१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
तस्बिर : राेयटर्स
रासस गाजा
२o८१ जेठ ६ आइतबार १६:३४:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

हमासद्वारा बन्धक मुक्तिका लागि मध्यस्थता प्रस्ताव स्वीकार

Read Time : > 1 मिनेट
रासस, गाजा
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १६:३४:oo

हमासले कतार र इजिप्टको मध्यस्थताको प्रस्ताव स्वीकार गरेको छ। यो गाजामा चलिरहेको द्वन्द्वमा सम्भावित सफलताको प्रतीक भएको सिएनएनले जनाएको छ।

भरपर्दो स्रोतबाट प्राप्त दस्ताबेजमा उल्लिखित प्रस्तावले तनाव कम गर्न र दिगो शान्तिका लागि मार्गप्रशस्त गर्ने उद्देश्यले विस्तृत योजना प्रस्तुत गरेको सिएनएनले जनाएको छ।

दस्ताबेजअनुसार सम्झौता तीन चरणमा लागू हुनेछ। प्रत्येक चरण ४२ दिनसम्म चल्नेछ। पहिलो चरणको ६ हप्ताको अवधिमा महिला, बालबालिका, वृद्ध र बिरामीसहित ३३ इजरायली बन्धकको रिहाइ समावेश छ।

बदलामा इजराइली सेना बिस्तारै गाजाका केही भागहरूबाट फिर्ता हुनेछन्। जासुसी उडान दैनिक १० घण्टाका लागि रोकिनेछ भने निशस्त्र प्यालेस्टिनीलाई गाजापट्टी स्वतन्त्र आवागमनको अनुमति दिइनेछ। यसका अतिरिक्त विनिमय प्रक्रियाका लागि निर्दिष्ट मापदण्डसहित सयौँ प्यालेस्टिनी कैदीलाई रिहा गर्ने तयारी गरिएको सिएनएनले उल्लेख गरेको छ।

सम्झौतामा हमासले रिहा गरेको प्रत्येक इजरायली बन्धकका लागि ३० प्यालेस्टिनी महिला तथा बालबालिका रिहा गरिने उल्लेख छ। साथै समान उमेर समूहका प्रत्येक इजरायली बन्धकका लागि ५० वर्षमाथिका ३० जना प्यालेस्टिनी कैदीहरू पनि रिहा गरिने छ।

यसबाहेक ३३ जना बन्धकहरूमा महिला आइडिएफ सैनिक समावेश छन्। रिहा गरिने प्रत्येक आइडिएफ महिला सैनिकका लागि ५० जना प्यालेस्टिनी कैदीलाई रिहा गर्न इजराइल सहमत भएको छ। यीमध्ये ३० जना आजीवन कारावासको सजाय भोगिरहेका छन्।

सम्झौताको मानवीय पक्षलाई गाजामा अस्थायी आश्रय र घरहरूका साथै अस्पताल र बिजुली संयन्त्रजस्ता प्रमुख पूर्वाधारको पुनर्स्थापनासहित सहायताको प्रवेशलाई सहज बनाउन व्यापक जोड दिइएको छ।

सम्झौताको दोस्रो चरणमा पुरुष नागरिक र आइडिएफ पुरुष सैनिकसहित बाँकी बन्धकको रिहाइका साथै गाजामा शान्तिको स्थायी अवधि प्राप्त गर्न केन्द्रित गरिएको छ। यद्यपि, दस्ताबेजमा यस चरणको विशिष्ट विवरणलाई सम्पूर्ण रूपमा खुलासा नगरिए पनि पहिलो चरणमा भएको प्रगतिमा अगाडि बढ्ने अनुमान गरिएको सिएनएनले बताएको छ। 

सम्झौताको तेस्रो र अन्तिम चरणमा गाजाका लागि तीनदेखि पाँच वर्षको विस्तृत पुनर्निर्माण योजनाको रूपरेखा तयार पारिएको छ। यस चरणले यस क्षेत्रको पुनर्निर्माण र यस क्षेत्रका बासिन्दाका लागि स्थिरता र समृद्धिलाई बढावा दिने दीर्घकालीन प्रतिबद्धतालाई जोड दिन्छ।

युद्धविराम गराउन र सम्झौताको कार्यान्वयनलाई सहज बनाउन अन्तर्राष्ट्रिय प्रयासहरू जारी छ। कतारको प्रतिनिधिमण्डलले कायरोमा अप्रत्यक्ष वार्ता जारी राख्ने तालिका रहेको छ।

इजिप्ट र कतारको प्रस्ताव हमासले स्वीकार गरेपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजराइली सरकार र हमास दुवैलाई युद्धविराम सम्झौतामा सहमत हुन आह्वान गरेका छन्।

कतारले द्वन्द्वको द्रुत समाधान र गाजामा मानवीय सहायताको दिगो प्रवाहका लागि आशा व्यक्त गर्दै घटनाक्रमले अधिकारी र हितग्राहीहरूबीच आशा जगाएको बताएको छ। जोर्डनका विदेशमन्त्री अयमान सफादीले यस्ता भावना दोहोर्‍याउँदै व्यापक सम्झौतामा पुग्न तत्काल आवश्यक रहेकोमा जोड दिएका छन्।

ad
ad