मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
बारास्थित पूर्व–पश्चिम लोकमार्गअन्तर्गत निजगढ–पथलैया सडकखण्डमा पर्ने पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा लागेको डढेलो ।
Invalid date format o८:१७:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मधेशका वनमा जताततै डढेलो

रौतहटमा २२ हजार हेक्टर र पर्सा राष्ट्रिय निकुञ्जको सय हेक्टरभन्दा बढी स्थानमा डढेलो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:१७:oo

केही दिनयता मधेशको वन क्षेत्रमा जताततै डढेलो लागेको छ । डढेलोले ससाना बिरुवा नष्ट हुन थालेका छन् भने पूर्व–पश्चिम राजमार्गमा समेत यात्रा गर्न खतरा भएको छ । गर्मीयाम सुरु भएसँगै डढेलो फैलिँदै गएको हो । यतिवेला मधेशका विभिन्न जिल्लाको वन क्षेत्रभित्रका राष्ट्रिय वन (सामुदायिक वन), साझेदारी वनमा तथा पूर्व–पश्चिम लोकमार्गवरपरका वन क्षेत्रमा धूवाँको मुस्लो जताततै देखिन्छ । 

मधेशमा सबैभन्दा बढी रौतहटमा २२ हजार हेक्टरमा डढेलो लागेको छ । भुइँ आगोका कारण यस क्षेत्रमा डढेलो नियन्त्रणमा लिनसमेत सकिएको छैन । पर्सा राष्ट्रिय निकुञ्जको सय हेक्टरभन्दा बढी स्थानमा डढेलो लागेको छ । बारामा ५०, महोत्तरीमा ३०, धनुषामा २०, सिराहामा १०, सप्तरीमा २० हेक्टर क्षेत्रमा डढेलोले क्षति गरिसकेको छ । सर्लाहीमा भने फाट्टफुट्ट आगलागी भए पनि तुरुन्तै नियन्त्रण लिइएका कारण क्षति हुन नसकेको डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख मन्जुर अहमदले जानकारी दिए । डढेलोले वन्यजन्तु, बोटविरुवा, वनस्पति, जडीबुटी र काठ–दाउरालगायत जैविक तथा पर्यावरणीय क्षति बढ्दो छ । 

बाराको निजगढ, कोल्हवी र जितपुरसिमरा नगर क्षेत्रभित्र राष्ट्रिय निकुञ्ज, राष्ट्रिय वन छन् । केही दिनअघि निकै संवेदनशील मानिने पेट्रोलियम पदार्थको भण्डारण रहेको नेपाल आयल निगम अमलेखगन्ज डिपोनजिकैको पर्सा राष्ट्रिय निकुञ्जको वनमा डढेलो लागेको थियो । पेट्रोलियम पदार्थ भण्डारण भएको नजिकैको वनमा डढेलो लागेका कारण स्थानीय डराएका थिए । तर, वन, निकुञ्ज, प्रहरी, सेना र स्थानीयको प्रयासमा डढेलो नियन्त्रण आयो । ‘यहाँ डढेलो लगाउनेहरू कहिल्यै समातिँदैनन्,’ जितपुरसिमरा उपमहानगरपालिका– २१ का वडाध्यक्ष सुभाष श्रेष्ठले भने, ‘डढेलो बस्तीमै आइपुग्ने चिन्ताले राम्ररी सुत्न सकिने अवस्था छैन । पेट्रोलियम पदार्थ भण्डारणछेउको जंगलमा आगो लागेकाले रातभर जाग्राम बस्नुको विकल्प छैन ।’

जितपुरसिमरा उपमहानगरपालिका– २१ का वडाध्यक्ष सुभाष श्रेष्ठ भन्छन् – यहाँ डढेलो लगाउनेहरू कहिल्यै समातिँदैनन् । डढेलो बस्तीमै आइपुग्ने चिन्ताले राम्ररी सुत्न सकिने अवस्था छैन । पेट्रोलियम पदार्थ भण्डारणछेउको जंगलमा आगो लागेकाले रातभर जाग्राम बस्नुको विकल्प छैन ।’

वनसम्पदा सुरक्षामा नभई वनको उपभोगमा मात्र लागेका कारण वनका कर्मचारीको उदासीनताले वन उजाड हुँदै गएको रौतहटको चन्द्रपुर नगरपालिका– ६ स्थित लमहाकी फूलमाया पुलामीले बताइन् । ‘दिनदिनै डढेलोले वन खरानी हुँदै छ,’ उनले भनिन् । डढेलो नियन्त्रणमा सर्वसाधारणको सहयोग आवश्यक भएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्रकुमार मिश्रले बताए । वन क्षेत्रको नियमित गस्ती र कारबाही प्रक्रिया दुरुस्त गर्न वन सुरक्षा र जिल्लास्थित अन्य सुरक्षा निकायको समन्वयमा संयुक्त टोली बनाएर संयुक्त गस्ती बढाइनुपर्छ भने वन क्षेत्रभित्र सशस्त्र प्रहरी पोस्टसमेत सञ्चालनमा भए सर्वसाधारणले वनमा डढेलो लगाउने हिम्मत गर्ने थिएनन् । एकैचोटि ठूलो स्तरमा आगलागी हुँदा जनावरहरूलाई जोगिन गाह्रो हुने सामुदायिक वन उपभोक्ता महासंघ बाराका अध्यक्ष रामजी बजगाईं बताउँछन् । 

 डढेलोका कारण मधेशमा वायु प्रदूषण
मधेशका विभिन्न वनजंगलमा डढेलो लाग्दा वायु प्रदूषणसमेत बढेको छ । वायु प्रदूषणकै कारण सिमरा विमानस्थलमा करिब एक हप्ता सम्पूर्ण उडान डिले गरिएको सिमरा नागरिक उड्डयन कार्यालयका प्रमुख तथा विमानस्थल प्रबन्धक सूर्यबहादुर खत्रीले जानकारी दिए । डढेलोका कारण पूर्व–पश्चिम लोकमार्गमा चल्ने सवारीसाधनका चालकलाई समेत आँखा पोल्ने, बाटोमा विपरीत दिशाबाट आएका सवारीसाधनसमेत देखिने अवस्था नभएको चालकले गुनासो गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक रामकुमार महतोले बताए । ‘यस भेगमा चल्ने सवारीसाधनका चालकहरूले जंगलमा लागेको आगलागीका कारण सवारी चलाउनसमेत कठिन भएको गुनासो गरेपछि हामीले वनलाई यसबारे जानकारी गराएका थियौँ,’ उनले भने ।

यसैगरी, मन्थली नगरपालिका– ९ पुरानागाउँको लामाटोलमा आगलागीमा परी एक वृद्धा गम्भीर घाइते भएकी छिन् । बिहीबार बिहान घरनजिकैको बारीमा जम्मा गरी राखेको पत्कर पोल्न निस्किएकी ८५ वर्षीया लालमाया तामाङ आगलागीमा परी घाइते भएकी हुन् । पत्कर सल्काउने क्रममा दनदनी बलेको आगो उनको शरीरमा सल्किँदा उनी गम्भीर घाइते भएकी थिइन् । आगलागीमा परेकी लालमाया चिच्याएको सुनेपछि उनलाई घटनास्थलबाट तत्काल उद्धार गरिएको थियो ।