
नेपालमा अवैध रूपमा डिजिटल सुनको कारोबार हुने गरेको खुलेको छ । माइपे गोल्ड प्रालिले डिजिटल सुनचाँदीको अवैध धन्दा चलाइरहेको भेटिएको हो ।
भक्तपुरको राधेराधेस्थित छायादेवी भवनमा केन्द्रीय कार्यालय राखेर अनलाइन प्लेटफर्ममार्फत यो कम्पनीले डिजिटल सुनचाँदीको कारोबार गराइरहेको छ । यो प्लेटफर्म नेपाल राष्ट्र बैंकबाट इजाजत–पत्रप्राप्त भुक्तानी सेवा प्रदायक कम्पनी स्मार्ट कार्ड माइपेसँग आबद्ध रहेको पाइएको छ ।
कम्पनीको वेबसाइटअनुसार माइपे गोल्ड डिजिटल रूपमा सुनमा लगानी गर्ने एक नयाँ एप हो । वेबसाइटमा भनिएको छ, ‘यस एपले खरिदकर्ताहरूलाई तुरुन्तै सुन तथा चाँदी किन्न र बेच्नका लागि ठूलो सहजता प्रदान गरेको छ । माइपे गोल्डले प्रदान गर्ने फाइदाहरूमध्ये सबैभन्दा प्रमुख यो एक हो, यसबाट तपाईंहरूले आजको बजार मूल्यमा सुन तथा चाँदी खरिद गर्न सक्नुहुन्छ । अर्थात्, तपाईंले सुन पसलबाट भौतिक गहनाहरू, सुन तथा चाँदी खरिद नगरी आजको बजार मूल्यमा सुन तथा चाँदी किन्न वा बेच्न सक्नुहुन्छ ।’
नेपालमा डिजिटल सुनचाँदी र गहना किनबेच अवैध रहेको नियामक निकायहरू बताउँछन् । डेरिभेटिभ्स कारोबार र वस्तु विनिमयको नियमन गर्ने निकाय धितोपत्र बोर्डले नेपालमा कुनै पनि कम्पनीलाई डिजिटल कमोडिटी कारोबार वा विनिमयको अनुमति नदिएको जनाएको छ । बोर्डका सूचना अधिकारी तेजप्रसाद देवकोटाले डेरिभेटिभ्स कारोबारको अनुमति नेपाल स्टक एक्सचेन्जलाई दिनेबाहेक वस्तु विनिमय र अन्य अभौतिक वस्तुको कारोबारको अनुमति नभएको बताए । उनले भने, ‘बोर्डले अहिलेसम्म कसैलाई यस्तो अनुमति दिएको छैन । डेरिभेटिभ्स बजारको एकल अधिकार नेप्सेलाई दिइएको छ । अनुमति नलिई यस्तो कारोबार कसको क्षेत्राधिकारमा पर्ने भन्ने स्पष्ट भएन । तर, वस्तु विनिमय शाखाले यसलाई अध्ययन गरेर कारबाही अघि बढाउँछ ।’
ब्लकचेन प्रणालीमा आधारित क्रिप्टोकरेन्सी कारोबारमा प्रतिबन्ध लगाइरहेको नेपाल राष्ट्र बैंकलाई आफैँले इजाजत दिएको भुक्तानी सेवा प्रदायक माइपेको संलग्नतामा भइरहेको यस्तो कारोबारको जानकारी छैन । राष्ट्र बैंकका प्रवक्ता एवं भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले सुनचाँदीको कारोबारअन्तर्गत आयात गर्ने अधिकार वाणिज्य बैंकहरूलाई र बिक्री–वितरणको अधिकार सुनचाँदीका आधिकारिक बिक्रेताबाहेकलाई नभएको बताए । उनले भने, ‘वालेटबाटै यस्तो कारोबार भइरहेको छ भने हामी त्यसलाई हेर्छाैँ । हामीले डिजिटल सुनचाँदीलाई अहिलेसम्म मान्यता दिएका छैनौँ ।’ यसअघि योपो सुपर एपमार्फत डिजिटल सुनको किनबेच गर्ने घोषणा भए पनि हालसम्म सञ्चालनमा आएको छैन ।
यस्तो छ नेपालमा सुनचाँदी कारोबारको कानुनी व्यवस्था
५ वैशाख ०६८ मा राष्ट्र बैंकले पहिलोपटक सुन आयात तथा बिक्री–वितरण कार्यविधि जारी गरेको थियो । कार्यविधिअनुसार नेपाल बैंकर्स संघको सिफारिसमा क वर्गका बैंक (वाणिज्य बैंकहरू)ले मात्र सुनको आयात गर्न सक्छन् । त्यसको परिमाण भने राष्ट्र बैंकले तोक्ने व्यवस्था छ ।
बैंकले आयात गरेको सुन दर्ता भई स्थायी लेखा नम्बर प्राप्त गरेका व्यवसायीहरूको आधिकारिक संघ÷संगठनमा आबद्ध ‘सुनको काराबार गर्न अनुमति प्राप्त गरेका व्यवसायी’लाई मात्र बिक्री गर्न पाइने व्यवस्था छ । यो व्यवस्थाअनुसार नेपालमा सुनचाँदी कारोबारसँग सम्बन्धित आधिकारिक संगठनमा आबद्ध व्यवसायीले मात्रै सुनचाँदी कारोबार गर्न पाउने नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताए ।
‘वस्तु विनिमयको अनुमति धितोपत्र बोर्डले कार्यविधि बनाएर दिने विगतमा निर्णय भए पनि हालसम्म जारी भएको छैन । यस्तो वेलामा जो पायो उसैले सुनचाँदीको नाममा यस्तो कारोबार गर्न पाइँदैन, यो गैरकानुनी हो,’ उनले भने । नेपालमा ढिका सुनको कारोबार नै बर्जित भएको अवस्थामा डिजिटल सुनचाँदी कारोबार गैरकानुनी हुने उनको भनाइ छ । गरगहना बनाउँदासमेत १० देखि १५ प्रतिशतसम्म लागत पर्ने अवस्थामा डिजिटल सुनको नाममा १५ प्रतिशतसम्म शुल्क असुल्नु अवैध काम भएको उनले बताए ।
सुन कारोबारको सम्बन्धमा राष्ट्र बैंकले सुनचाँदी तथा अन्य धातु खरिद, टकमरी र बिक्रीसम्बन्धी कार्यविधि, २०७५ नै बनाएको छ । जसअनुसार टकमरी, असर्फी, मेडल बनाएर बिक्री गर्न सकिने उल्लेख छ ।
यसरी भइरहेको छ डिजिटल सुनको अवैध कारोबार
माइपे गोल्डका अनुसार यसमा न्यूनतम एक सय रुपैयाँमा लगानी सुरु गर्न सकिन्छ । बजार मूल्यमै माइपे एपको माध्यमबाट सुन तथा चाँदी खरिद गर्न सकिने बताइएको छ । माइपे गोल्डमा लगानी गर्न वेबसाइट र माइपे गोल्ड एपको प्रयोग गर्न सकिने उल्लेख छ । यसमा कारोबार गर्न भने माइपे गोल्डमा आफ्नो बैंक खाता लिंक गर्नुपर्ने भनिएको छ । बैंकको कागजातको फोटो जस्तैः चेकबुक, खाताको स्क्रिनसटसमेत पेस गर्नुपर्ने उल्लेख छ । सुनचाँदी बिक्री गरेपछि बैंक खातामा एक कार्य दिनभित्र रकम जम्मा हुने दाबी गरिएको छ । माइपे गोल्डमार्फत सुन तथा चाँदी बिक्री गर्नका लागि न्यूनतम एक हजार रुपैयाँभन्दा बढी हुनुपर्ने सर्त छ ।
एक तोला सुन कारोबारमै कमाउँछ २० हजार ८०० भन्दा धेरै
अवैध डिजिटल सुनचाँदी कारोबार गराएको कम्पनीले विभिन्न शीर्षकमा १५ प्रतिशतसम्म कमिसन लिने गरेको छ । बैंक शुल्क भन्दै १० प्रतिशत, कारोबार गराएबापतको नाफामा २ देखि ३ प्रतिशत, आयकर भन्दै अग्रिम कर असुली (टिडिएस) कट्टी तथा एक वर्षभन्दा कम अवधिसम्म होल्ड गरेर सुन बिक्री गर्दा ३ प्रतिशत र एक वर्षसम्म राखेकाको हकमा २ प्रतिशत शुल्क लाग्ने नियम तोकेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ३९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । यही मूल्यमा एक तोला मात्रै सुन कारोबार गर्दा पनि कम्पनीले २० हजार ८ सय ८० रुपैयाँ कमाउने देखिन्छ । एक लाखसम्मको सुनचाँदी बिक्री भएको दुई कार्यदिनमै र १० लाख रुपैयाँसम्मको बिक्री भएको चार कार्यदिनमै लेनदेन सम्पन्न गर्ने कम्पनीको नियममा उल्लेख छ । त्यस्तै, १० लाखभन्दा बढीको सुनचाँदीको बिक्रीको कारोबारको ७ दिनभित्र लेनदेन सम्पन्न गरिने जनाइएको छ । कम्पनीले डिजिटल सुन २४ क्यारेटको ९९.९ प्रतिशत शुद्ध रहनेसमेत दाबी गरेको छ ।