![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/Artha_Main-Baishak-112024-04-23-06-58-58.jpeg)
मकैको पकेट क्षेत्र मानिने बारा जिल्लामा यस वर्ष करिब १२ हजार हेक्टरमा मकैखेती भएको छ । त्यसमध्ये करिब तीन हजार हेक्टरमा लगाएको मकैखेतीमा दाना नलाग्ने समस्या देखिएकोे तथ्यांक स्थानीय तहले सार्वजनिक गरेको छ । सरकारले प्रमाणीकरण गरेको बिउ लगाउँदा पनि मकै बालीमा दाना नलागेपछि बाराका किसान चिन्तित भएका छन् । मकैबाट सोचेजसो आम्दानी नहुने भएपछि कतिपय किसानले मकैको पात काटेर गाईभैँसीलाई खुवाउन थालेका छन् । बाराको निजगढ, कोल्हबी, सिम्रौनगढ नगरपालिका, जितपुर–सिमरा उपमहानगरपालिका, बारागढी, करैयामाई गाउँपालिकालगायत स्थानमा हजारौँ किसानले लगाएको उन्नत जातको मकैमा दाना नलागेको किसानले गुनासो गरेका छन् ।
उन्नत जातको मकैखेतीका लागि खनजोत, मलखाद र कामदार खर्च गरी प्रतिकट्ठा तीन हजारदेखि तीन हजार पाँच सयसम्म लागेको छ । तर, बाली भित्र्याउने वेला मकैका घोगामा दाना नलागेपछि बाराका किसान चिन्तित बनेका हुन । स्रेस्ता, सिपी ८३८, श्रेष्ठ, डिकोसी ९०८१, एबिएम ३५५ र ९०८१ लगायतका हाइब्रिड मकै लगाएका किसानका मकै बालीमा समस्या देखिएको छ । किसानले सरकारले प्रमाणीकरण गरेको बिउ स्थानीय एग्रोभेटदेखि भारतबाट समेत ल्याएर लगाएका थिए ।
पकेट क्षेत्रकै बालीमा दाना नलागेपछि करोडौँको क्षति व्यहोर्नुपरेको भन्दै किसानले बिउ बिक्री गर्ने बीजभण्डारलाई कारबाही गर्नुपर्ने र क्षतिपूर्ति दिनुपर्ने माग अघि सारेका छन्
श्रेष्ठ जातको मकै पोलेर खान निकै लोकप्रिय छ भने बन्नी जात कुखुराको दाना बनाउन बढी प्रयोग हुन्छ । मकैखेतीका लागि पकेट क्षेत्र मानिएको बारामा यस वर्ष दाना नलागेपछि करोडौँको क्षति व्यहोर्नुपरेको भन्दै किसानले बिउ बिक्री गर्ने बीजभण्डारलाई कारबाही गर्नुपर्ने र क्षतिपूर्ति दिनुपर्ने माग अघि सारेका छन् । बीजभण्डारले प्रतिकेजी ६ सयदेखि आठ सयसम्मका दरले बिउ बिक्री गरेका थिए ।
उनीहरूले पुरानो नक्कली बिउ बिक्री गरेको हुन सक्ने किसानले आशंका गरेका छन् । दाना नै नलागेपछि मकै बाली जोतेर अर्को खेती गर्ने तयारी थालेको निजगढ नगरपालिका–६ का किसान यज्ञप्रसाद सापकोटाले बताए । ‘हामीले लगाएको हाइब्रिड जातको मकैको बिउ कृषि प्राविधिकले सिफारिस गरेका थिए, तर अहिले एउटा पनि बोटमा दाना लागेको छैन ।’
यस्तै, बाराको जितपुर–सिमरा उपमहानगरपालिका–११ का किसान धनीराम चौधरीले पनि आफ्नो र केही छिमेकीको मकै बालीमा यस्तै समस्या देखिएको बताए । किसानले गत वर्षजस्तै यस वर्ष पनि भिटामिन, मल, कीटनाशक औषधिको प्रयोग गर्नुका साथै आवश्यक सिँचाइ गरेको उनको भनाइ छ ।
तर, बाराको निजगढका कृषि एग्रोभेटका सञ्चालक किरण ओझाले भने मौसमका कारण किसानले लगाएको मकैमा दाना नलागेको बताए । ‘हामीकहाँ विभिन्न स्थानबाट बिउ आउँछ,’ उनले भने, ‘किसानले कृषि प्राविधिकसँग सल्लाह नगरी डिकेसी प्रजातिको ९०८१ मा चिसोले गर्दा पनि दाना नलागेको हुन सक्ने तथा भारतबाट नक्कली बिउ ल्याई लगाएको होला ।’ मकैलाई दिइने मल पनि पारिबाट ल्याइएको नक्कली हुन सक्ने उनको भनाइ छ । यहाँका किसानले वर्षमा दुईपटक मकै बाली लगाउँछन् । उन्नत जातको फलेपछि त्यही खेतमा लोकल मकै लगाउँछन् ।
केन्द्रीय अनुगमन टोलीको स्थलगत अनुगमन
किसानको मकै बालीको घोगामा दाना नलागेपछि केन्द्रीय अनुगमन टोलीले स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ । बाराका किसानले लगाएको हिउँदे हाइब्रिड मकैमा दाना नलाग्ने समस्या देखिएपछि अनुगमनका लागि कृषि तथा पशुपक्षी मन्त्रालयबाट विज्ञहरूको टोली बारा पुगेको थियो ।
सरकारले सूचीकृत गरी राजपत्रमा प्रकाशित उन्नत जातको मकैको बिउमा दाना नलागेको समस्या देखिएपछि राष्ट्रिय बिउबिजन समितिका सदस्यसचिवको अध्यक्षतामा बसेको बैठकले विज्ञहरूको टोली बारा पठाएको थियो । नेपाल सरकारले सूचीकृत गरेका हाइब्रिडका सबै जातका बिउमा यस्तो समस्या देखिएकाले कारण पत्ता लगाउन मन्त्रालयबाट राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम रामपुर चितवनका वरिष्ठ वैज्ञानिक भीमनाथ अधिकारीको नेतृत्वमा सात सदसीय विज्ञ टोली बारा आएर मकै बाली स्थलगत अध्ययय गर्नुका साथै परीक्षणका लागि नमुना लिएका छन् ।
मंसिरदेखि पुसको पहिलो हप्तासम्म लगाएको हरेक जातका मकै बालीमा समस्या देखिएकाले प्रारम्भिक चरणको अनुसन्धानले मौसमका कारण समस्या देखिएको टोली प्रमुख अधिकारीले बताए ।अधिकारी नेतृत्वको टोलीमा राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम रामपुर चितवनका अर्का वैज्ञानिक महेन्द्र त्रिपाठी, राष्ट्रिय बाली प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्रका वरिष्ठ बाली विकास अधिकृत उज्ज्वलकुमार सिंह, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका बाली विकास अधिकृत नवराज जोशी, बिउबिजन गुणस्तर नियन्त्रण केन्द्रका बाली विकास अधिकृत प्रकाश आचार्य र प्राविधिक सहायक हरि यादव रहेका छन् । टोलीले बारा, पर्सा, रौतहट र सर्लाहीका किसानले लगाएको मकै बालीमा देखिएको समस्याको अनुसन्धान गरेका थिए ।
कृषि ज्ञानकेन्द्र बारासँग तथ्यांक छैन
प्रतिकट्ठा न्यूनतम २.१३ क्विन्टल मकै उत्पादन हुने बारामा यस वर्ष पाँच हजार आठ सय ६० हेक्टरमा मकैखेती गरिएको छ । गत वर्ष ३७ हजार चार सय ४० मेट्रिकटन मकै उत्पादन भएकोमा यस वर्ष उत्पादनमा कमी आउने कृषि ज्ञानकेन्द्र बाराका प्रमुख राजनारायण साहले बताए ।
बारामा कति जमिनमा मकैखेती भएको छ भन्ने यकिन तथ्यांक भने नभएको उनले बताए । ‘स्थानीय तहका कृषि संयोजकले पठाएको डाटाअनुसार यसपटक बारामा पाँच हजार आठ सय ६० हेक्टरमा मकैखेती भएको भनेको थियो, तर जितपुर–सिमरा र निजगढ नगरपालिकामा मात्र चार हजार हेक्टरमा खेती भएको पाइएको हुँदा पुनः सबै पालिकालाई तथांक माग गरेका छौँ,’ उनले भने, ‘अब कति क्षेत्रमा दाना लागेन भन्नेसमेत डाटा आउने क्रम जारी छ ।’