१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार १४:o४:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सत्तामा बसेकाहरूले कांग्रेसमाथि प्रहार गर्दै आएका छन् : प्रदेश सभापति बानियाँ

सरकारमा बसेकाहरूले सहकारीको नाममा अर्बौं लुटेकाले जनताले न्याय नदिलाई कांग्रेस नथाक्ने बानियाँको भनाइ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १४:o४:oo

नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले इतिहासदेखि नै सत्तामा बसेकाहरूले कांग्रेस पार्टीमाथि कुन न कुनै रूपमा प्रहार गर्दै आएको बताएका छन्। 
त्यस्तो प्रहारबाट कांग्रेसका नेता–कार्यकर्ता विचलित हुन नहुने उनको भनाइ छ।

कांग्रेस मकवानपुरले आज आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षणलाई सम्बोधन गर्दै सभापति बानियाँले भने, ‘नेपाली कांग्रेसको जन्म नै जनतामाथि भएका अन्याय, अत्याचारविरुद्ध संघर्षका लागि भएको हो। त्यसैले अहिले सरकारमा बसेकाहरूले कांग्रेसमाथि अनेक आक्रमण गरिरहेका छन् भनेर चिन्ता गर्न हुँदैन, हामी जनताको पक्षमा हिजो पनि थियौँ र आज पनि छौँ।’

जहानियाँ राणाशासनको दमनबाट पिल्सिएका जनतालाई न्याय, समानता र स्वतन्त्रता प्रदान गर्न कांग्रेसकै नेतृत्वमा संघर्ष भएको र २००७ सालमा मुलुकमा प्रजातन्त्र प्राप्त भएको चर्चा गर्दै उनले तत्कालीन राजा महेन्द्रले लादेको निरंकुश पञ्चायत ढालेर ०४७ सालमा बहुदलीय व्यवस्था पुनर्स्थापना गर्न पनि कांग्रेसले नै नेतृत्व गरेको बताए।

०५२ देखि मानवता बिर्सिएर मान्छेले मान्छे मार्दै माओवादीले चलाएको हिंसा बिसाउँदै ०६२ सालमा शान्तिपूर्ण राजनीतिक मूलधारमा ल्याउन कांग्रेसले नै नेतृत्व गरेको भन्दै उनले जहिल्यै जनताका अधिकार कुण्ठित हुँदा कांग्रेसले संघर्ष गरेको इतिहास स्मरण गरे।

उनले कांग्रेस सबैको अस्तित्व स्वीकार गर्ने पार्टी भएको भन्दै त्यसैले राजा खोज्नेदेखि हतियारको बलमा सत्ता कब्जा गर्छु भन्नेहरूलाई पनि कांग्रेसले लोकतान्त्रिक चरित्रमा ढाल्न सफल भएको जिकिर गरे। 

सहकारीको नाममा लाखौँ जनताका अर्बौँ रुपैयाँ लुटेकाहरू अहिले सरकारमा बसिरहेको भन्दै उनले लुटको निष्पक्ष छानबिन र जनतालाई न्याय दिलाउन कांग्रेसले निरन्तर संघर्ष गरिरहने बताए ।  

‘देशभरका लाखौँ जनताको अर्बौँ रुपैयाँ सहकारीको नाममा लुटिएको छ। त्यस्तो लुटमा संलग्न व्यक्तिहरू नै अहिले सत्तामा छन्। त्यसैले कांग्रेसले निरन्तर संसदीय छानबिन समितिको माग गरिरहेको हो,’ उनले भने, ‘संसदीय छानबिन समिति बनाएर जनतालाई न्याय नदिलाएसम्म कांग्रेस रोकिनेछैन।’ 

उनले कांग्रेस लोकतन्त्रप्रति प्रतिबद्ध रहेको भन्दै विगतमा कांग्रेस नेतृत्वको सरकारका पालाका अर्थमन्त्री जनार्दन शर्माको विषयमा छानबिन गर्न प्रतिपक्षी दलले आवाज उठाएपछि त्यसको सुनुवाइ गर्दै संसदीय छानबिन समिति गठन गरेको र मन्त्रीलाई राजीनामा गर्नसमेत लगाएको स्मरण गरे।

‘कांग्रेस सधैँ लोकतन्त्र र विधिको शासनप्रति प्रतिबद्ध छ। अहिले हामीले त्यही मागिरहेका छौँ । तर, अहिले सत्तामा रहेकाहरू आफैँले सहकारीको नाममा जनताको सम्पत्ति लुटेका छन्, अनि आफैँ अनुसन्धान गर्नुपर्ने निकायको प्रमुख बनेर अनुसन्धान प्रभावित गरिरहेका छन्,’ सभापति बानियाँले भने।

बागमती प्रदेश सभाका सदस्यसमेत रहेका बानियाँले अब पार्टीभित्र शुद्धीकरणमा जोड दिनुपर्ने बताए । पार्टीभित्र आन्तरिक प्रतिस्पर्धाहरू स्वाभाविक रूपमा हुने भए पनि त्यसलाई जित र हारको रूपमा लिन नहुने उनको भनाइ थियो । उनले सिंगो पार्टी एकढिक्का भएर संगठन निर्माण गर्दै जनतासँग दरिलो सम्बन्ध स्थापनाका लागि क्रियाशील हुन निर्देशनसमेत दिए। 

ad
ad