१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format ११:४५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले खोटाङको सचिवमा राई निर्विरोध, अध्यक्षसहित अन्य पदाधिकारीमा निर्वाचन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:४५:oo

नेकपा एमाले खोटाङको सचिवमा सुरेन्द्रकुमार राई निर्विरोध निर्वाचित भएका छन्। दिक्तेलस्थित माटिकारेमा जारी आठौँ जिल्ला अधिवेशनअन्तर्गत बिहीबार मनोनयनका क्रममा सचिवमा राईको मात्रै उम्मेदवारी परेपछि निर्वाचन समितिले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो। 

निर्धारित समयमा अन्य आकांक्षीको उम्मेदवारी नपरेपछि राई स्वतः सचिवमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। हलेसी तुवाचुङ नगरपालिका– ३ च्यास्मीटारका राई यसअघि एमाले खोटाङको उपसचिव थिए।

०५१ सालमा आरआर क्याम्पसको रात्रि सिफ्ट समिति सदस्यबाट मूलधारको राजनीतिमा प्रवेश गरेका राईले अनेरास्ववियु खोटाङको अध्यक्ष, अखिलको तत्कालीन सगरमाथा उपाध्यक्ष, केन्द्रीय सदस्य, तत्कालीन युथफोर्सको जिल्ला अध्यक्ष, युवा संघको केन्द्रीय सदस्य तथा तीन कार्यकाल एमाले खोटाङको सचिवालय सदस्य हुँदै जिल्ला सचिवमा फड्को मारेका हुन्।

सरल, सहयोगी र सादगी जीवनशैलीको पहिचान बनाएका राईको उचित सम्मान र मूल्यांकन भएको एमालेजनमा चर्चा भइरहेको छ। अधिवेशनमा पदाधिकारीबाहेक अधिकांश सदस्य पनि निर्विरोध भएका छन्।

एमालेको जिल्ला अध्यक्षका लागि निवर्तमान अध्यक्ष रामप्रसाद दंगाल र निवर्तमान उपाध्यक्ष देवविक्रम राई चुनावी मैदानमा उत्रिएका छन्। सर्वसम्मत नयाँ नेतृत्व चयनका लागि भएको छलफलमा सहमति नजुट्दा दंगाल र राई आमने–सामने भएका हुन्।

निर्वाचन समितिले प्रकाशित गरेको नामावलीअनुसार उपाध्यक्षमा निवर्तमान सचिव कुमार आचार्य र सचिवालय सदस्य उपिनकुमार राईले उम्मेदवारी दिएका छन्। खुलातर्फको एकजना उपसचिवका लागि आठजनाले मनोनयन दर्ता गरेका छन्।

उपसचिवका लागि कमल ढकाल, गीरेन्द्रबहादुर राई, गोपालचन्द्र आचार्य, गोपीकृष्ण खड्का, चक्रबहादुर राई (दिलचक्र), दिनेशकुमार राई, राजनकुमार बञ्जरा र युवराज रिजालको उम्मेदवारी परेको छ। महिला उपसचिवमा कविता राई र भगवती प्रधानको मनोनयन दर्ता भएको उम्मेदवारको प्रारम्भिक नामावलीमा उल्लेख छ।

अधिवेशनमा पाँच सय ७९ प्रतिनिधिको सहभागी रहेको एमालेले जनाएको छ। एमाले खोटाङको इतिहासमा नेतृत्व चयनका क्रममा पहिलोपटक निर्वाचन हुन लागेको हो।

जिल्ला सचिवालय सदस्य एवं दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख लोकेन्द्र राई प्रस्तावक र एमाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका कार्यसमिति अध्यक्ष गोपालचन्द्र आचार्यको समर्थनमा दंगालले उम्मेदवारी दर्ता गराएका छन्। अध्यक्षका अर्का उम्मेदवार राईको प्रस्तावकमा प्रकाश पौडेल र समर्थकमा अर्जुन रोका रहेका छन्।

निवर्तमान अध्यक्ष दंगाललाई केन्द्रीय सदस्य उषाकला राई, रमेश पौडेल, खगेन्द्र राईलगायतको साथ रहेको छ भने वर्तमान निवर्तमान उपाध्यक्ष राईलाई पोलिटब्युरो सदस्य विशाल भट्टराईलगायतको साथ छ। सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि एमाले खोटाङमा दुई धार देखिएको छ।