१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नासाले भूउपग्रहबाट लिएको नेपालको पछिल्लो २४ घण्टाको डढेलो
२o८१ जेठ ५ शनिबार o६:१७:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

डोल्पामा डढेलोले सातामै लियो ६ को ज्यान

डढेलो निभाउन गएका तीन सैनिक र च्याउ टिप्न गएका तीन बालकको छुट्टाछुट्टै घटनामा मृत्यु 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o६:१७:oo

डोल्पामा डढेलोबाट एक सातामै ६ जनाको ज्यान गएको छ । डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालका अनुसार वनमा लागेको डढेलो निभाउने क्रममा डढेर घाइते भएका नेपाली सेनाका तीनजना र च्याउ टिप्न गएका तीन बालक गरी ६ जनाको ज्यान गएको हो । 

डढेलोमा परी घाइते सेनाका प्युठको काठमाडौंमा उपचार भइरहेको छ । गुच्ची च्याउ टिप्न गएका तीन बालक २९ चैतमा त्रिपुरासुन्दर नगरपालिका– ४ स्थित सुँ सामुदायिक वनमा लागेको डढेलोमा परी घाइते भएका थिए । १२ वर्षीय विवश बुढा र १३ वर्षीय समन्त बुढाको शनिबार काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रजिअ दाहालले जानकारी दिए ।

सोही घटनामा घाइते भएका १० वर्षीय सुलस बुढाको ३० चैतमा जिल्ला अस्पताल डोल्पामा उपचारका क्रममा मृत्यु भएको थियो । आगलागीमा परी एकै गाउँका तीन बालकको मृत्यु भएपछि सिंगो गाउँ शोकमा डुबेको त्रिपुरासुन्दरी– ४ का वडाध्यक्ष रञ्जित बुढाले बताए । ‘यसपटक गाउँमा नयाँ वर्ष मनाउन पाइएन,’ उनले भने । 

डढेलो निभाउन गएका तीन सैनिकको ज्यान गयो, एक सिकिस्त
बालकको ज्यान जाने गरी भएको घटनाको तीन दिनअघि मात्र डढेलोबाट डोल्पामै तीन सैनिकको ज्यान गएको थियो । २६ चैतमा ठूलीभेरी नगरपालिका– ४ स्थित मस्टा सामुदायिक वनमा लागेको डढेलो निभाउन गएका सेनाको देवीदत्त गुल्म ‘क’मा कार्यरत सैनिक घाइते भएका थिए ।

जुम्लाका सिपाही हेमन्त रावल, २३ वर्षीय जवान आशिष बुढा र काभ्रे घर भएका ३८ वर्षीय जमदार केशरबहादुर जर्गामगरको मृत्यु भएको थियो । रावलको जिल्ला अस्पताल दुनैमा तथा बुढा र मगरको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा ज्यान गएको थियो ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत सुर्खेत जरबुटाका प्युठ विजय कोइरालाको स्वास्थ्य अवस्था सुधारोन्मुख भए पनि खतरामुक्त नभएको चिकित्सकले जनाएको प्रजिअ दाहालले बताए । ‘चिकित्सकले घाइते सैनिकको स्वास्थ्य अवस्था सुधारोन्मुख भए पनि अझैँ खतरामुक्त नभएको जानकारी गराउनुभएको छ,’ प्रजिअ दाहालले भने ।

डोल्पाको विभिन्न सामुदायिक वनमा केही दिनदेखि डढेलो सल्किएको छ । वनमा लागेको डढेलो नियन्त्रण गर्न नेपाली सेनाका दुईवटा गुल्म, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयको टोली खटिए पनि नियन्त्रणमा आउन सकेको छैन । 

जलनका बिरामीलाई काठमाडौं लैजानुपर्ने बाध्यता छ : डा. अखण्ड उपाध्याय जिल्ला अस्पताल डोल्पा
डढेलोमा परेर ज्यान गुमाउने विपन्न हुन् । च्याउ, जडीबुटी खोज्न गएकाहरू डढेलोमा पर्ने गरेका छन् । डोल्पामै डढेलो निभाउन गएका सैनिक पनि परे । यो विपन्नमाथि बढी आइलाग्ने समस्या हो । तालिमप्राप्त व्यक्तिले आगो, डढेलो निभाउनुपर्छ । कपडा, रुखका हाँगा, माटोले वनजंगलको डढेलो निभाउन खोज्नु मूर्खता हुन्छ ।

डढेलो निभाउँदा हावा कतातिर चलेको छ भनेर पनि ख्याल गर्नुपर्छ । शरीरमा आगो लागिसकेपछि छालामा पोलेजस्तो देखिए पनि धेरै क्षति भएको हुन सक्छ । जलन भइसकेपछि पहिलो १२ घण्टा निकै महत्वपूर्ण हुन्छ । घाइतेलाई पर्याप्त पानी, प्राथमिक उपचार चाहिन्छ । जलन कम भए पनि धूवाँका कारण श्वास फेर्न गाह्रो हुन्छ । बाहिर सामान्य देखिए पनि जलनका कारण स्वरनली सुन्निने हुन्छ । 

जिल्ला अस्पताल वा प्राथमिक स्वास्थ्य केन्द्र मात्र होइन ठूला अस्पतालमा पनि जलनको विशिष्टीकृत उपचार सेवा छैन, छुट्टै जनशक्ति छैन । सामान्य जलन हुँदा पनि उपचारका लागि काठमाडौं जानुपर्ने बाध्यता छ । आगो, डढेलोबाट घाइते भएकालाई हेलिकोप्टर चार्टर गरेर लैजान १२–१५ लाख खर्च हुन्छ । त्यो पैसा पालिका, प्रदेश सरकार वा नेपाल सरकार जसले व्यहोरे पनि ठूलो पैसा खर्च भइरहेको छ । बरु सरकारले हरेक प्रदेशमा जलनका बिरामीका लागि विशिष्टीकृत उपचार सेवा सुरु गर्नुपर्छ । हरेक ठूला अस्पतालमा जलनका बिरामीका लागि बेड छुट्याउनुपर्छ । 

ad
ad