
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गण्डकी प्रदेशको आर्थिक र सामाजिक विकासका लागि नेपाल–चीन जोड्ने मुस्ताङको कोराला नाका पूर्ण रूपमा सञ्चालनमा ल्याउनुपर्ने बताएका छन्।
बागलुङ उद्योग वाणिज्य संघको ६०औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै ढकालले अन्तरदेशीय व्यापार र पर्यटन प्रवर्द्धनका लागि कोराला नाका नियमित सञ्चालनमा ल्याउन जरुरी रहेको बताए।
उनले दुई देशबीचको व्यापारिक सम्बन्धलाई सुमधुर बनाई आयात र निर्यात दुवै गर्नका निम्ति कोराला नाका नियमित सञ्चालन गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका थिए।
ढकालले बागलुङलगायत धौलागिरि क्षेत्रका स्थानीय उद्योगी–व्यवसायीले उत्पादन गरेको वस्तु र सेवाहरूको गुणस्तर कायम गरी देशभित्र र बाहिर निर्यातका लागि आवश्यक पहल गर्न महासंघ तयार रहेको बताए।
‘बागलुङमा उत्पादन हुने आलु, भाँगो, मकै, बाँसको निगालोबाट बनेका वस्तुहरूलाई व्यवसायीकरण र निर्यातका लागि साना तथा मझौला व्यवसायी मिलेर काम गर्नुपर्नेछ,’ ढकालले भने, ‘तपाईं मिलेर उत्पादन गर्नुहोस् यसको बजारीकरणका लागि यहाँका उद्योग वाणिज्य संघ छन्। महासंघ केन्द्रले पनि सहजीकरण र समन्वय गर्नेछ।’
ढकालले निजी क्षेत्रलाई सरकारले लगानीमैत्री वातावरण बनाउन अझै नसकेको गुनासो गरे। यहाँ धेरै व्यवसायीले लगानी गर्न खोजे पनि सोहीअनुसारको वातावरण सिर्जना हुन नसकेको उनको गुनासो थियो।