वर्ष राष्ट्र बैंकले विभिन्न उद्योगीको खातामा प्रोत्साहनको २५ करोड २६ लाख रुपैयाँ नगद खातामा पठाएको थियो । ०७०/७१ पछिका चार वर्ष निरन्तर निर्यात व्यापार खस्कियो । ०७१/७२ मा अघिल्लो वर्षको तुलनामा निर्यात परिमाण घटेर ८५ अर्ब १९ करोड रुपैयाँमा सीमित हुँदा उद्योगीले १९ करोड ९१ लाख रुपैयाँ लगे । त्यस्तै, ०७२/७३ मा ७० अर्ब २५ करोड रुपैयाँको निर्यात हुँदा प्रोत्साहनबापत राष्ट्र बैंकले उद्योगीको खातामा २८ करोड २४ लाख रुपैयाँ पठायो । 

०७३/७४ मा ७३ अर्ब तीन करोड रुपैयाँबराबरको निर्यात हुँदा उद्योगीलाई २२ करोड ५६ लाख र ०७४/७५ मा ८१ अर्ब ३५ करोडको निर्यात हुँदा उद्योगीको खातामा ३५ करोड ५४ लाख प्रोत्साहन रकम पठाइएको थियो । आव ०७५/७६ मा निर्यात व्यापारमा केही सुधार भई ९७ अर्ब १० करोड रुपैयाँको वस्तु तथा सेवा निकासी भयो, त्यसबापत विभिन्न उद्योगीलाई ८५ करोड ८३ लाख अनुदान वितरण गरिएको थियो । 

त्यस्तै, ९७ अर्ब ७० करोड रुपैयाँको निर्यात भएको आव ०७६/७७ को अनुदानबापत उद्योगीहरूले ०७७/७८ मा एक अर्ब २८ करोड ८६ लाख पाए । उक्त आवमा अघिल्लो चार वर्षको शोधभर्नासमेत बाँकी रहेका र सो आवमा भुक्तानी गरेको हुँदा ठूलो रकम खर्च भएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, ०७७/७८ मा निर्यातमा सुधार भई एक खर्ब ४१ अर्ब पुग्यो । जसबापत ०७८/७९ मा निर्यातकर्ता उद्योगीलाई एक अर्ब ४२ करोड ८५ लाख भुक्तानी गरिएको थियो । ०७८/७९ मा दुई खर्बको निर्यात हुँदा गत आव ०७९/८० मा अनुदानबापत एक अर्ब निकासा भएको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, ०७९/८० मा एक खर्ब ७५ अर्ब रुपैयाँको निर्यात हुँदा उद्योगीलाई चालू आव ०८०/८१ को विनियोजित बजेटबाट ९० करोड रुपैयाँ भुक्तानी भइसकेको छ भने तीन अर्ब ५० करोड अपुग देखिएको उद्योग विभागले जनाएको छ ।

उद्योगीले आर्थिक वर्ष सकिएपछि असोज मसान्तसम्म उद्योग विभागमा निर्यात प्रमाणीकरण गर्ने गरेका छन् । सो प्रमाणीकरण भएको विवरण विभागले राष्ट्र बैंकमा पठाउने गरेको छ । राष्ट्र बैंकमा विवरण पुगेका उद्योगीले पुस मसान्तसम्म नगद प्रोत्साहन पाउन निवेदन दिनुपर्ने व्यवस्था छ । उद्योग विभागबाट नगद पाउन प्रमाणीकरण भएका उद्योगीले निवेदन दिएपछि राष्ट्र बैंकले सम्बन्धित उद्योगको बैंक खातामा रकम जम्मा गरिदिने गरेको छ ।
राष्ट्र बैंकले ‘निर्यातमा नगद अनुदान शोधभर्ना’ शीर्षकमा खाता खोलेको छ । उक्त खातामा उद्योग विभागको समेत सिफारिसका आधारमा अर्थ मन्त्रालयले पैसा पठाइदिन्छ । सोही खाताबाट उद्योगको खातामा नगद प्रोत्साहनबापतको रकम पठाइन्छ ।

उद्योगीलाई नगद अनुदान दिएर निर्यातमा खासै सुधार नभएको भन्दै महालेखापरीक्षकको कार्यालयले पछिल्ला प्रतिवेदनमा निरन्तर खबरदारी गरिरहेको छ । त्यस्तै, निर्यातबापत पाएको रकम अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन, प्रविधि तथा क्षमताको विकास र विद्युतीय व्यापारको क्षेत्रमा खर्च गर्नुपर्न प्रावधान भए पनि तोकिएको क्षेत्रमा लगानी नभएको औँल्याएको छ ।

कुन उत्पादनले कति अनुदान पाउँछन् ?
पाँच प्रतिशत अनुदान पाउने वस्तुु : शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित औद्योगिक उत्पादनहरू चिया, कफी, हस्तकला, छाला र छालाजन्य उत्पादन, हाते कागज, यर्सागुम्बासहितका प्रशोधित वा अप्रशोधित जडीबुटी, सारयुक्त तेल, पत्थर, अल्लोबाट उत्पादित सामान, पानी, प्रशोधित बेसार, ताजा तरकारी, फूल, मह, अलैँची, अदुवा, सुठो, स्लाइडिङ, दुधजन्य पदार्थ, फलफूल र अम्रिसो । यी वस्तुुको उत्पादनमा ५० प्रतिशत मूल्य अभिवृद्धि भएको अवस्थामा निर्यात भएको कुल परिमाणको पाँच प्रतिशत प्रोत्साहन अनुदान दिने व्यवस्था छ । तर, ८० प्रतिशतभन्दा बढी मूल्य अभिवृद्धि गरे थप एक प्रतिशत नगद अनुदान थपिनेछ । अघिल्लो वर्षको भन्दा २० प्रतिशत बढी निर्यात गरेमा बढी निर्यात गरेको मूल्यको एक प्रतिशतबराबर हुन आउने रकम नगद अनुदान दिने व्यवस्था छ ।

चार प्रतिशत अनुदान पाउने व्यवस्था : नेपाली कपडा, तयारी पोसाक, गलैँचा र ऊनका सामान, पस्मिना÷क्यासमेयर, जुट तथा जुटबाट बनेका सामान, सुन–चाँदीका गरगहना, स्वदेशी अर्धप्रशोधित छाला, औषधि, फेल्ट, पोलिस्टर यार्न, तामाका सामान, जुत्ता÷चप्पल, क्लिंकर, सिमेन्ट, स्टिल, कत्था, रोजिन तथा तार्पेन र प्लाइउड । यी वस्तुुमा ३० प्रतिशत मूल्य अभिवृद्धि भएको अवस्थामा निर्यात भएको कुल परिमाणको चार प्रतिशत प्रोत्साहन अनुदान दिने व्यवस्था छ । तर, ७० प्रतिशतभन्दा बढी मूल्य अभिवृद्धि गरेमा थप एक प्रतिशत नगद अनुदान बढाइने । अघिल्लो वर्षको भन्दा २० प्रतिशत बढी निर्यात गरेमा बढी निर्यात गरेको मूल्यको एक प्रतिशतबराबर हुन आउने रकम नगद अनुदान दिइने ।

गत वर्ष ५० करोडभन्दा बढीको  निर्यात गर्नेले अनुदान पाउन बाँकी
अनुदानको आसमा क्लिंकर, सिमेन्ट र डन्डी निर्यात गर्ने एउटै उद्योगीले ५० करोड रुपैयाँभन्दा बढीको वस्तुु निर्यात गरेका छन् । उनीहरूले आठ प्रतिशतका दरले प्रोत्साहन अनुदान पाउनुपर्ने दाबीसहितको विवरण उद्योग विभाग र राष्ट्र बैंकबाट प्रमाणीकरण गराइसकेका छन् । जसकारण यस वर्ष निकासी अनुदानबापत चार अर्ब ४० करोड रुपैयाँ खर्च हुने हिसाब निस्किएको छ ।

तर, कार्यविधिमा ५० करोड रुपैयाँभन्दा बढीको निर्यात गर्नेलाई आठ प्रतिशतसम्म अनुदान दिने भनी गरिएको व्यवस्था अस्पष्ट भएकाले अध्ययन भइरहेको उद्योग विभागका निर्देशक ओलीले बताए । ‘आठ प्रतिशतसम्म भनेको ठ्याक्कै कति हो भन्ने कुरा खुल्न सकेन । त्यसैले एउटा समितिबाट अध्ययन भइरहेको छ,’ उनले भने ।

उद्योग मन्त्रालयले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाको संयोजकत्वमा एक महिनाअघि अध्ययन टोली बनाएको छ । संयोजक राणाले भने कार्यविधिमा केही सुधार गर्नुपर्ने भए राय दिने गरी समिति बनेको बताए । ‘कुनै विशेष व्यवस्थाबारे निर्णय हुने गरी प्रतिवेदन दिने होइन । कहीँकतै कमजोरी छ भने हेरेर सुझाव दिने भन्ने छ,’ उनले भने ।

कंक्रिट टायल निर्यातमा पनि नगद प्रोत्साहन माग
नेपालमा उत्पादित कंक्रिटका टायल निर्यातमा पनि सरकारले नगद प्रोत्साहन उपलब्ध गराउनुपर्ने उद्योगीको माग छ । कंक्रिट टायल निर्यातलाई प्रोत्साहन गर्न सरकारसँग निरन्तर अनुरोध गरिरहे पनि कुनै सुनुवाइ नभएको एसियन कंक्रिटोका उपाध्यक्ष (सेल्स एन्ड मार्केटिङ) श्यामल झाले बताए । कंक्रिट टायल सडक फुटपाथ, भित्री सहरका सडक, सार्वजनिक ठाउँहरूमा प्रयोग गरिन्छ ।

नेपालबाट सिमेन्ट, धागो, जुत्तालगायत वस्तुहरूजस्तै कंक्रिट टायल पनि भारत निर्यात हुँदै आएको छ । तर, सरकारले कंक्रिट टायल निर्यातमा नगद प्रोत्साहन उपलब्ध नगराएको उद्योगीको गुनासो छ । ‘कंक्रिट टायलमा ९९ प्रतिशत कच्चापदार्थ स्वदेशकै प्रयोग हुन्छ, डेढ सयदेखि दुई सय प्रतिशतसम्म भ्यालु एड हुने गर्छ,’ झाले भने, ‘सरकारले ढुंगा, बालुवा र गिटी निर्यातको कुरा बजेटमै समेटिरहेको छ, तर तिनै वस्तुहरू प्रयोग गरेर बनाइएका टायल निर्यातलाई प्रोत्साहन गर्न हिचकिचाइरहेको छ ।’ 

कच्चा पदार्थ आयात गरेर उत्पादन गरी निर्यात गर्ने वस्तुमा नगद अनुदान दिने, तर स्वदेशी कच्चा पदार्थमा आधारित वस्तु निर्यातलाई प्राथमिकतामा नराखेको उद्योगीहरूको गुनासो छ । नगद प्रोत्साहनको माग गर्दै आफूहरूले तत्कालीन उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूदेखि अहिलेसम्मका मन्त्रीलाई गुहारिरहेको झाको भनाइ छ । तीन वर्षअघि एसियन कंक्रिटो उद्योग खुलेयता सात–आठ उद्योग खुलिसकेको बताइएको छ । उनले भने, ‘यदि निर्यातमा अनुदान पाए थप उद्योग खुल्लान्, भारतको युपी र बिहारमा निर्यातका लागि प्रतिस्पर्धात्मक क्षमता बढाउन पनि प्रोत्साहन आवश्यक छ ।’

अनुदान दिएर ठूला बजारमा पहुँच बढेन
पारस खरेल, वाणिज्यविज्ञ

निर्यातमा नगद अनुदान दिएर मात्रै प्रवद्र्धन हुने होइन । निर्यात अनुदान मात्रै दिने, तर प्रतिस्पर्धात्मक क्षमता बढ्न नसक्दा प्रभाव कम देखिएको छ । हामीले भारत, चीन, युरोपको बजारमा पाइरहेको पहुँचको पूर्ण प्रयोग गर्न नसक्दा पनि निर्यात बढ्न सकेको छैन । सन् २०१७ मा विश्व बैंकले ०११ देखि ०१४ सम्मको निर्यातमा आधारित भएर अध्ययन गरेको थियो । निर्यात अनुदान दिए पनि यसले निर्यातमा खासै फाइदा पुर्‍याउन नसकेको अध्ययनले देखाएको छ ।

निर्यात अनुदानको सुरुका वर्ष भएर हो कि भन्ने अनुमान पनि गरिएको थियो । त्यस्तै, त्यतिवेला भारतमा हुने निर्यातलाई अनुदान दिइएको थिएन । त्यसले पनि प्रभाव पारेको हो कि भन्ने प्रतिवेदनमा उल्लेख थियो । निर्यात अनुदानको ठूलो हिस्सा सीमित उत्पादनले वा केही ठूला निर्यातकर्ताले मात्रै लिएको हो कि भन्ने आशंका छ । निर्यात अनुदान नदिँदा र दिएपछि कस्तो प्रभाव पर्‍यो भनेर अध्ययन गर्नुपर्छ । निर्यात अनुदान प्रक्रिया सजिलो नभएको गुनासो पनि आउने गरेका छन् । जसले कागज प्रक्रिया राम्रोसँग पूरा गर्न सकेका छन् उसले मात्रै अनुदान लिइरहेको गुनासो पनि सुनिन्छ । सरकारले अनुदानको प्रभावकारिताको मूल्यांकन गर्नुपर्छ । कुन वस्तु कतिले पाए भन्ने तथ्यांक चाहिन्छ । 

निर्यातमा प्रोत्साहन गर्ने बजेट अपुग भयो
राजेश अग्रवाल, अध्यक्ष, नेपाल उद्योग परिसंघ (सिएनआई)

सरकारले निर्यातयोग्य वस्तु उत्पादनलाई चाहिने कच्चा पदार्थमा कर लगाएको हुन्छ । यसलाई पूर्ति गर्न निर्यात अनुदान दिने प्रचलन आएको हो । निर्यात अनुदानसम्बन्धी कार्यविधिले वर्ष सकिएपछि अनुदान दाबी गर्न पाउने व्यवस्था गरेको छ । यसलाई तीन–तीन महिनामा गरे हुने व्यवस्था हुनुपर्‍यो । निर्यातकर्तालाई दिइने बजेट पनि पर्याप्त छैन । त्यस्तै, वस्तुपिच्छे अनुदानमा विभेद गरिएको छ, यो हट्नुपर्छ । 

यस वर्ष चार अर्ब  ४० करोड चाहिने
चालू आव ०८०/८१ मा चैत मसान्तसम्म ९० करोड रुपैयाँ वितरण भइसकेको विभागले जनाएको छ । गत आवमा निर्यात भएको एक खर्ब ५७ अर्ब रुपैयाँबराबरको वस्तुका लागि अहिले निर्यात प्रोत्साहन रकम निकासा भइरहेको उद्योग विभागका निर्देशक अर्जुनसेन ओलीले जानकारी दिए । ‘थोरै परिमाणमा निर्यात गर्ने उद्योगहरूले पैसा पाइसकेका छन्,’ उनले भने, ‘अलि ठूला उद्योग र धेरै रकम पाउनुपर्ने निर्यातकर्ताको हकमा थप रकम माग्ने काम भएको छ ।’

गत आवमा निर्यात गरेबापत अनुदान लिनका लागि चार सय ६२ उद्योग योग्य रहेको प्रमाणीकरण भएको ओलीले जानकारी दिए । ‘गत आवमा मुलुकबाट विभिन्न वस्तु तथा सेवा निर्यात गर्नेमध्ये चार सय ६२ उद्योग अनुदानका लागि योग्य रहेको भनी प्रमाणित भएका छन् । उनीहरूलाई भुक्तानी दिने प्रक्रिया पनि थालिएको छ,’ उनले भने । 

चार सय ६२ उद्योगलाई चार अर्ब ४० करोड रुपैयाँ नगद अनुदानबापत दिनुपर्नेछ । वितरण भइसकेको ९० करोडबाहेक राष्ट्र बैंक र उद्योग मन्त्रालयले नगद अनुदानका लागि अपुग भनेर एक अर्ब १० करोड अर्थ मन्त्रालयलाई निकासाका लागि पत्राचार गरिसकेका छन् । राष्ट्र बैंकले यसबाहेक थप दुई अर्ब ४० करोड चाहिने भनेर उद्योगमा पत्राचार गरिसकेको विभागका निर्देशक ओलीले जानकारी दिए । राष्ट्र बैंकको पत्रपछि अर्थ मन्त्रालयमा थप रकम निकासका लागि पत्राचार गर्न लागेको उनले बताए ।

गत आर्थिक वर्षमा पाल्पा, अर्घाखाँची र सम्राट सिमेन्टले भारततर्फ ठूलो परिमाणमा सिमेन्ट र क्लिंकर निर्यात गरेका कारण उनीहरूले पाउनुपर्ने अनुदानबापतको रकम ठूलो हुन गई यस वर्ष तुलनात्मक रूपमा धेरै रकम दिनुपर्ने देखिएको हो । सिमेन्ट, क्लिंकर, स्टिललगायतले आठ प्रतिशतसम्म निर्यात अनुदान पाउने व्यवस्था छ ।

ad
ad
ad
ad