१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o८:४३:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

इस्माको अपिल– आगलागीपीडितकाे पुनर्स्थापनामा सबै जुटौँ

डढेलोका कारण इस्माका तीन दर्जन घरहरु जलेर खरानी हुँदा नागरिकको बिचल्ली

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:४३:oo

इस्माका जनप्रतिनिधि र कर्मचारीको करिब सात लाख सहयोग, सरकारी तथा गैरसरकारी संघसंस्थाहरू राहत जुटाउन सक्रिय 

डढेलोले बस्ती सखाप पारेपछि इस्मा ठूलो संकटसँग पैँठेजोरी खेलिरहेको छ । आँखैअगाडि श्रीसम्पत्ति खरानी बनेको देखेका पीडित परिवारको चित्त बुझाउने बाटो छैन । कैयौँले भागेर ज्यान बचाए । तर, फर्केर जाने घर गुमाए । इस्माका अग्निपीडितले ओत, भोक र प्यास खोजिरहेका छन् । अब उनीहरूसँग निस्वार्थ सहयोगको आशा मात्रै बाँकी छ । तत्कालको उखरमाउलो गर्मीपछि पर्ने वर्षात् सोहीठाउँको लागि फेरि अभिशाप बन्न बेर छैन ।

त्यसैले वेलैमा राम्रो छाना, खाना र नानाको जोहोका लागि भोटभन्दा चोट हेरेर सर्वपक्षीय सहयोगको आवश्यकता रहेको छ । इस्मा गाउँपालिकाले सबैलाई राहतसँगै पुनर्स्थापनामा जुट्न सार्वजनिक अपिल गरेको छ । इस्मा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले गरेर ६ लाख ८३ हजार सहयोगको घोषणासमेत गरेका छन् ।

८ वैशाखको डढेलोका कारण इस्माका तीन दर्जन घर जलेर खरानी हुँदा नागरिकको बिचल्ली भएको छ । करिब चार दर्जन गोठ र दर्जनौँ पशुचौपाया जलेर नष्ट भएका छन् । गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले अग्नि प्रभावित क्षेत्रमा घर, गोठ, खानेपानी, पशुचौपाया र लत्ताकपडा क्षति भएकाले तत्काल प्रबन्ध गर्न र दीर्घकालीन पुनर्स्थापना गर्नुपर्ने भएकोले आवश्यक सहयोगका लागि खड्काले आग्रह गरेका हुन् । 

एकद्वार प्रणालीमार्फत राहत वितरण

गाउँपालिकाले सहयोगलाई एकद्वार बनाउने योजना बनाएको छ । जसका लागि गाउँपालिकाको ग्लोबल आइएमई बैक इस्माको ग–७–२ प्रकोप व्यवस्थापन कोषको खाता नम्बर ३५७०४०१००००००५ मा नगद सहयोग गर्न सकिने पालिकाले जनाएको छ । गाउँपालिकाले प्रभावित क्षेत्रमा खाद्यान्नसहित दैनिक उपभोग्य सामग्री वितरण, प्लम्बरमार्फत खानेपानी सञ्चालन, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा मृत पशुचौपायाको व्यवस्थापनको काम गरिसकेकाले तत्काल पुनर्स्थापनाको काममा आर्थिक सहयोगको आवश्यकता रहेको गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताए ।

आगलागीपीडितहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि जिल्ला प्रशासन कार्यालयसहित सुरक्षा निकाय, रेडक्रम सोसाइटी, सांसद तथा संघसंस्था पनि सक्रिय देखिन थालेका छन् । जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माका अनुसार इस्मा र मदानेका अग्निपीडितका लागि तत्काल राहतस्वरूप प्रतिघर २० हजार रकम प्रदान गरिएको छ । अहिलेसम्म ३० घर परिवारले रकम प्राप्त गरेका छन् । त्यसबाहेक रेडक्रस सोसाइटीबाट टेन्ट र कम्बललगायतका सामग्रीको व्यवस्थापन भएको छ । 

आइतबार संघीय सांसद गोकर्ण विष्टको सहयोगमा चामल, ब्ल्यांकेट, दाल, तेल नुनलगायत दैनिक उपभोग्य सामग्री र पकाउने भाँडाहरू सहयोग गरिएको छ । त्यस्तै, गुल्मी उद्योग वाणिज्य संघले पनि प्रभावित स्थलमा पुगेर सहयोग गरेको छ । नेपाल निजामती कर्मचारी संगठनले अग्निपीडितलाई गाग्री र मग सहयोग गरेको छ । रोटरी क्लबले सहयोगका लागि प्रशासन कार्यालयबाट अनुमति लिएको बताए । शर्माले जिल्ला विपत् व्यावस्थापन समिति वा स्थानीय पालिकासँग समन्वय गरेर एकद्वार प्रणालीमार्फत सहयोगका लागि आग्रह गरे । 

एकै ठाउँ र एकै प्रकृतिको सहयोगले मात्रै नहुने भएकाले आवश्यकता पहिचान गरेर एकद्वार प्रणालीमार्फत गरिएको सहयोग उपलब्धिपूर्ण हुने शर्माले बताए । उनले इस्मासहित, मुसिकोट, मदानेलगायतका पालिकामा पनि डढेलोले क्षति पुर्‍याएकाले सबै ठाउँमा क्षतिअनुसार समान सहयोग गर्नुपर्नेमा जोड दिए । ‘आफूअनुकूल नभएर पालिका वा प्रशासनमा रेकर्ड रहने गरेर सहयोग गरौँ । विपतमा सर्वपक्षीय समन्वय र सहयोग आवश्यक छ,’ उनले भने, ‘सहयोगीहरूलाई सहजीकरण गर्न हामी तयार छौँ ।’

ad
ad