
नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघले जारी गरेको विज्ञप्ति भ्रमपूर्ण रहेको भन्दै सरोकारवालाहरूले आपत्ति जनाएका छन्।
सुर्तीजन्य पदार्थ नियन्त्रण र रोकथामबारे काम गर्दै आइरहेका एक्सन नेपाल नामक संस्थाले बिहीबार पत्रकार भेटघाट आयोजना तथा प्रेस विज्ञप्ति जारी गर्दै संघले जारी गरेको विज्ञप्तिको विरोध गरेको हो।
संघले ४ जेठमा सुर्तीजन्य पदार्थमा लाग्ने करको प्रतिशत र विधाबारे सरकारलाई नै टार्ने गरी विज्ञप्ति जारी गरेको थियो। तर, सो विज्ञप्तिमा आपत्ति जनाउँदै एक्सन नेपालले सुर्तीजन्य पदार्थका उद्योगीहरूले संसारभरि नै भ्रामक सूचना सम्प्रेषण गरेको, वैज्ञानिक विधिअनुसार तथ्यहरूको पालना नगरेको, नीति निर्माण तह र त्यसमा कार्यरत कर्मचारीलाई दबाब तथा प्रलोभनमा पारेको आरोप लगाएको छ।
संस्थामा अध्यक्ष आनन्दबहादुर चन्दले सुर्तीजन्य पदार्थबाट लाग्ने रोगहरू जनस्वास्थ्यको प्रमुख चिन्ताको रूपमा देखिएकोले यसमा गम्भीर हुन जरुरी रहेको बताउँदै संघको विज्ञप्तिप्रति आपत्ति जनाए ।
जनस्वास्थ्यमा प्रत्यक्ष असर पार्ने त्यस्ता उद्योगहरूले आफूअनुकूल कानुन र परिस्थिति गर्न गर्ने प्रचलन नै रहेको संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। सुर्तीजन्य पदार्थबारे वैज्ञानिक विधि, अनुसन्धान र संसारभर प्रचलनमा आएका अभ्यासहरूको परिपालना गर्न एक्सन नेपालले दबाब दिँदै आइरहेको छ।
संघले कच्चा पदार्थ, खुद्रा मुल्यलगायतमा पनि कर तिरेको विज्ञप्तिबाट उल्लखे गरेको थियो। यसबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले संघले जारी गरेको विज्ञप्ति सुर्तीजन्य पदार्थका व्यापारीहरूको पक्षमा रहेको बताए।
‘उत्पादन भइसकेका वस्तुको कर जोड्नुपर्नेमा कच्चा पदार्थको पनि जोडेर उम्कन खोजेको देखियो,’ प्रवक्ता डा. बुढाथोकीले भने, ‘सरकारले घरेलु उद्योगलाई प्रोत्साहन गर्नुपर्छ भनेको राम्रो उद्योगलाई हो, तर सुर्तीजन्य पदार्थको उद्योगलाई छुट दिनुपर्ने अवस्था छैन, यसले नेपालीलाई रोगी बनाइरहेको छ, अस्पतालमा कडा रोगका बिरामीको चाप बढ्दो छ, यस्तो उद्योग सकिन्छ भने बन्द नै गर्ने हो।’ उनका अनुसार सरकारले सुर्तीजन्य उद्योगमाथि ७५ प्रतिशत कर लगाउन सक्ने प्रावधानसमेत छ।
आन्तरिक राजस्व विभागको तथ्यांकअनुसार गत वर्ष नेपालमा ११ अर्ब २६ करोड ६६ लाख ६६ हजार ६६७ खिल्ली चुरोट नेपालमा उत्पादन भएको छ। यसपत प्रतिखिल्ली २.३२ रुपैयाँका दरले राजस्व संकलन भएको छ ।
तर, नेपालमा करको दर निकै कम भएका कारण यहाँ चुरोटको मूल्य विश्वकै तुलनामा कम छ। त्यसकारण करलाई वृद्धि गरेर प्रतिखिल्ली औसतमा चार रुपैयाँ कर उठाउनुपर्ने विज्ञ तथा संघसंस्थाहरूले सुझाव दिँदै आइरहेका छन्। यसमध्ये सरकारले प्रतिखिल्ली ०.६ रुपैयाँ स्वास्थ्य जोखिम कर उठाउँछ।
पछिल्लोपटक स्वास्थ्य मन्त्रालयले प्रतिखिल्ली तीन रुपैयाँ स्वास्थ्य जोखिम कर उठाउनुपर्ने प्रस्ताव गरेको छ। तर, यो कार्यान्वयनमा छैन । यस्तै, नेपालमा चुरोटमा कर वृद्धि गर्दा विदेशी चुरोटको आयात बढ्ने भनेर हल्ला फैलाउने गरिएको छ।
तर, यो तथ्यहीन विषय भएको संस्थाद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। हाल नेपालमा सर्वाधिक बिक्री हुने चुरोटको मूल्य ३२० पर्दछ भने भारतमा त्यसको मुख्य नेपाली ५४४ रुपैयाँ पर्छ। भारतमा नेपालमा भन्दा महँगो भएकोले नेपालमा कर बढाउँदा भारतबाट अवैध रूपमा चुरोट नभित्रिने विज्ञप्तिमा दाबी गरिएको छ।
एक्सन नेपालले सुर्तीजन्य पदार्थमा लाग्ने करको दर सरकारलाई प्रस्ताव पनि गरेको छ। हाल विश्व स्वास्थ्य संगठनले सिफारिस गरेकोभन्दा नेपालमा निकै कम कर लगाइएको छ। यदि विश्व स्वास्थ्य संगठनले सिफारिस गरेअनुसारको कर वृद्धि गर्ने हो भने नेपालले वार्षिक ७८ अर्ब ८७ करोड राजस्व संकलन गर्न सक्छ। सुर्तीजन्य पदार्थको सेवनबाट नेपालमा वार्षिक ३७ हजारभन्दा बढीको मृत्यु हुने गरेको छ।