
नेकपा एमालेले आज (आइतबार) केन्द्रीय सचिवालय बैठक बोलाएको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने गरी बोलाइएको हो । कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, नेकपाको ७५औँ स्थापना दिवस, १५ वैशाखमा हुने उपनिर्वाचनलगायत समसामयिक विषयमा छलफल हुनेछ ।
एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक यही ८ र ९ वैशाखमा ललितपुरको गोदावरीमा हुँदै छ । बैठकको व्यवस्थापकीय तयारीका लागि एमालेले उपमहासचिव विष्णु रिमालको संयोजकत्वमा कमिटी बनाएर काम गरिरहेको छ ।
यस्तै, महासचिव शंकर पोखरेलले दस्तावेज लेखन गरिरहेका छन् । परिषद् बैठक सकिएपछि पार्टी स्थापनाको ७५औँ वर्षगाँठलाई हिरक महोत्सवका रूपमा १० वैशाखमा मनाउने गरी तयारी गरिरहेको छ । तिनै विषयमा केन्द्रित रहेर छलफल गर्ने गरी एमालेले बैठक बोलाएको हो ।