१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
यम बम काठमाडाैं
२o८१ जेठ ७ सोमबार o६:३४:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

घट्यो आगलागी, निभ्यो डढेलो

हरेक दिन औसतमा ५० ठाउँमा हुने गरेको आगलागीका घटना वर्षासँगै १० देखि १५ वटामा झरेको छ 

Read Time : > 2 मिनेट
यम बम, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार o६:३४:oo

- उपत्यकाबाहिरको हावा स्वच्छ, काठमाडौंमा पनि प्रदूषण घट्दै 
- तराई–मधेशमा तातो हावा चल्न छाड्यो

आगलागी र डढेलोले विकराल रूप लिइरहेका वेला वर्षा हुँदा राहत भएको छ । हरेक दिनजसो वर्षा हुन थालेपछि आगलागी आधाले घटेको छ र डढेलो निभेको छ । आइतबारदेखि सुरु भएको वर्षा देशका धेरैजसो क्षेत्रमा विस्तार हुँदा आगलागीका घटना घटेका हुन् । त्यसअघि हरेक दिन औसतमा ५० ठाउँमा आगलागी हुने गरेको थियो । तर, हाल १० देखि १५ वटामा झरेको छ । 

गृह मन्त्रालय, राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार बुधबार र बिहीबार समान १४–१४ ठाउँमा आगलागी भएको छ । तर, अघिल्लो साताको बुधबार ४० र  बिहीबार ४३ ठाउँमा आगलागी भएको थियो । तर, यो साताको हालसम्म ६४ ठाउँमा मात्र आगलागीको रेकर्ड भएको छ । दुईजनाको मृत्यु भएको छ र ६ जना घाइते भएका छन् । १९ घर पूर्ण र चार घरमा आंशिक क्षति भएको छ । ३९ गोठ जलेका छन्, १३ चौपाया मरेका छन् । 

अघिल्लो साता ६४ जिल्लाका दुई सय ९० स्थानमा आगलागी हुँदा चारजनाको मृत्यु भएको थियो भने २१ जना घाइते भएका थिए । तीन सय ३२ घरमा पूर्ण र ६९ घरमा आंशिक क्षति भएको थियो । त्यस्तै, एक सय २८ गोठ जलेका थिए भने एक सय ९० पशुचौपाया मरेका थिए । 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् चिरञ्जीवी भेटवालका अनुसार यसअघि प्रिमनसुनको यो सिजनमा तापक्रम उच्च हुनुका साथै वर्षा नहुँदा डढेलो, आगलागी बढेर प्रदूषण बढेको थियो । तर, पानी पर्दा राहत भएको छ । ‘डढेलो निभेको छ, वायु प्रदूषणको मात्रा पनि कन्ट्रोलमा छ, तराईमा तातो हावाको लहर पनि चल्न छाडेको छ,’ उनले भने, ‘बादल लाग्दा र वर्षा हुँदा तापक्रम बढ्न पाएको छैन ।’

१२६ स्टेसनमा वर्षा मापन 
दैनिक पाँच सय स्थानसम्म डढेलो लाग्दा वायु प्रदूषण बढ्नुका साथै वनजंगल र बस्तीमा समेत क्षति बढिरहेको थियो । तर, वर्षाले अधिकांश स्थानको डढेलो निभेको छ । नासाको स्याटलाइट तस्बिर हेर्दा बिहीबार कैलालीको जोशीपुर र कैलारी गाउँपालिकामा एउटा–एउटा डढेलो देखिन्छ । त्यस्तै, बर्दियाको राजापुर क्षेत्रको जंगलमा पनि डढेलो छ । त्यसबाहेक ठूलो डढेलो (कम्तीमा एक किलोमिटर क्षेत्रमा फैलिएको) निभेको छ ।  जब कि गत बिहीबार पाँच सय ५२ स्थानमा डढेलो थियो ।

पछिल्लो २४ घन्टामा एक सय १४९ वर्षा मापन केन्द्रमध्ये १२६ मा वर्षा रेकर्ड भएको छ । जसमध्ये बाराको कलैयामा ६९.६, झापामा ४४.६, सुर्खेतमा ३६.२, चितवनमा ३३.२, दैलेखमा ३१.६, कैलाली चिसापानीमा २१.२ मिलिमिटर वर्षा भएको छ ।

आइतबारबाट वर्षा फैलिन थालेकामा हाल पश्चिम तराईमा समेत वर्षा भएको थियो, जसकारण डढेलो घटेको हो । यसअघि गत फागुनदेखि चैत पहिलो सातासम्म पूर्वी भेगमा डढेलोले उच्च रूप लिएको थियो । तर, वर्षा हुँदा निभेको थियो । 

उपत्यकाबाहिरको हावा स्वच्छ, काठमाडौंमा पनि प्रदूषण घट्दै 
डढेलो र आगलागीका कारण देशभरको वायु प्रदूषण खराब स्थितिमा थियो । कतिसम्म भने २२ वैशाखमा राराको हावामा २.५ पिएम भनिने धुलोधुवाँका निकै मसिना कणको बहावस्तर प्रतिघन्टा सय माइक्रोघनमिटरसम्म पुगेको थियो । तर, बिहीबार रारामा यो सूचकांक ४२ मा झरेको  छ । 

वातावरण विभागको वायु प्रदूषण मापन केन्द्रमा रेकर्ड भएको विवरणअनुसार बिहीबार रारा, महेन्द्रनगर, पोखरा, नेपालगन्ज, धनकुटा, ललितपुरको पुल्चोकको हावा स्वच्छ देखिन्छ ।

तर, काठमाडौंको अन्य क्षेत्रको वायु प्रदूषण खराब स्थितिबाट घटे पनि जोखिम कायमै छ । हाल काठमाडौंको हावा दीर्घरोग लागेका व्यक्ति, जेष्ठ नागरिक र बालबालिकाका लागि अझै अस्वस्थ नै छ । बिहीबार साँझ रत्नपार्कको हावामा २.५ को मात्रा ५४ थियो । त्यसभन्दा पनि बढी प्रदूषण भैँसेपाटीमा १७८, खुमलटारमा ११७ र चितवनको भरतपुरमा १०२ कायम थियो ।

तराई–मधेशमा तातो हावा चल्न छाड्यो
पश्चिम र मध्य तराईमा वैशाख पहिलो सातादेखि नै तातो हावा र तातो हावाको लहर चलिरहेको थियो । तर, भैरहवा, नवलपुरको दुम्कौली क्षेत्रको तापक्रम ४२ डिग्री सेल्सियसभन्दा माथि पुग्दा जनजीवन प्रभावित बनेको थियो । बादल लाग्न थालेपछि २१ वैशाखबाट घट्न थालेको अधिकतम तापक्रम अहिले सामान्य अवस्थामा आएको छ । बिहीबार सबैभन्दा बढी धनगढीमा ३७.६ डिग्री सेल्सियस मापन भएको छ, त्यहाँ अघिल्लो साता ४० डिग्री सेल्सियस तापक्रम थियो । बिहीबार नेपालगन्जमा ३६,  भैरहवामा ३१.६, सिमरामा ३०, पोखरामा २९.५, काठमाडौंमा २७.६, विराटनगरमा ३१, धरानमा २९ र जनकपुरमा ३०.८ डिग्री सेल्सियस मापन भएको छ । 

वर्षा प्रणाली आइतबारसम्म कायमै रहने
पाँच दिनदेखिको वर्षा प्रणाली यो साताभर कायमै रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् चिरञ्जीवी भेटवालका अनुसार अब वर्षाको मात्रा घट्दै जाने देखिन्छ । तर, आइतबारसम्म पनि कुनै न कुनै ठाउँमा वर्षा हुने देखिन्छ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र भारतको बिहारआसपास बनेको न्यूनचापीय प्रणालीको प्रभाव छ । शुक्रबार कोशी र बागमतीलगायत देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ । शनिबार देशभर बदलीको आकलन गरिएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनीलगायत देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक–दुई स्थानमा हावाहुरीसहित हल्का वर्षाको चेतावनी दिइएको छ । 
 

ad
ad