१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार o६:१२:oo
Read Time : > 1 मिनेट
ad
ad
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : गुरु–शिष्यको संवाद

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o६:१२:oo

उहिल्यै प्राचीन कालमा कोसी नदीको किनारमा एक ज्ञानामृत नामका साधुको आश्रम थियो । उनको आश्रममा थुप्रै शिष्य ज्ञानको खोजीमा आउँथे । गुरु ज्ञानामृत कठोर अनुशासनमा बस्थे । उनी सुकेको परालमा सुत्थे । शाकाहारी भोजन गर्थे । दैनिक कठोर साधनामा लीन हुन्थे । उनको ज्ञान र तपस्वीसमान जीवनको निकै टाढाटाढासम्म चर्चा हुने गथ्र्यो ।

ज्ञानामृतको त्यस्तो कठोर साधना तथा संयमित दिनचर्याबाट प्रभावित भएर उनका एक शिष्य ज्ञानभद्रले उनको अनुसरण गरेर छिटै ज्ञानमा निपुण हुने विचार गरे । यस्तो विचार मनमा आउनासाथ उनले पनि गुरुले झैँ सुकेको पराललाई आफ्नो शय्या बनाए । खानपिनमा सुधार गरे । साधनामा पनि लीन भएजस्तो गर्न थाले । उनको दैनिक व्यवहारमा निकै परिवर्तन देखिन थाल्यो । उनी पढाइतिर भन्दा पनि गुरुको बाहिरी आवरण र बानीबेहोराको नक्कलमा जुटिरहे । 

यो सब अनुभूत गरिरहेका ज्ञानामृतले उनीसित सोधे— बाबु ज्ञानभद्र, हिजोआज तिमीमा निकै परिवर्तन आएको महसुस गरिरहेको छु । यो सब के भइरहेको छ ? गुरुको प्रश्न सुनेपछि शिष्य ज्ञानभद्रले विनम्रतापूर्वक भने— गुरु म हजुरजस्तै बनेर छिटै ज्ञानमा निपुण हुन चाहन्छु । यी हेर्नुहोस् त, यी मेरा श्वेत वस्त्रले मेरो विशुद्ध ज्ञानको खोजीलाई दर्साउँछन् ।

मेरो शाकाहारी भोजनले मेरो शरीरमा सात्विकता वृद्धि हुनेछ । र, सुख, सुविधाबाट टाढै बस्ने मेरो दैनिकीले मलाई आध्यात्मिक पथमा अग्रसर गराउनेछ । ज्ञानभद्रका कुरा सुनेपछि गुरु मुसुक्क मुस्कुराए र आफ्ना शिष्यलाई लिएर उनी खेततिर लागे । त्यहाँ एउटा सेतो घोडा चरिरहेको थियो ।

गुरुले सो घोडालाई देखाउँदै शिष्यसित भने— तिमीले यो घोडालाई देख्यौ ? यसको रौँ सेतो छ । यो केवल घाँस, दाना र पानी मात्र खान्छ । तबेलामा परालमाथि नै सुत्छ । के तिमी यस घोडामा अलिकति पनि साधुता देख्छौ ? के तिमीलाई लाग्छ कि भविष्यमा यो घोडा छिटै ज्ञानमा पूर्ण हुनेछ ? त्यसैले, तिमीले मेरो बाहिरी आवरण र आचरणको नक्कल गर्ने होइन, अध्ययन कार्यमा मन लगाऊ अनि मात्र तिमी महान् विद्वान् बन्न सक्छौ । गुरुको भनाइले ज्ञानभद्रका आँखा खुले ।

ad
ad