सरकारले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताका पदक विजेता खेलाडी तथा प्रशिक्षकलाई नगद पुरस्कार प्रदान गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले क्रिकेट, कराँते, तेक्वान्दो र कबड्डी प्रतियोगिताका पदक विजेता खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
युवा तथा खेलकुद मन्त्रालयले पेस गरेको प्रस्ताव अनुमोदन भएसँगै ४२ खेलाडीले पुरस्कार पाउने भएका हुन् । गत वर्ष चीनमा भएको १९औँ एसियन खेलकुदका पदक विजेता, क्रिकेट टोली, कबड्डी टोली र पारा तेक्वान्दो खेलाडी तथा प्रशिक्षकले नगद पुरस्कार पाउने भएका छन् । समग्रमा खेलाडी र प्रशिक्षकलाई दुई करोड ९७ लाख १० हजार नगद पुरस्कार प्रदान गर्न लागिएको हो ।
आइसिसी पुरुष टी–२० विश्वकपअन्तर्गत एसियन छनोट खेलमा दोस्रो भएको राष्ट्रिय क्रिकेट पुरुष टोलीले कुल दुई करोड चार लाख ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । टोलीका १५ खेलाडीले जनही १३ लाख, प्रमुख प्रशिक्षक मोन्टी देशाईले तीन लाख ९० हजार, टिम व्यवस्थापक सुमनराज कार्की, सहायक प्रशिक्षक वसन्त शाही र फिजियो विक्रम न्यौपानेले जनही एक लाख ९५ हजार नगद हात पार्नेछन् ।
कराँतेमा २५ लाख
चप्नको हाङझाउमा भएको १९औँ एसियाडमा कराँतेमा पहिलोपटक ऐतिहासिक रजत दिलाएकी एरिका गुरुङले १९ लाख ५० हजार रुपैयाँ पाउनेछिन् । उनका प्रमुख प्रशिक्षक कुशल श्रेष्ठले दुई लाख ३४ हजार, सहायक प्रशिक्षक छोरी डंगोल र वीरकृष्ण शाहीसँगै व्यवस्थापक निवासगोपाल वैद्यले एक लाख ९५ हजार प्राप्त गर्नेछन् । एसियाडको रजत विजेता कराँते टोलीले समग्रमा २५ लाख ३५ हजार प्राप्त गर्नेछ ।
कबड्डीतर्फ ४५ लाख
१९औँ एसियाडमा महिला कबड्डी टोलीले कांस्य दिलाएको थियो । टोलीका १२ खेलाडीले जनही तीन लाख ९० हजार रुपैयाँ पाउने भएका छन् । प्रमुख प्रशिक्षक पार्वती राईले दुई लाख ६० हजार, सहायक प्रशिक्षक विष्णुदत्त भट्ट र व्यवस्थापक डिल्लीराम काफ्लेले जनही एक लाख ३० हजार प्राप्त गर्नेछन् । कबड्डी टोलीले कुल ४८ लाख दश हजार नगद प्राप्त गर्नेछ । त्यस्तै, चौथो एसियाली पारा खेलकुद २०२२ मा कांस्य जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले १३ लाख प्राप्त गर्नेछिन् । प्रमुख प्रशिक्षक कविराज नेगी लामाले दुई लाख ६० हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठले एक लाख ३० हजार प्राप्त गर्नेछन् ।