Skip This
लागुऔषध कारोबारीविरुद्ध प्रहरी आक्रामक, दुई सातामा तीनजनालाई गोली हानी पक्राउ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Saturday, 27 July, 2024
नवराज मैनाली काठमाडाैं
२o८१ जेठ ३ बिहीबार o६:o५:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

लागुऔषध कारोबारीविरुद्ध प्रहरी आक्रामक, दुई सातामा तीनजनालाई गोली हानी पक्राउ

Read Time : > 1 मिनेट
नवराज मैनाली, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o६:o५:oo

लागुऔषध कारोबारीविरुद्ध प्रहरीले आक्रामक नीति बनाएको छ । पछिल्लो दुई सातामा तीनजनालाई गोली हानी नियन्त्रणमा लिएको छ । 

लागुऔषध नियन्त्रण ब्युरोले कारोबारका मुख्य डिलरहरूविरुद्धको अप्रेसनलाई आक्रामक बनाएको हो । जसअन्तर्गत मंगलबार मोरङमा एक कारोबारीलाई गोली हानेर नियन्त्रणमा लिएको छ । ब्युरोबाट खटिएको टोलीले भारतको बिहार, किसनगन्ज घर भएका ४८ वर्षीय भागीरथ हरिजनमाथि मोरङको रतुमाई नगरपालिका– ६ कादुपाडामा गोली प्रहार गरेको हो । 

लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख एसएसपी गोविन्दप्रसाद थपलिया भन्छन्–
लागुऔषध कारोबारविरुद्धको कारबाही अभियानलाई तीव्रता दिएका छौँ । तीनै घटनामा गोली प्रहार गर्नैपर्ने अवस्था आएको थियो । लागुऔषधले समाजमा ठूलो क्षति गरेको छ, त्यही कारण यसविरुद्ध प्रहरीले सक्रियता बढाएको हो ।

पक्राउ गर्न खोज्ने क्रममा प्रहरीलाई नै लछारेर मोटरसाइकलमा भाग्न खोजेपछि गोली चलाउनुपरेको ब्युरोको भनाइ छ । प्रहरीले दुई राउन्ड गोली चलाएकोमा हरिजनको दाहिने खुट्टामा लागेको छ । उनको साथबाट एक सय ५८ ग्राम खैरो हेरोइन बरामद भएको छ । मोरङ क्षेत्रमा उनले लागुऔषध कारोबारको सञ्जाल विस्तार गर्दै आएको सूचनाका आधारमा प्रहरी टोली पक्राउ गर्न गएको थियो । 

त्यस्तै, गत २७ वैशाखमा ब्युरोको टोलीले बाँकेमा एक कारोबारीलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको थियो । कोहलपुर नगरपालिका– १२ चप्परगौडी घर भएका २६ वर्षीय सुशील परियारलाई जानकी गाउँपालिका– ६ गनापुरमा पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको थियो । भाग्न खोजेपछि गोली चलाउनुपरेको प्रहरीको भनाइ छ । 

परियार र स्थानीय २७ वर्षीय शरणबहादुर कार्कीबाट एक सय १४ ग्राम ब्राउनसुगरसमेत बरामद भएको थियो । उनीहरू लामो समयदेखि लागुऔषध कारोबारमा संलग्न रहेको सूचनाका आधारमा ब्युरोको मुख्यालयबाट खटिएको टोली त्यहाँ पुगेको थियो । 

गत १७ वैशाखमा पनि ब्युरोको टोलीले झापामा गोली प्रहार गरेर सरिफुल आलमलाई पक्राउ गरेको थियो । झापा गाउँपालिका– ३ बाट उनलाई नियन्त्रणमा लिइएको थियो । घरभित्रैबाट पक्राउ गर्न खोज्दा खुकुरी र दाउले आक्रमण गरेपछि प्रहरीले उनको खुट्टामा गोली हानेको थियो । उनको साथबाट एक सय १६ ग्राम खैरो हेरोइन बरामद भएको थियो । उनी सो क्षेत्रमा मुख्य लागुऔषध कारोबारी भएको प्रहरी दाबी छ । 

ब्युरोका एसएसपी गोविन्दप्रसाद थपलियाले लागुऔषधका मुख्य कारोबारीविरुद्धको कारबाहीमा प्रहरीले तीव्रता दिएको बताए । पछिल्ला तीनै घटनामा गोली चलाउनैपर्ने अवस्था रहेको उनको भनाइ छ । ‘मोरङमा त हाम्रा असइ घाइतेसमेत भएका छन्,’ उनले भने, ‘गोली लागेर घाइते भएका सबै पेसेवेर कारोबारी हुन् ।’ 

ब्युरोका एक अधिकारीले खुला सीमाका कारण लागुऔषध कारोबार नियन्त्रणमा समस्या भएपछि प्रहरी आक्रामक बनेको बताए । ती अधिकारी भन्छन्, ‘लागुऔषध कारोबारीमाथि निर्मम हुने रणनीति कार्यान्वयनमा लगिएको हो ।’