१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख २१ शुक्रबार १७:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

शुक्लाफाँटामा १० वर्षमा बाघको संख्या दोब्बरभन्दा धेरैले वृद्धि

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:५९:oo

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको संख्या एक दशकमा दोब्बरभन्दा धेरैले वृद्धि भएको छ। १० वर्षअघि १७ वटा बाघ रहेको निकुञ्जमा अहिले यो संख्या ४४ पुगेको छ।

निकुञ्ज कार्यालयको तथ्यांकअनुसार सन् २०१३ मा शुक्लाफाँटामा १७ बाघ थिए। पाँच वर्षपछि एउटा घटेर सन् २०१८ मा १६ बाघ मात्रै रहे। त्यसको चार वर्षपछि सन् २०२१ का तीनवटा बढेर बाघको संख्या १९ पुग्यो। एक वर्षकै अवधिमा १७ बाघ बढेर सन् २०२२ मा ३६ पुग्यो।

एक वर्षको अवधिमा तीनवटा घटेर सन् २०२३ मा यो संख्या ३३ मा झरेको थियो। सन् २०२४ को चौथो महिनासम्म एकैपटक ११ वटा बढेर बाघको संख्या ४४ पुगेको छ। निकुञ्जका अनुसार तीमध्ये २४ भाले, १७ पोथी र तीनको लिंग पहिचान भएको छैन।

क्यामेरा ट्यापीमा नपरेका तीन बाघको लिंग पहिचान नभएको प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले बताए। वयस्क बाघको संख्या बढी हुँदा प्रजनन क्षमता वृद्धि हुने तथा प्रशस्त आहारा र चोरी सिकारी पूर्ण नियन्त्रण हुँदा बाघको संख्या वृद्धि भएको उनको भनाइ छ।

निकुञ्जको तथ्यांकअनुसार बाघको घनत्व प्रतिकिमि सन् २०१३ मा २.४, सन् २०१८ मा ३.४८, सन् २०२१ मा ४.३, सन् २०२२ मा २.५१, सन् २०२३ मा ७.७८ र सन् २०२४ मा ९.९८ रहेको छ। निकुञ्जमा आहारा प्रजातिको घनत्व ६८.०४ प्रतिकिमि रहेको छ।

निकुञ्जलाई २-२ किलोमिटरका ९२ ग्रिड बनाएर हरेक ग्रिडमा एकजोडी स्वचालित क्यामेरा राखिएको छ।

ad
ad