युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बिहीबार खेलकुदमा रहेका विसंगतिबारे गुनासो पोखेका छन् । बैठकमा सांसदहरूको प्रश्नको उत्तर दिँदै उनले खेलकुदका विवाद र झमेला सीधै संसदीय समितिमै पठाउने अवस्था रहेको प्रतिक्रिया दिए ।
‘खेलकुदमा अहिले पनि पाँच विकास क्षेत्रको प्रणाली रहेछ । मन्त्रालयले नीतिगत पक्ष उठाउँदा संघको विवाद आउँछ । संघको विवाद संसदीय समितिमै पठाउँजस्तो लाग्छ,’ उनले भने, ‘यति कम बजेटमा मन्त्रालय चलाउनुपरेको छ । वडासदस्यदेखि प्रदेशसम्मका जनप्रतिनिधि योजना लिएर आउँछन् । वस्तुस्थिति यस्तो छ कि देशको बजेटभन्दा ठूलो माग खेलकुद पूर्वाधारको छ ।’ खेलकुद मन्त्रालयको वार्षिक बजेटले लुँडो र बुद्धिचाल खेल मात्र आयोजना गर्न सकिने उनले बताए ।
‘खेलकुद मन्त्रालयको बजेटले साँच्चिकै काम गर्न सक्ने भनेको लुँडो र बुद्धिचालमा मात्र हो । अरू त देखाउने मात्रै हो । यसकारण समयअनुसार खेलकुद विकास हुन नसकेको हो ।’ मन्त्री श्रेष्ठसँगै संसदीय समिति बैठकमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङ र अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङ उपस्थित थिए ।
संसदीय समितिमा खेलकुुदमन्त्री श्रेष्ठले भने–खेलकुद मन्त्रालयमा हुने बजेटले लुँडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ । देशभरका जनप्रतिनिधि खेलकुदको क्षेत्रमा बजेट माग गर्दै आउँछन् । खेलकुद पूर्वाधारको क्षेत्र समयसापेक्ष रूपले विकास हुन सकिरहेको छैन । मन्त्रालय नीतिगत रूपमा खेल क्षेत्रको सुधारका लागि लागेको छ । खेल क्षेत्रको सुधार गर्न राजनीतिक आबद्धता त्याग्नुपर्छ । दशरथ रंगशालामा खेलकुदबाहेकका गतिविधि रोक्नुपर्छ ।
मन्त्री श्रेष्ठले दशरथ रंगशालाको विकल्प खोजिनुपर्ने र कन्सर्टसँगै गैरखेलकुद कार्यक्रम रोक्नुपर्ने धारणा राखेका छन् । ‘दशरथ रंगशालाको विकल्प खोज्नुपर्छ । बरु मैदान उपत्यकाबाहिर लैजाउँ,’ उनले भने, ‘रंगशालामा राजनीतिक कार्यक्रम, कन्सर्टहरू बन्द गरौँ । गैरखेलकुद कार्यक्रम रोकौँ ।’ गैरखेलकुद प्रतियोगिता आयोजना हुँदा मैदानको दुबो र माटोको सतह बिग्रँदै गएको उनको भनाइ छ । उनले ऐन संशोधन गरिने र मस्यौदा बनाएर काम अगाडि बढेको बैठकमा जानकारी दिए । ऐनकै कारण मन्त्रालयले हस्तक्षेप गर्न नपाएको दुःखेसो पोखेका छन् । मन्त्री श्रेष्ठले नेपालमा छाएको निराशामा खेलकुद क्षेत्रका नीति, कार्यक्रमले आशा छाउने अपेक्षा राखेको जनाए ।
युवा तथा खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्यालले नेपाल र युएईबीचको विश्वकप छनोट खेल रंगशालामा हुने चाहना पूरा हुने बताए । ‘मन्त्रीज्यूले अनुगमन गरेर पाँच दिनभित्र सम्बन्धित निकायलाई वास्तविक अवस्था प्रतिवेदन बुझाउन दिर्नेशन दिनुभएको छ, घरेलु मैदानमा खेल्ने सबैको चाहना पूरा हुन्छ । यसमा कुनै कसर राख्दैनौँ । त्यो वातावरण बनाउन सरकार लागिपरेको छ,’ अर्यालले भने ।
खेल क्षेत्रको पूर्वाधार दयनीय छ : घिसिङ
राखेप सदस्यसचिव टंकलाल घिसिङले खेल क्षेत्रको बजेट निकै कम भएको र पूर्वाधार दयनीय अवस्थामा रहेको जानकारी दिएका छन् । ‘खेल क्षेत्रको पूर्वाधार दयनीय छ, एक प्रतिशत पनि बजेट छैन । दशरथ रंगशाला र नारायणी रंगशाला नेपालको पुरानो रंगशाला हो,’ सदस्यसचिव घिसिङले भने । खेलकुदलाई विद्यालय तहबाट पाठ्यक्रमकै रूपमा अगाडि बढाउने प्रस्ताव मन्त्रालयमा सिफारिस गरेको बताए ।
घिसिङले नेपाल र युएईबीचको खेल दशरथ रंशगालामै हुनेमा आशावादी भएको बताए । पाँच महिनाअघि यमनसँगको खेल दशरथ रंशगालामा भएको बताउँदै त्यसयता विभिन्न खेलकुद प्रतियोगिता आयोजना हुँदा मैदानको माटोको सतह र दुबो बिग्रेको बताए ।
नेपालमै खेलाउन प्रयत्न गरिरहेका छौँ : नेम्वाङ
अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज नेम्वाङले विश्वकप छनोट खेल नेपालमै गराउने प्रयास भइरहेको जानकारी दिएका छन् । ‘इन्डोनेसियामा भएको दुर्घटनापछि एएफसीले सुरक्षामा विशेष चासो दिँदै आएको छ । युएईविरुद्धको खेल नेपालमै खेलाउन प्रयत्न गरिरहेका छौँ,’ उनले भने, ‘एएफसीका प्रतिनिधिले खेल्न उपयुक्त नभएको रिपोर्ट दिएका छन् । एएफसीका साथीसँग निरन्तर संवाद भइरहेको छ, फिफासँग प्रयास भइरहेको छ ।’
सांसदहरूको सुझाव खेलकुदको बजेट बढाउनुपर्छ
बद्री पाण्डे, कांग्रेस
०.१२ प्रतिशत बजेटले केही गर्न सकिएको छैन । खेलकुदकै कारण युवाहरू देशभित्र रहने अवस्था बनेको छ । अन्तर्राष्ट्रिय जगत् खेलकुदमा निकै उचाइमा पुगिसकेको अवस्थामा अत्यन्तै पछौटेपनमा पर्यो । खेलकुद क्षेत्रको बजेट बढाउन लाग्नुपर्छ । समितिले पनि गम्भीरतापूर्वक लिनुपर्छ । खेलकुद फेयर गेम भए पनि झगडा भइरहन्थे, तर अहिले घटेको छ । खेलकुदको फेयरनेसले अरू क्षेत्रमा प्रेरणा दियोस् । २४ जेठमा नेपाल र बहराइनबीच नेपालमा खेल हुन २७ दिन बाँकी छ ।
फुटबलमा कूटनीति प्रयोग हुनुपर्यो । बजेट कमी छ भने मौकामा हिरा फोर्ने भनेजस्तै बजेट दिएर गर्नुपर्छ । खेल भएन भने सरकारले जिम्मा लिनुपर्छ । प्रधानमन्त्री, अर्थमन्त्री र मन्त्री गम्भीर बन्नुपर्छ । राष्ट्रिय खेलकुद के भइरहेको छ ? मूलपानी, चितवन, विराटनगरलाई राष्ट्रिय गौरवको आयोजना भनियो ? त्यसको प्रगति के कस्तो छ ? पहिला दशरथ रंगशालालाई प्राथमिकीकरण गरेर जानुपर्छ ।
प्राविधिक पक्षमा सुधार गरौँ
छविलाल विश्वकर्मा, एमाले
दशरथ रंगशालासँग सम्बन्धित अरू छलफलमा जाने समय छैन । खेल खेल्न सकिने गरी प्राविधिक पक्षमा सुधार गरौँ । धेरै टाउको दुखाउने काम नगरौँ । अर्काे तयारी गरौँ । अन्तर्राष्ट्रिय स्तरको बनाउने तयारी गरौँ । सबैतिर विचरण गर्नेभन्दा प्राथमिकीकरण गरौँ । खेलकुद विज्ञानका हिसाबले अगाडि बढ्नुपर्छ । तलबाटै खेलाडी उत्पादन गर्ने छुटे । योगदान दिएका पुराना खेलाडीहरू कहाँ छन्, उनीहरूलाई खोजौँ, छलफल गरौँ । खेलकुद विकासमा योगदान रहोस् भनौैँ । बजेट न्याय हुने गरी वितरण गरौँ । स्पोर्टस् एजुकेसनलाई जोड दिउँ ।
दशरथ रंगशाला सुधार गरौँ
देवेन्द्र पौडेल, माओवादी
ऐतिहासिक रंगशाला किन बन्न सकेन, यसमा कमजोरी कहाँ भयो ? के कारणले मापदण्ड पुगेन ? पाँच दिनभित्र के प्रणाली अपनाउने हो । तथ्यसहित आउनुपर्यो । रंगशालालाई सुधारौँ । अन्तर्राष्ट्रिय स्तरको बनाउन मन्त्रालयले एकसूत्रीय धारणा बनाओस् । बजेटमा समितिले सघाउनेछ ।