१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १७ सोमबार o६:o७:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

धितोपत्रको ‘इन्साइडर ट्रेडिङ’ अनुसन्धान अब प्रहरीले गर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o६:o७:oo

अब धितोपत्र बोर्डमा हुने इन्साइडर ट्रेडिङको अनुसन्धान नेपाल प्रहरीले गर्ने भएको छ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको ऐन सोमबार राजपत्रमा प्रकाशित भएसँगैे प्रहरीले यस्तो अनुसन्धान गर्ने बाटो खुलेको हो । दुवै सदनबाट पारित भएको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट ३० चैतमा प्रमाणीकरण भएको थियो । जसमा धितोपत्रसम्बन्धी ऐन, २०६३ का केही दफालाई संशोधन गरिएको छ ।

पहिला इन्साइडर ट्रेडिङको आशंका भएमा धितोपत्र बोर्डले प्रारम्भिक अनुसन्धान गरेर सरकारी वकिल कार्यालयमा मुद्दा दायर गथ्र्यो । अब भने धितोपत्र बोर्डले प्रारम्भिक अनुसन्धानपछि सीधै प्रहरीले अनुसन्धान गर्न सक्ने भएको छ । दफा ८६ को विभिन्न स्थानमा रहेको तहकिकात गर्दा तहकिकात गर्ने अधिकारीले भन्ने शब्दको सट्टा अहिले ‘अनुसन्धान गर्ने अधिकारी’ भन्ने शब्द राखिएको छ ।

पहिला बोर्डले नै अनुसन्धान अधिकृत तोकेर अनुसन्धान गर्ने व्यवस्था थियो, तर अहिले प्रहरीले नै अनुसन्धान अधिकारी तोकेर अनुसन्धान गर्ने व्यवस्था गरिएको छ । प्रहरीले अनुसन्धान गरी प्रतिवेदन तयार गरेर सरकारी वकिल कार्यालयमा मुद्दा दायर गर्ने व्यवस्था गरिएको छ । प्रतिवेदन प्राप्त भएपछि सरकारी वकिलले पैँतीस दिनभित्र जिल्ला अदालतमा मुद्दा दायर गर्नुपर्नेछ । 

भित्री सूचना वा जानकारीका आधारमा हुन सक्ने कारोबार, झुटो कारोबार, मूल्यमा उत्तारचढाव, धितोपत्र बजारलाई प्रभावित पारेमा, झुक्याउने विवरण दिने, जालसाजीयुक्त कारोबार, जालसाज गरी वा झुक्याउनमा पारी धितोपत्र कारोबार गर्न नहुने, लिखित, विवरण वा अभिलेख नष्ट गरेमा वा लुकाएमा बोर्ड अध्यक्षले अधिकृतस्तरको कर्मचारीमार्फत प्रारम्भिक जाँचबुझ गराउनुपर्ने ऐनमा उल्लेख छ ।  

 अर्थ मन्त्रालयकै सदस्यलाई अध्यक्षको जिम्मेवारी 
संशोधित ऐनले बोर्डमा अध्यक्ष रिक्त भएको अवस्थामा अर्थ मन्त्रालयकै बोर्ड सदस्यले अध्यक्षको हैसियतमा काम गर्न पाउने अधिकार दिएको छ । सरकारले निजलाई पदबाट हटाएमा, निलम्बनमा परी बोर्डको कामकाज गर्न नमिल्ने भएमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्डकै अध्यक्षको हैसियतमा काम गर्ने व्यवस्था थप गरिएको हो ।

  संशोधित ऐनले बजारमा प्रभाव 
भित्री सूचनाका आधारमा हुन सक्ने कारोबारको अनुसन्धान प्रहरीले गर्न सक्ने भएपछि त्यसको प्रभाव सेयर बजारमा पनि देखिएको छ । सोमबार नेप्से सूचक १६ दशमलव ८२ विन्दुले घटेर दुई हजार ६ दशमलव ५२ विन्दुमा आइपुगेको छ । आइतबार दुई दशमलव ३५ अंकले घटेको बजार सोमबार पुनः ठूलो अंकले घट्नुुलाई संशोधित ऐनको मनोवैज्ञानिक कारण रहेको एक ब्रोकरले बताए । उनले भने, ‘एक हिसाबले प्रहरीले अनुसन्धान गर्नु ठिकै भए पनि नियामक निकाय नै छ नि, आवश्यक परे उसले नि सक्छ नि, किन प्रहरी भन्ने त्रास देखिएको पक्कै हो ।’

धितोपत्र र ऋणपत्र गरी तीन सय १४ कम्पनीको दुई अर्ब ७९ करोड ७५ लाख रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार न्यादी ग्रुप पावरको १७ करोड ७३ लाख रुपैयाँको भएको छ भने सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको सात करोड ७० लाख रुपैयाँको कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्स, सूर्यज्योति लाइफ इन्स्योरेन्स, सानिमा माई हाइड्रोपावरको सेयर मूल्य ६ करोड ३१ लाख रुपैयाँदेखि ६ करोड ९१ लाख रुपैयाँसम्मको कारोबार भएको छ । 
 

ad
ad