१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
Invalid date format o९:२१:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

१७औँ आइपिएलमा टिकटको कालोबजारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:२१:oo

१७औँ इन्डियन प्रिमियर लिग (आइपिएल)मा कालोबजारीको माध्यमबाट टिकट किन्दा दर्शकले हजारौँ रकम तिर्नुपरेको छ । चेन्नई सुपर किंग्स, मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स, सनराइजर्स हैदराबाद तथा रोयल च्यालेन्जर्स बेंग्लोरका खेलमा सुरुमै टिकट बुक वा किन्न सकिएन भने दर्शकले अनावश्यक रूपमा बढी रकम खर्चनुपरेको भारतीय एजेन्सीले जनाएको छ । अन्तिम समयमा एक दर्शकले बेंग्लोरको पहिलो खेल हेर्न ५२ हजार नौ सय ३८ भारु तिरेको एजेन्सीले दाबी गरेको छ । ती दर्शकले किनेको टिकटको मूल्य दुई हजार भारुमुनि रहेको थियो । 

फ्रेन्चाइज टोलीका लगानीकर्ताले पनि टिकटका माध्यमबाट आम्दानी स्रोत बनाएको भारतीय सञ्चारमाध्यमले अर्को दाबी गरेको छ । ‘टिकट बिक्रीबाट फ्रेन्चाइज टोलीका मालिकहरूको खातामा रकम जम्मा हुन्छ, रंगशालामै गएर अन्तिम समयमा खेल हेर्नेहरू यसमा नमज्जाले फसेका छन्,’ एजेन्सीले उल्लेख गरेको छ ।

भारतीय क्रिकेटको सर्वोच्च संस्था भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले यसपटक फ्रेन्चाइज टोलीहरूलाई टिकट मूल्य निर्धारण गर्न अधिकार दिएको छ । यसकारण पनि बजारमा टिकटको मूल्य आकासिएको हो । ‘बोर्डले नै फ्रेन्चाइजलाई आफूखुसी टिकटको मूल्य राख्न अधिकार दिएको छ, यसमा दर्शक बलिको बोका बनेका छन्,’ बिसिसिआईका एक सदस्यले भारतीय मिडियालाई भनेका छन्, ‘आइपिएलको टिकट बिक्रीमा कालोबजारी भइरहँदा कसैले रिपोर्ट राख्न हिम्मत गरेका छैनन् ।’ 

फ्रेन्चाइजका मालिकहरूले आफ्नो लगानी उठाउन, रंगशालाको मर्मत–सम्हार गर्न तथा खेलाडीको सुविधा पूरा गर्ने मुख्य माध्यम नै टिकट बिक्री बनाएका छन् । ‘टोलीका मालिकहरूले घरेलु रंगशालाको मर्मत–सम्हारदेखि खेलाडीलाई सुविधा प्रदान गर्ने मुख्य बजेट नै टिकट बिक्री बनाएका छन्,’ बिसिसिआईका ती सदस्यले भने, ‘आइपिएल बोर्डले टिकट मूल्य निर्धारण गर्नुपर्छ ।’

राम्रा खेलाडीको साथ पाएको, तर उपाधि जित्न नसकेको बेंग्लोरको क्रेज आइपिएलमा अत्यधिक रहेको छ । यस सिजनमा बेंग्लोरले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरे पनि उत्कृष्ट नतिजा निकाल्न सकेको छैन । तर, बेंग्लोरको खेलमा दर्शकको कमी छैन । बेंग्लोरको खेल हुँदा सामान्य टिकट मूल्य नै २३ सय भारु रहेको छ । बेंग्लोरले एक टिकटको अधिकतम मूल्य ६ हजार दुई सय भारु राखेको छ । तर, कालाबजारीमा यही टिकटको मूल्य ५० हजार भारुमा बिक्री भइरहेको इन्डियन एक्सप्रेसले जनाएको छ ।

बजारको मागअनुसार मूल्य
आइपिएलको टिकट मूल्य निर्धारण बजारको मागअनुसार बढ्ने गरेको चेन्नईका सिइओ कासी विश्वानन्दले जनाएका छन् । ‘हामीले बजारको अवस्थाअनुसार टिकट मूल्य परिवर्तन गरिरहेका हुन्छौँ,’ विश्वानन्दले भने, ‘यसमा ट्याक्समा २५ र मनोरञ्जनक कर भनी २५ प्रतिशत छुट्याउनुपर्छ ।’ उनका अनुसार कालोबजारी वा उच्चतम मूल्यमा बिक्री हुने टिकटबाट टोलीलाई केवल ५८ प्रतिशत मात्र हिस्सा आउने गर्छ । घरेलु मैदानमा हुने खेलका लागि दर्शकले उच्चतम मूल्यमा टिकट किनेको विश्वानन्दले बताए ।