१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
२o८१ जेठ ७ सोमबार o७:२२:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

धावनमार्ग विस्तारपछि मनाङको हुम्दे विमानस्थल बन्द

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार o७:२२:oo

नागरिक उड्डयन प्राधिकरणले मनाङमा नौ करोड खर्च गरेर धुले धावनमार्गलाई विस्तार गरी कालोपत्रे गरेको विमानस्थल प्रयोगविहीन बनेको छ । सबै मौसममा नियमित उडान गर्न स्तरोन्नति गरिए पनि ग्राभेल हुँदा सञ्चालनमा आएको मनाङको हुम्दे विमानस्थल धावनमार्ग कालोपत्रे गरेपछि सञ्चालनमा आएको छैन । ६ सय मिटरको धावनमार्ग नौ सय मिटर बनाइएको छ ।

करोडौँ रुपैयाँ खर्चेर नौ वर्षअघि नै स्तरोन्नति र कालोपत्रे गरी बाह्रै महिना जहाज अवतरण गर्न सकिने हुम्दे विमानस्थलमा पछिल्लो समय व्यावसायिक हिसाबले कुनै पनि जहाज अवतरण नभएको स्थानीय विष्णु गुरुङ बताउँछिन् । ‘सडक सञ्जालले जोडिएको भन्दै कतिपय वायु सेवा कम्पनीले उडान नभरेकाले आवतजावतमा स्थानीयले सास्ती भोग्नुपरेको छ,’ उनले भनिन् । 

कालोपत्रे भएपछि गत मंसिरमा तत्कालीन पर्यटनमन्त्री तथा प्राधिकरणका उच्च अधिकारी चढेको जहाज धावनमार्गमा परीक्षण गरिएको थियो । कालोपत्रे भएको दुई वर्षपछि तारा एयरको डोर्नियर जहाजले परीक्षण उडान गरे पनि त्यसयता कुनै पनि जहाज मनाङ आएको छैन । चार वर्षअगाडि एउटा ट्विनेटर जहाजले चार्टर उडान भरेको थियो । पछिल्लो समय २४ पुस ०७८ मा जहाज उडाउने तयारी गरिए पनि सफल भएको थिएन । मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले ‘हुम्दे हवाई मैदान नेपालकै सुन्दरमध्ये एकमा पर्ने बताए । ‘यति राम्रो र सुन्दर ठाउँ भए पनि जहाज नआएको एक दशक भयो,’ उनले भने ।

०७० देखि हुम्दे विमानस्थल बन्द थियो । निगमले जहाज परीक्षण गरेपछि हरेक महिना विमान भर्ना सकिने जनाएको थियो । त्यसयता वायुसेवा निगमको जहाज मनाङ पुगेकै छैन । कालोपत्रे गर्नुअघि वायुसेवा निगमले सातामा दुईपटक पोखरा–मनाङ र मनाङ–पोखरा नियमित उडान भरेको थियो । विमानस्थल ३३३० मिटर उचाइमा अवस्थित छ । पोखरा–मनाङ वा मनाङ–पोखरा हुँदा २५ मिनेट लाग्छ । हुम्देमा ०३९ असोजबाट उडान सुरु गरिएको थियो ।

पक्की धावनमार्ग बनेको सात वर्षपछि २७ भदौ ०७६ मा हिमाली जिल्ला मनाङमा जहाज पुग्यो । त्यसयता मनाङमा जहाज अवतरण भएको छैन । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार देशभर कालोपत्रे भएर सञ्चालनमा आउन नसकेका विमानस्थल नौवटा छन् । जसमा बागलुङ विमानस्थल, रुकुमको चौरजहारी, खोटाङको लामीडाँडा, डोल्पाको मसिनेचौर, कालीकोटको सुनथरालीलगायत छन् । सडक यातायातको पहुँच, छोटो धावनमार्ग, साना जहाजको कमी र महँगो हवाई भाडाका कारण विमानस्थल उपयोगमा आउन नसकेको बताइन्छ ।

ad
ad