१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:२४:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

हिमालयन हाइड्रो एक्स्पो तयारी अन्तिम चरणमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:२४:oo

चौथो संस्करणको ‘हिमालयन हाइड्रो एक्स्पो, २०२४’ को तयारी अन्तिम चरणमा पुगेको छ । लगानी सम्मेलनको पूर्वसन्ध्यामा १२, १३ र १४ वैशाखमा काठमाडौंमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त रूपमा गर्न लागेको एक्स्पोको तयारी अन्तिम चरणमा हो । 

सरकारले आगामी १६ र १७ वैशाखमा गर्न लागेको लगानी सम्मेलनलाई समेत सहयोग हुने गरी ‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित एक्स्पो गरिँदै छ । एक्स्पोको उद्‍घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नेछन् । ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय र लगानी बोर्ड नेपालको संरक्षकत्वमा आयोजना हुने हाइड्रो एक्स्पोको कन्ट्री पार्टनरमा भारतीय राजदूतावास छ । 

इप्पानका अध्यक्ष गणेश कार्कीले यो एक्स्पो ऊर्जा विकासका लागि प्रभावकारी हुने बताए । ‘सरकारलले १२ वर्षमा साढे २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । आगामी १० वर्षमा भारतमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने गरी दीर्घकालिन सम्झौता भइसकेको छ । यसैगरी, बंगलादेशमा पनि विद्युत् निर्यात गर्ने योजना छ । त्यो लक्ष्य प्राप्ति गर्न नेपालमा द्रुतगतिमा जलविद्युत् आयोजना बनाउनुपर्नेछ,’ उनले भने, ‘सोहीअनुसार ऊर्जा क्षेत्रलाई अगाडि बढाउन यसले सहयोग पुग्नेछ ।’

यस्तै, एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेजका प्रबन्ध निर्देशक विजयसागर प्रधानले एक्स्पो प्रवद्र्धकलाई पनि बढी फाइदाजनक हुने बताए । ‘एक्स्पोमा विदेशी कम्पनीहरूले जलविद्युत् परियोजनासम्बन्धी मेसिन तथा सामग्री प्रदर्शनीमा राख्छन् । त्यो अवस्थामा स्वदेशी प्रवद्र्धकलाई छनोटको अवसर हुन्छ । साथै, सम्बन्धीत कम्पनीसँग प्रत्यक्ष रूपमा भेटघाट गर्ने अवसर पनि हुन्छ,’ उनले भने, ‘यसैगरी जलविद्युत् परियोजनासम्बन्धी सामाग्री तथा मेसिस बनाउने कम्पनीलाई पनि बजार विस्तार गर्ने अवसर हुन्छ ।’ 

यस्तै, लगानी सम्मेलनको लागि पनि यो कार्यक्रम फाइदाजनक हुने उनको भनाइ छ । ‘सम्मेलनमा सोकेस हुने परियोजनामा अधिकांश ऊर्जासम्बन्धी नै छन् । त्यो अवस्थामा सम्मेलनकै पूर्वसन्ध्यामा एक्स्पो गर्दा लगानीकर्तालाई यहाँको ऊर्जा क्षेत्रबारे विस्तृत रूपमा जानकारीले बातावरण हुन्छ,’ उनले भने, ‘त्यो अवस्थामा यो कार्यक्रमले लगानीसमेत प्रवद्र्धन गर्छ ।’

विद्युत्को आन्तरिक खपत र निर्यात बढाउने सम्भावनाबारे ज्ञान र सूचना आदान प्रदान गर्न पनि एक्स्पो उचित हुने बताइएको छ । एक्स्पोमा ऊर्जा विकाससँग सरोकार राख्ने सबैलाई एकै थलोमा उपस्थित गराएर नीतिगत बहसका साथै नयाँ प्रविधि र उपकरणहरूको प्रर्दशनी गरिनेछ । एक्स्पोमा एक दर्जनभन्दा बढी देशका कम्पनीहरूको सहभागीता हुनेछ । 

एक्स्पोमा विभिन्न सात विषयमा प्राविधिकसत्र तथा अन्तरक्रिया हुनेछ । यसैगरि, हाइड्रोपावरसम्बन्धी वस्तु तथा सेवाको नयाँ अवधारणाबारे विद्यार्थी एवं व्यक्तिगत तवरबाट आविष्कार गरेका वस्तु तथा सेवाको प्रतिस्पर्धा पनि गरिनेछ । यसैगरी, युवा पुस्तालाई हाइड्रोसम्बन्धी कार्यमा अभिरुचि बढाउन समृद्धिका लागि हरित ऊर्जा विषयगत दुई मिनेटको भिडियो उत्पादन गर्ने प्रतिस्पर्धा एक्स्पोको आकर्षण बन्नेछन् । यी दुवै विधाका प्रतिष्पर्धाका विजेतालाई पुरस्कारको समेत व्यवस्था गरिएको छ ।