Skip This
राष्ट्रिय गौरवको सुनकोशी–मरिण सुरुङको ‘ब्रेक थ्रु’
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Tuesday, 08 October, 2024
बुधबार ‘ब्रेक थ्रु’ गरिँदै सुनकोशी–मरिण आयोजनाको सिँचाइ सुरुङ
विदुर पौडेल सिन्धुली
२o८१ बैशाख २७ बिहीबार o६:१६:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

राष्ट्रिय गौरवको सुनकोशी–मरिण सुरुङको ‘ब्रेक थ्रु’

सवा लाख हेक्टरमा सिँचाइको लक्ष्य

Read Time : > 2 मिनेट
विदुर पौडेल, सिन्धुली
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार o६:१६:oo

राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गतको सिँचाइ सुरुङ बुधबार ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरुङ खन्ने टनेल बोरिङ मेसिन (टिबिएम)को स्विच थिचेपछि सुरुङ छेडिएको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका– २ कुसुमटारबाट सुरु भएको सुरुङ सुनकोशी गाउँपालिका– ७ कानढुंग्रीस्थित नदीकिनारमा निकालिएको छ । सोही ठाउँबाट सुनकोशीको पानी सुरुङमार्फत लगेर तराईमा एक लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुर्‍याउने सरकारी योजना छ । 

ब्रेक थ्रु गर्दै प्रधानमन्त्री प्रचण्डले भने–

सुरुङको ‘ब्रेक–थ्रु’ भएको छ, आयोजनाको बाँकी काम पनि निर्धारित समयमा नै सम्पन्न हुनेछ । यो आयोजनाले मधेशका पाँच जिल्लाका उर्वरभूमिमा वर्षैभरि सिँचाइ सुविधा पुग्नेछ । साथै राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान एवं जलविद्युत् उत्पादन हुनेछ । ब्रेक–थ्रुबाट हामी सबैमा नयाँ ऊर्जा र प्रेरणा मिलेको छ । ठूला पूर्वाधार निर्माणमा उत्साह थपेको छ । 

‘ब्रेक थ्रु’ समारोहमा प्रधानमन्त्री प्रचण्डसहित ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, नेपालका लागि चिनियाँ राजदूत चेन सङ र नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनलगायतका उच्च अधिकारीको उपस्थिति थियो । सिँचाइका लागि नेपालले निर्माण गरेको यो दोस्रो आधुनिक सुरुङ हो । यसअघि १२.२१ किलोमिटर लामो भेरी–बबई सिँचाइ आयोजनामा सुरुङ बनाइएको छ ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आयोजनाको निर्माणले कृषि तथा नगदे बाली उत्पादनमा वृद्धि हुने र अर्थतन्त्रमा सुधार हुने बताए । कृषि क्षेत्रसँगै विद्युतीकरण र तराईका जिल्लाहरूमा भूमिगत पानीको स्रोतमा समेत वृद्धि हुने उनको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले निर्माण सम्झौताअगावै सुरुङको निर्माण सम्पन्न भएजस्तै गरी अन्य निर्माणका काम पनि समयमा सक्न निर्देशनसमेत दिए । प्रधानमन्त्री प्रचण्डले खुर्कोट चियाबारी सुरुङ निर्माणमा समेत टिबिएम मेसिन प्रयोग गरी काम गर्ने विषयमा आफू सकारात्मक रहेको बताए । यसका लागि आगामी आव ०८१–८२ को बजेटबाट आवश्यक रकम विनियोजन गर्ने उनको प्रतिबद्धता छ । 

यस्तै,  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बस्नेतले सुरुङले नेपालमा विकासका आयामहरू थपिएको बताए । सुरुङले नेपालका पूर्वाधार निर्माणका कामसँगै आर्थिक विकासको महत्वपूर्ण सूचक पूरा गरेको बस्नेतले दाबी गरे ।

यस्तै, नेपालका लागि चिनियाँ राजदूत चेन सङले निर्धारित समयभन्दा एक वर्षअघि नै सुरुङ ‘ब्रेक थ्रु’ गर्न सफल भएकोमा बधाई ज्ञापन गरे । नेपालका लागि अमेरिकी राजदूत थम्पसन रोबिन्सले विश्वस्तरीय अमेरिकी टनेल बोरिङ मेसिनले नेपालमा प्रमाणित रूपमा सफलता प्राप्त गरेको बताए । ‘नेपाली किसानहरू र समग्र कृषि क्षेत्रलाई समर्थन गर्न अमेरिकी प्रविधिले खेलेको भूमिकाप्रति हामी गर्व गर्छौँ,’ उनले भने ।  

कार्यक्रममा सिँचाइ विभागका महानिर्देशक सञ्जीव बरालले तराईको सिँचाइका लागि यो परियोजना उपयुक्त रहेको बताए । जलस्रोतको सदुपयोग बढाउन अझै ठूला–ठूला सिँचाइ आयोजना बनाउनुपर्ने र त्यसमा विभाग सकारात्मक रहेको उनको भनाइ छ । चिनियाँ निर्माण कम्पनी ‘चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेड’ले असोज ०७९ देखि सुरुङ खन्न सुरु गरेको थियो । साउन ०८१ भित्र सुरुङ छेड्ने योजनाका साथ तीव्र रूपमा कार्य बढाइएकाले डेढ वर्षमै टनेल ‘ब्रेक थ्रु’ भएको हो । सुरुङ निर्माण गर्न सिँचाइ विभाग र चिनियाँ कम्पनीबीच चैत ०७७ मा १० अर्ब पाँच करोड ६८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

‘ब्रेक थ्रु’ भएको सुरुङबाट डेढ वर्षपछि मात्रै पानी बगाउन योग्य हुने सिँचाइ विभागले जनाएको छ । ‘यो सुरुङलाई ‘ब्रेक थ्रु’ गरेर मात्रै हुँदैन । पानी बग्न (प्रवाह गर्न) योग्य बनाउनुपर्छ । त्यसअनुसार सुरुङ तयार गर्न अझै डेढ वर्ष लाग्छ,’ महानिर्देशक बरालले भने । ‘ब्रेक थ्रु’ भएपछि भू–एक्सरे गरेर सुरुङ र वरिपरिका भूभागको भौगर्भिक अध्ययन तथा अवलोकन गरिने उनले जानकारी दिए । त्यस्तै, पानी नचुहिने गरी भुइँ र भित्ता ढलानसहितको फिनिसिङ गर्न बाँकी नै छ । ‘भेरी–बबई सुरुङमा ‘ब्रेक थ्रु’ गरेपछि फिनिसिङको काम झन्डै डेढ वर्ष लागेको थियो । यो सुरुङको व्यास त्योभन्दा ठूलो छ । तर, डेढ वर्षमा सुरुङलाई पानी बग्न योग्य बनाउने लक्ष्य छ,’ उनले भने । परियोजनाको समग्र भौतिक प्रगति ३० प्रतिशत पुगेको छ । 

आयोजनाबाट तराईका पाँच जिल्लामा बाह्रै महिना सिँचाइ सुविधा पुर्‍याइने
सिन्धुली र रामेछापको सिमाना भएर बग्ने सुनकोशीको पानीलाई सुरुङमार्फत मरिण नदीमा खसालिनेछ । त्यसलाई हालको बागमती सिँचाइ आयोजनाका संरचनामार्फत मध्यतराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको एक लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुर्‍याउने आयोजनाको लक्ष्य छ । सिँचाइ दिने क्षेत्रमा तीन गुणा उत्पादन बढाउन सक्ने आयोजनाका निर्देशक मित्र बरालले बताए । तोकिएको क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउन सके कृषिबाट वार्षिक २६ अर्ब आम्दानी हुने आकलन छ ।

३१.०७ मेगावाट बिजुली पनि उत्पादन गरिने
परियोजनाबाट सिँचाइसँगै ३१.०७ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य पनि छ । त्यसका लागि ब्रेक थ्रु गरिएको सुरुङसँगै, बाँध, प्रसारणलाइन, विभिन्न सिँचाइ संरचनालगायतका पूर्वाधार बनाइँदै छ । जलविद्युत्को हेडवक्र्स, पावरहाउस, हाइड्रो मेकानिकललगायतका संरचना निर्माणका लागि गत आवमै भारतको पटेल इन्डिया र नेपालको रमन कन्स्ट्रक्सन जोइन्ट भेन्चर (जेभी)सँग १२ अर्ब रुपैयाँको ठेक्का सम्झौता भइसकेको छ । कम्पनीले निर्माण कार्य थालिसकेको छ । यसका साथै इलेक्ट्रोमेकानिकल र प्रसारणलाइन निर्माणका लागि खरिद प्रक्रिया अघि बढाएको आयोजना निर्देशक मित्र बरालले बताए । ०८४ असोजभित्र परियोजना पूर्ण सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको उनको भनाइ छ ।