१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
सागर घले
२o८१ बैशाख १९ बुधबार o८:३३:oo
Read Time : > 4 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

विद्यार्थीलाई पढ्दै कमाउने वातावरण खै ?

Read Time : > 4 मिनेट
सागर घले
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o८:३३:oo

हाम्रो शिक्षाको सबैभन्दा कमजोर पाटो भनेको शिक्षाले विद्यार्थीलाई रोजगारीसित जोड्न नसक्नु हो 

कसैले १२ कक्षा उत्तीर्ण गरेका कुनै विद्यार्थीलाई अब के गर्छौ भनेर सोध्यो भने लगभग ७० प्रतिशतले विदेश जान्छु भन्ने जवाफ दिन्छन् । यस प्रश्नको उत्तर सुन्दा जति सामान्य लाग्छ त्यति नै गम्भीर पनि छ । कसरी सिर्जना भयो त यस्तो परिस्थिति जसले गर्दा आमविद्यार्थी नेपालमा बस्नै चाहन्नन् ? यस प्रश्नमाथि कुनै पनि जिम्मेवार अधिकारीले चासो दिएकै छैनन् ।

शिक्षा मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा एक लाख १० हजार दुई सय १७ विद्यार्थीले वैदेशिक अध्ययनका लागि ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिएका छन्, जुन १० वर्षको तुलनामा चार गुणा बढी हो । यसैगरी, विद्यार्थी पलायनबाहेक गत आर्थिक वर्षमा वैदेशिक रोजगारीको स्वीकृति लिने नेपाली कामदारको संख्या सात लाख ७४ हजार नौ सय ७६ छ । विभिन्न क्षेत्रमा आबद्ध युवा नेपालमा अवसर भएन, काम गर्ने वातावरण भएन भन्ने गुनासो गर्छन् । यसैगरी, विद्यार्थी पनि नेपालको शिक्षा प्रणाली कमजोर भयो भन्दै आफ्ना गुनासा सामाजिक सञ्जालमार्फत पोखिरहेका हुन्छन् । देशमै केही गर्छु भनेर बसेका युवा पनि बिस्तारै निरुत्साहित हुँदै गएका देखिनु चिन्ताको विषय हो । 

पछिल्लो समयमा शिक्षा मन्त्रालयमा मन्त्रीका रूपमा सुमना श्रेष्ठ आउनुभएको छ । नयाँ अनुहारले केही न केही सुधार ल्याउँछ कि भन्ने आशामा धेरैमा छ । तर, शिक्षामन्त्री फेरिँदैमा नेपालबाट विद्यार्थी बाहिरिन छाड्छन भन्नु भ्रम नै हो । तर, मन्त्री एकजनाले मात्र पनि शिक्षा क्षेत्रको सुधारमा इमानदारीपूर्वक काम गर्ने हो सुधार कठिन पनि छैन । 

हाम्रो देशको शिक्षाको सबैभन्दा कमजोर पाटो भनेको शिक्षाले विद्यार्थीलाई रोजगारीसित जोड्न नसक्नु हो । खै त यहाँ पढ्दै काम गर्ने वातावरण र शैक्षिक प्रणाली ? कुनै विद्यार्थीले पढ्दै काम गर्न पायो भने पो उसमा कामप्रतिको लगाव, समर्पण र विश्वास बढ्छ । साथै, काम गरेर मजाले परिवारमाझ बाँच्न सकिन्छ भन्ने आत्मविश्वास पनि जाग्छ । तर, हाम्रो राज्यको ध्यान यसतर्फ फिटिक्कै गएको देखिन्न । हाम्रा विश्वविद्यालय विद्यार्थी भएनन् भनेर गुनासो गर्छन्, विद्यार्थी नहुँदा विभिन्न क्याम्पस र शैक्षिक कार्यक्रम बन्द गर्छन्, तर विद्यार्थीलाई आकर्षित गर्ने आकर्षक शैक्षिक कार्यक्रम ल्याउन भने सक्दैनन् । यिनले विद्यार्थीलाई काम गर्दै पढ । रोजगारी या कुनै पनि उद्यमलाई माया गर । अथाह सम्भावना देशमै छ भन्ने भावना जगाउन सक्दैन । अनि कसरी बढ्छ यहाँका विश्वविद्यालयमा विद्यार्थीको आकर्षण ? हाम्रा विश्वविद्यालयले देशलाई कस्तो जनशक्ति आवश्यक छ भन्ने कुनै अध्ययन नै गरेका छैनन् । उनीहरू जसोतसो गरेर भटाभट बेरोजगार जनशक्ति उत्पादन गरिरहेका छन् । उनीहरूबाट उत्पादित जनशक्तिले न कतै कुनै रोजगारी पाउँछ न त कुनै उद्यम नै गर्न सक्छ । अनि किन पढ्ने यहाँ, किन माया गर्ने देशको शिक्षालाई ?

सरकारले बनाउने नीति, नियम र कानुनमा खै युवाको सहभागिता ? युवाको सहभागिता नभए पनि तिनका समस्याबारे कसलाई चासो हुन्छ र तिनले सम्बोधन गर्ने उपाय खोजी गर्छन् ? वर्षौँ लगाएर अध्ययन पूरा गरिसकेपछि बेरोजगार बन्नुभन्दा त बरु सुरुमै खाडीतिर लम्किनु नै बेस ठान्ने युवालाई यतै रोक्ने, सम्भावना देखाउने र देशको समृद्धिमा तिनको पसिना खन्याउने नीति, योजना र कार्यक्रम खै त सरकारको ? देशको डाडुपन्यु हातमा लिएर बस्नेहरूले ठाउँ र अवसर दिन नसकेपछि बाध्यतावश दैनिक बाहिरिने युवाको टाउको गनेर यहाँ कोही पनि बस्न तयार नै छैन भनेर गफ किन दिनु ?

नेपाली युवालाई स्वदेशमै काम दिएर देशभित्रै उत्पादन बढाउने, निर्यात बढाउने र आयात घटाउने नीति तथा कार्यक्रम ल्याउनुको साटो हाम्रो नेतृत्व सीधै युवा मस्तिष्क निर्यात गरेर तिनको पसिनाको मूल्यमा भित्रिने रेमिटेन्स गनेर बसिरहेको छ । युवालाई बाहिर धपाएर रेमिटेन्सको भरमा देश चलाउँदा आफ्नो सत्तामाथि प्रश्न नउठ्ने या उठिहाले पनि दबाउन सजिलो हुने ठानेर हाम्रो देशको नेतृत्वले हामी युवालाई यहाँ बस्नयोग्य वातावरण बनाउनै चाहेको देखिन्न । यो नै आजको सबैभन्दा लाजमर्दो यथार्थ हो । एकातिर सरकार रेमिटेन्सको उकालिँदो ‘ग्राफ’ देखेर मक्ख परिरहेको छ भने अर्कातिर अध्ययनका लागि दैनिक बाहिरिने विद्यार्थीले खर्बौँ रकम जताबाट आएको थियो, उतै लगिरहेका छन् । यसरी पढ्न जाने विद्यार्थीबाट सरकारलाई छिट्टै रेमिटेन्स आउँदा पनि आउँदैन । तैपनि, तिनलाई सकेसम्म उतै लखेट्न सरकार किन उद्यत देखिँदो हो ?

वैदेशिक रोजगारका लागि बिदेसिने युवाले आफ्नो ज्यान नै दाउमा लगाइरहेका छन् । रोजगारीका लागि बिदेसिने युवामाथि देशभित्रै पाइलैपाइलामा शोषण भइरहेको छ । दलालदेखि सरकारी हाकिमसम्म तिनलाई यतै निचोर्नुसम्म निचोरिसकेका हुन्छन् । दलाल, म्यानपावर व्यवसायीदेखि उताका नेपाली दूतावाससम्मले तिनलाई विभिन्न शीर्षकमा लुट्छन् नै भन्दा पनि हुन्छ । अनि उता गइसकेपछि रोजगारदाता पनि तेल निस्कने गरी पेल्छन् । अनि कसरी युवाले देश सम्झेर काम गरून्, देशलाई माया गरून् । 

नेपाली युवा तथा विद्यार्थीले देश छाड्नुको मुख्य कारण भनेको राम्रो रोजगारी र आर्थिक स्थायित्वको खोजी नै हो । बलियो अर्थतन्त्र र थप रोजगारीका अवसर भएका देशमा जाँदा उनीहरूले स्थिर रोजगारी खोज्ने र उच्च आय–आर्जन गर्ने सम्भावना हुन्छ । राम्रो भविष्यको आकांक्षाले उनीहरूलाई विदेशी भूमिमा अवसर खोज्न प्रेरित गर्छ । स्वदेशभित्र काम नहुनु, भए पनि नातावाद, कृपावादले गर्दा आफ्नो क्षमता र योग्यताको कदर नहुनु, वृत्ति विकासका अवसर निकै कम हुनुजस्ता कारणले गर्दा पनि नेपाली विद्यार्थी र युवा विदेश पलायन भइरहेका छन् । धेरै युवा व्यावसायिक विकास, सीप वृद्धि र नयाँ अनुभवका लागि पनि विदेश जान्छन् । रोजगारीको सहज सम्भावना र विदेशका राम्रा शैक्षिक संस्थाका कारण पनि नेपाली विद्यार्थी विदेश गइरहेका छन् । तिनलाई यतै सम्भावना र अवसर देखाएर रोक्ने संयन्त्र नहुनु चिन्ताको विषय हो । 

आश्चर्यको विषय त के छ भने नेपाली विद्यार्थी नेपालको भन्दा कमजोर शिक्षा प्रणाली भएका कजाकिस्तान, उज्वेकिस्तान, माल्टा, कोस्टारिकाजस्ता देशमा अध्ययन भिसामा गइरहेका छन् । नेपालको भन्दा कम जिडिपी र प्रतिव्यक्ति आय भएको दक्षिणी सुडानमा समेत सन् २०२३ मा मात्र २८६८ नेपाली पुगेको तथ्यांक सरकारसितै छ । 

नेपाली विद्यार्थी नेपाल छाड्न किन हतारिन्छन् त ? यसका कारण अनेक हुन सक्छन् । सबैभन्दा पहिलो त माथि नै भनिसकिएजस्तो पढ्दै कमाउने वातावरण छैन । जागिर नै भेटिए पनि पढ्ने र काम गर्ने समय नमिल्ने विद्यार्थीको गुनासो छ । विदेशमा जस्तो पार्ट टाइम काम गर्दै पढ्ने वातावरण बनाउनेतर्फ यहाँ कसैले सोचेकोसम्म छैन । अनि, कसरी बसून् त विद्यार्थी देशलाई माया गरेर ? के देशको मायाले युवा विद्यार्थीको भविष्य सुरक्षित हुन्छ ?

नेपालमा श्रमलाई सम्मान गर्ने संस्कृति नहुनु अर्को समस्या हो । यहाँ पढेलेखेका युवाले गाउँमै कृषि गर्छु भन्दा ‘तिमीजस्तो पढेलेखेको मान्छेले नि खेती गरेर हुन्छ ? बरु विदेश जाऊ न भनेर अर्तिबुद्धि दिने धेरै भेटिन्छन् यहाँ । गाउँमै केही गर्छु भनेर फर्किनेलाई सहयोग गर्नुको साटो उल्टो हतोत्साहित गरिन्छ यहाँ । फेरि भाँडा नै माझे पनि विदेश जानेलाई सम्मानको नजरले हेर्ने हाम्रो समाजले यहीँ बसेर कृषि गर्छु या कुनै अन्य उद्यम गर्छु भनेर लागिपर्ने युवालाई चाहिँ हेयको नजरले हेर्छ । उस्तै परे तिनलाई कसैले छोरीसमेत दिँदैन । अनि, कसरी बसोस् त युवा देशमै ? 

हामीकहाँ हुनेखाने र हुँदा खानेले पढ्ने शिक्षामा ठूलो अन्तर छ । सहर–बजार र गाउँघरको शिक्षामा ठूलो खाडल छ । सुगम र दुर्गमको शिक्षामा ठूलै असमानता छ । अनि, कसरी आकर्षण बढोस् त यहाँको शिक्षामा हाम्रा युवा विद्यार्थीको ? न यहाँको पाठ्यक्रममा समयानुसार परिमार्जन नै हुन्छ न त आधुनिक प्रविधिमैत्री शिक्षा नीति नै छ । समयमै पठनपाठन पूरा नहुनु, समयमै परीक्षा नहुनु, समयमै नतिजा प्रकाशित नहुनु, नतिजा प्रकाशित भए पनि प्रमाणपत्र समयमै हात नपर्नु हाम्रो शिक्षाको दीर्घरोग नै बनिसक्यो । यहाँका विद्यालयमा समयमै पाठ्यपुस्तक पुग्दैनन् । पाठ्यपुस्तक पुगेका स्थानमा शिक्षक पुग्दैनन् । पुगे पनि राजनीति गर्दैमा तिनलाई विद्यार्थी पढाउने फुर्सद हुँदैन । अनि कसरी गर्ने हामीले यहाँको शिक्षा प्रणालीमाथि विश्वास ?

अबका दिनमा हाम्रो शिक्षाले विश्वव्यापी परिवर्तनलाई आत्मसात् गर्न सकेन, उद्यमशीलतासित जोड्न सकेन, शिक्षा रोजगारीलाई सँगसँगै हिँडाउन सकेन, नवप्रवर्तनतर्फ युवा विद्यार्थीलाई डोर्‍याउन सकेन भने कक्षा १२ पछि यहाँका कलेज या विश्वविद्यालयमा विद्यार्थी नभेटिन सक्छन् । र, यसको जिम्मेवारी शिक्षा क्षेत्रको नेतृत्व लिएर बसेका हर्ताकर्ता र राज्यका नेतृत्वकर्ताहरूले नै लिनुपर्नेछ । 

(घले कानुनका विद्यार्थी हुन्)

ad
ad