१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o७:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

कोशीका सदस्यसचिवमाथि प्रशिक्षकलाई अभद्र व्यवहार गरेको आरोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:५८:oo

कोशी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव हंसराज वाग्लेले सार्वजनिक स्थलमा उसुका प्रशिक्षक विनोद मरिकमाथि अभद्र व्यवहार गरेको आरोप लागेको छ । मोरङका अधिकृत स्तरका उसु प्रशिक्षक मरिकलाई गत साता सम्पन्न केन्द्रीय स्तरको राष्ट्रपति रनिङ सिल्डमा सहभागी हुने टोलीको बिदाइ कार्यक्रममा सदस्यसचिव वाग्लेले गालीगलौज गरेको आरोप विभिन्न खेलका प्रशिक्षक, कर्मचारी र खेलकुद संघहरूले लगाएका हुन् । उनीहरूले वाग्लेलाई कारबाहीको मागसमेत राखेका छन् । 

मोरङ प्रशिक्षक संघ, उसु, एथलेटिक्स, ब्याडमिन्टन, कराँते, तेक्वान्दो, सुटिङ, भलिबल, बास्केटबललगायत एक दर्जन संघले राष्ट्रिय खेलकुद परिषद्, कोशी प्रदेश सरकार, उसु महासंघ र जिल्ला प्रशासन कार्यालय मोरङमा छानबिन गरी दोषीलाई कारबाही गर्न उजुरी दिएका छन् । काठमाडौंमा ४ देखि ६ वैशाखमा भएको राष्ट्रपति रनिङ सिल्डमा कोशीबाट उसुका प्रशिक्षकका रूपमा मरिक थिए । तर, उनको स्थानमा सदस्यसचिव वाग्लेले आफ्नै मातहतको प्रशिक्षकलाई पठाएका थिए । 

सदस्यसचिव वाग्लेले राष्ट्रपति गोल्डकपमा प्रशिक्षकका रूपमा पठाइनुपर्ने मरिकलाई उल्टै सार्वजनिक स्थलमा गालीगलौजसँगै अभद्र व्यवहार गरेको दाबी खेलकुद संघहरूले लगाएका छन् । सदस्यसचिव वाग्लेले आफूमाथिको आरोपको खण्डन गरेका छन् ।

उनले प्रतियोगिताका लागि प्रदेशअन्तर्गतका प्रशिक्षकलाई जिम्मेवारी दिएको र खेलमा राजनीति गर्न नचाहेको उनले बताए । ‘यहाँको प्रशिक्षक नपठाएर अन्तको प्रशिक्षक कहाँ पठाउँछु ? मलाई तर्साउने काम गरिएको हो,’ उनले भने, ‘ठगी खानेले नै खेलकुदमा राजनीति गर्न खोजेका छन्, राखेपमा अझै बलबहादुर केसीको अवशेष छन् ।’ यसैबीच, प्रशिक्षक मरिकले सदस्यसचिव वाग्लेविरुद्ध दिएको कारबाही निवेदन फिर्ता लिएका छन् । 

कर्मचारी संघद्वारा कारबाही माग 
राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले विज्ञप्ति जारी गर्दै प्रशिक्षक मरिकलाई न्याय दिलाउन माग गरेको छ । संघले घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । ‘घटनाप्रति केन्द्रीय कर्मचारी संघको गम्भीर ध्यानाकर्षण भएको छ,’ संघकी अध्यक्ष सरस्वती केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

ad
ad