१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नयाँ पत्रिका महोत्तरी
२o८१ जेठ ७ सोमबार o८:३५:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

जलेश्वरका मेयर, उपमेयर, वडाध्यक्षसहित १२ विरुद्ध भ्रष्टाचार मुद्दा 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, महोत्तरी
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार o८:३५:oo

गुणस्तरहीन ढलान गरी पाँच लाख ८४ हजार भ्रष्टाचार गरेको अख्तियारको ठहर

गुणस्तरहीन ढलान गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर नगरपालिकाका बहालवाला मेयर, उपमेयर र तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

नगरपालिकाको वडा नम्बर १ स्थित हाटबजार क्षेत्रमा ढलानमा गुणस्तरहीन कार्य गरी पाँच लाख ८४ हजार ६३७ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । नगरपालिकाबाट आर्थिक वर्ष ०७९÷८० मा सञ्चालित वरुणपोखरीनजिक रहेको बजार क्षेत्रभित्र पिपिसी ढलान कार्यमा भ्रष्टाचार भएको अख्तियारको ठहर छ । 

भ्रष्टाचारमा संलग्न भएको आरोपमा अख्तियारले नगरपालिकाका मेयर सुरेश साह सोनार, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल र अधिकृत (छैटौँ) धीरेन्द्र झाविरुद्ध मुद्दा दायर गरेको छ । पिपिसी ढलान योजनाको वास्तविक भए–गरेको भन्दा बढी कार्य गरेको भनी झुटा नापी किताब, कार्यसम्पन्न प्रतिवेदन, उपभोक्ताको भुक्तानी बिल र अनुगमन प्रतिवेदन चेकजाँच नगरी भुक्तानीका लागि टिप्पणी पेस तथा सदर गरी त्यसका आधारमा पाँच लाख ८४ हजार ६३७ रुपैयाँ भुक्तानी दिएको आरोप अख्तियारको छ । त्यही रकमलाई संयुक्त बिगो कायम गरी अख्तियारले उनीहरूविरुद्ध मुद्दा दायर गरेको छ ।

त्यस्तै, नगरपालिकाका वरिष्ठ इन्जिनियर पवनकुमार झा, इन्जिनियर राकेशकुमार चौधरी र सबइन्जिनियर दीपेशकुमार साहलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ । वास्तविक भएभन्दा बढी कार्य गरेको भनी झुटा नापी किताब, कार्यसम्पन्न प्रतिवेदन र उपभोक्ताको बिल तयार एवं भुक्तानी गर्न सिफारिस गरी भ्रष्टाचार गरेको आरोप उनीहरूविरुद्ध अख्तियारले लगाएका छ । उनीहरूविरुद्ध पनि संयुक्त रूपमा पाँच लाख ८४ हजार ६३७ रुपैयाँ बिगो मागदाबी अख्तियारले गरेको छ । 

उपमेयर रौशन खातुन, कार्यपालिका सदस्य सोगरा खातुन र वडा नम्बर १ का वडाध्यक्ष अनिलकुमार झाविरुद्ध योजनाको कार्य सन्तोषजक भएको उल्लेख गरी भए–गरेको विषय लुकाएर नभएको काम देखाई गलत प्रतिवेदन दिएर उपभोक्ता समितिलाई भुक्तानी गर्न सिफारिस गरेको आरोप उनीहरूमाथि छ । उनीहरूविरुद्ध पनि संयुक्त बिगो कायम गरिएको छ । उपभोक्ता समिति अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष सन्तोषी देवीविरुद्ध ढलान योजनाको वास्तविक भएभन्दा बढी कार्य गरेको भनी मूल्यांकन र झुटा नापी किताब, कार्यसम्पन्न प्रतिवेदन र उपभोक्ता बिल तयार गरी भुक्तानी लिएको आरोप छ । 

यी हुन् भ्रष्टाचार मुद्दा लागेका जनप्रतिनिधि, प्राविधिक कर्मचारी र उपभोक्ता समितिका पदाधिकारी

  • सुरेश साह सोनार, मेयर
  • रौशन खातुन, उपमेयर
  • अनिलकुमार झा, वडाध्यक्ष
  • सोगरा खातुन, कार्यपालिका सदस्य
  • मित्रलाल ढकाल, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत
  • धीरेन्द्र झा, अधिकृत
  • पवनकुमार झा, वरिष्ठ इन्जिनियर
  • राकेशकुमार चौधरी, इन्जिनियर 
  • दीपेशकुमार साह, सबइन्जिनियर
  • राकेश साह, अध्यक्ष, उपभोक्ता समिति
  • सिकेन्द्र चौधरी, सचिव
  • सन्तोषी देवी, कोषाध्यक्ष

जितपुर सिमराका वडाध्यक्ष कार्कीलाई डेढ वर्ष कैद
विशेष अदालतले जितपुर सिमरा उपमहानगरपालिकाका वडाध्यक्षलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । वडा नम्बर ३ का अध्यक्ष ताराबहादुर कार्की क्षेत्रीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै विशेषले सजाय सुनाएको हो ।

गत पुसमा दायर मुद्दामा बिहीबार विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्य तेजनारायणसिंह राईको इजलासले यस्तो फैसला गरेको हो । कार्कीले घर बाटो सिफारिसका लागि स्थानीय राजन उप्रेतीसँग पाँच लाख रकम लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडाको टोलीले उनलाई जीतपुर बजारस्थित जैसवाल होटलबाट पक्राउ गरेको थियो ।

वडाध्यक्ष कार्कीलाई विशेषले एक वर्ष ६ महिना कैद सजाय तोकेको छ । घुस लिएको रकम पाँच लाख रुपैयाँ उनले जरिवानास्वरूप बुझाउनुपर्नेछ । वडाध्यक्ष कार्कीले घरबाटो सिफारिस गरिदिने भन्दै घुस मागेको थिए । उनलाई नियन्त्रणमा लिई अख्तियारले १६ पुस ०८० मा विशेषमा मुद्दा दायर गरेको थियो ।

ad
ad