१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार o६:५४:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

एसिसी प्रिमियर कप : नेपालले सेमिफाइनलमा युएईको सामना गर्ने

साउदी अरेबियालाई ६ विकेटले हराएको नेपालले समूह ‘बी’को उपविजेता युएईविरुद्ध फाइनल प्रवेशका लागि खेल्ने

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o६:५४:oo

साबिक विजेता नेपालले दोस्रो एसिसी प्रिमियर कपको सेमिफाइनलमा युएईविरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ । नेपाल समूह ‘ए’को विजेता र युएई समूह ‘बी’को उपविजेताका रूपमा अन्तिम चारमा भिड्न लागेका हुन् । ओमानमा बुधबार भएको खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेट हराउँदै समूह विजेता बनेको हो । वर्षाले प्रभावित खेल आठ ओभरमा छोट्याइएको थियो । पहिलो ब्याटिङ गरेको साउदी अरेबियाले आठ ओभरमा सात विकेट गुमाएर ७३ रनको योगफल खडा गर्‍यो । प्रत्युत्तरमा नेपालले ७.२ ओभरमा चार विकेटको नोक्सानीमा ७५ रन बनायो । नेपालले चार बलअघि नै जित हात पारेको हो । 

हारसँगै साउदी अरेबियाको सेमिफाइनल पुग्ने सपना अधुरै रह्यो । समूह ‘ए’मा साउदी अरेबियाले चार खेलबाट २ अंक जोड्यो । नेपालविरुद्धको खेलमा जित निकालेको भए साउदी अरेबियाले हङकङ र कतारसँग समान ४ अंक बनाउने थियो । रनरेटका आधारमा साउदी अरेबिया अन्तिम चारमा पुग्ने थियो । तर, हारले साउदी अरेबियाको सेमिफाइनल खेल्ने सपना अधुरै रह्यो ।

कतार र हङकङले चार खेलमा समान ४ अंक जोडे । तर, रनरेटमा पछि परेपछि कतार अन्तिम चारमा पुग्न सकेन । अब हङकङले समूह ‘बी’को विजेता ओमानसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । समूह ‘ए’मा नेपाल अपराजित रह्यो । समूह ‘बी’मा ओमान पनि अपराजित रह्यो । युएईले ६ र कुवेतले ४ अंक बटुलेका छन् । कम्बोडियाले चारै खेल गुमाएको छ । बहराइन २ अंकका साथ चौथो स्थानमा रह्यो । 

अन्तिम १२ बलमा २० रन आवश्यक
लक्ष्य पछ्याएको इनिङ्समा नेपाललाई अन्तिम दुई ओभरमा २० रन आवश्यक थियो । इनिङ्सको छैटौँ ओभरमा वाजी उल हसनले बलिङ गरेका थिए । यस ओभरमा नेपालले १४ रन बटुलेको थियो । वाजी उलविरुद्ध नेपालका कप्तान रोहित पौडेलले १२ रन बटुले । अन्तिम ६ बलमा नेपाललाई जितका लागि ६ रन खाँचो भयो । गुल्सनले ७.२ ओभरमा हिसम शेखविरुद्ध चौका प्रहार गरी नेपाललाई रोमाञ्चक जित दिलाए ।

गुल्सनले १९ बलमा ३२ रन बटुले । उनले १९ बलमा समान दुई चौका र छक्का प्रहार गरी सर्वाधिक ३२ रनको योगदान दिए । रोहितले सात बलमा समान एक चौका र छक्काको सहयोगमा १६ रन बनाए । मध्यक्रमका दीपेन्द्रसिंह ऐरीले नौ बलमा तीन चौकाको सहयोगमा १७ रनको योगदान दिए । यसअघि ओपनर कुशल भुर्तेल शून्यमा आउट भए । आसिफ शेख र कुशल मल्लले समान २ रन बनाए । नेपालले इनिङ्सको दोस्रो ओभरमै विकेट गुमाएको थियो । 

साउदी अरेबियाको बलियो ब्याटिङ
नेपालविरुद्धको ‘गर या मर’को खेलमा साउदी अरेबियाले आक्रामक ब्याटिङ गरेको थियो । सुरुवाती कमजोर भएपछि अब्दुल वाहिदले विस्फोटक रूपमा ब्याटिङ गर्दा साउदी अरेबियाले नेपालविरुद्ध चुनौतीपूर्ण योगफल खडा गर्न सकेको हो । साउदी अरेबियाका अन्य खेलाडीले स्कोर बोर्डमा गतिलो रन बटुल्न सकेनन् । आठ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । तर, अब्दुलले १६ बलमा समान तीन चौका र छक्का प्रहार गरी सर्वाधिक ३७ रनको योगदान दिए ।

साउदी अरेबियाले प्रतिओभर ९.१२ रनरेटमा ब्याटिङ गरको थियो । बलिङमा करण केसीले २१ रन खर्चेर दुई विकेट हात पारे । उनले तीन छक्का बेहोरेका थिए । अविनाश बोहराले दुई ओभरमा १५ रन खर्चंदै दुई विकेट लिए । उनले पनि एक छक्का सामना गरे । दीपेन्द्रसिंहले एक ओभरमा ६ रन दिए । ललित राजवंशी र प्रतिश जिसीले समान एक विकेट लिए ।

नेपालको जितले हङकङ सेमिफाइनलमा
समूह ‘ए’को अन्तिम खेलमा हङकङले राम्रो रनरेटमा मलेसियालाई हराए मात्र सेमिफाइनल स्थान सुरक्षित हुने थिएन । अर्को खेलमा नेपालले साउदी अरेबियालाई पाखा लगाउनुपर्ने थियो । हङकङले चाहेजस्तो नतिजा आउँदा अन्तिम चारमा स्थान बनाएको हो । हङकङले सुरुमा मलेसियाविरुद्ध सात विकेटको सानदार जित निकाली रनरेट सुधार गर्दै समूह ‘ए’मा ४ अंक बनायो । अर्को खेलमा नेपालले साउदी अरेबियालाई हराएपछि हङकङ पनि अन्तिम चारको स्थान पक्का भयो ।

मलेसियाले पहिलो ब्याटिङ गरी नौ विकेट गुमाएर १४० रन बनाएको थियो । हङकङले १२.१ ओभरमा तीन विकेटको क्षतिमा १४४ रन जोड्यो । हङकङको जितमा बाबर हयातले ३५ बलमा ८३ रन बनाएका थिए । कप्तान निजाकत खानले २६ बलमा ४७ रन जोडे । 

बाबरले दुई चौका र नौ छक्का प्रहार गरे । निजाकतले चार चौका र दुई छक्का ठोके । हङकङले प्रतिओभर ११.६६ रन रेटमा ब्याटिङ गरेको थियो । बाबर र निजाकतले तेस्रो विकेटका लागि १०९ रनको साझेदारी गरेका थिए । यसैगरी, प्रतियोगिताअन्तर्गत अर्को खेलमा ओमानले कुवेतलाई ४६ रनले पराजित गर्‍यो । 

दीपेन्द्र टी–२० अलराउन्डर वरीयताको ११औँ स्थानमा
नेपालका दीपेन्द्रसिंह ऐरी आइसिसी टी–२० अलराउन्डर वरीयताको ११औँ स्थानमा रहेका छन् । आइसिसीले अप्रिलका लागि जारी गरेको वरीयतामा दीपेन्द्रसिंहले १४ स्थान सुधार गरेका हुन् । यसअघि उनी २५औँ स्थानमा थिए । उनले १४५ रेटिङ अंक जोडेका छन् । यसै साता उनले एसिसी प्रिमियर कपमा कतारविरुद्ध ६ बलमै छक्का प्रहार गरेका थिए । एकै ओभरमा ६ छक्का प्रहार उनी विश्वकै पाँचौँ र समग्र टी–२० मा तेस्रा खेलाडी हुन् ।

टी–२० अलराउन्डर दीपेन्द्र क्रिकेट जगत्मा नाम चलेका खेलाडीलाई पछि पार्न सफल भए । उनीभन्दा एक स्थान तल अस्ट्रेलियाका मिचेल मार्स, वेस्ट इन्डिजका जासन होल्डर, श्रीलंकाका दुसान संनाक, न्युजिल्यान्डका मिचेल सान्टनर र अस्ट्रेलियाका ग्लेन म्याक्सवेल रहेका छन् । ब्याटिङतर्फको विश्व वरीयतामा उनी १६ स्थान सुधार गर्दै ६२औँ स्थानमा उक्लिएका छन् । नेपालका कप्तान रोहित पौडेल ५३औँ स्थानमा रहे । 

ad
ad